पार्टी एकता आजै टुंगो लगाउने तयारी

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच पार्टी एकता टुंगो लगाउने तयारी भएको छ । पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

पार्टी एकता आजै टुंगो लगाउने तयारी

बालुवाटारमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार नै एक्लाएक्लै बैठक भएको छ । दुई नेताबीच पार्टी एकताका अधिकांश विषयमा टुंगो लगाएको स्रोतको दाबी छ ।


बैठकलगत्तै दुवै नेताले आ–आफ्ना पार्टीका नेताहरुसँग छलफल गरेका छन् । दाहालले आफू निकट नेताहरुलाई गरेको ब्रिफिङअनुसार सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । एकजना नेता प्रधानमन्त्री हुँदा अर्का नेताले पार्टीको अध्यक्षता गर्नेछन् । तर, दुवैतर्फका कार्यकर्तालाई अपनत्व महसुस हुने गरी ‘द्वि–अध्यक्षात्मक’ प्रणालीमा पार्टी जानेछ ।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्नेमा करिव करिव सहमति भएको छ ।


दुई शीर्ष नेताहरुबीच एमालेको मार्गदर्शक सिद्धान्त (जनताको बहुदलीय जनवाद) लाई महाधिवेशनसम्म छलफलका लागि लैजाने सहमति भएको छ । यसअघि मानभवनमा भएको वार्तामा जबजलाई लिएर एमाले नेता माधवकुमार नेपालले कडा अडान लिएपछि टुंगोमा पुग्न सकेको थिएन ।


सोमबारको वार्तामा ओली र दाहालबाहेकका शीर्ष नेताको व्यवस्थापनको विषयमा छलफल भए पनि टुंगो नभएको स्रोतको दाबी छ । मानभवन बैठकमा एमाले नेता नेपालले ‘तपाईंहरु दुई जनाको मात्रै व्यवस्थापनले हुँदैन, अरु शीर्ष नेताहरुको पनि व्यवस्थापन हुनुपर्छ’ भनेर अडान लिएका थिए ।

प्रकाशित : फाल्गुन ७, २०७४ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?