कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति

न्यायपरिषदबाट पत्राचारका क्रममा सर्वोच्च अदालत पुगेको फाइलमा भेटिएको प्रमाणपत्रले प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म २००९ साल चैत १५ गते भएको देखाउँछ । जन्ममिति विवादमा तानिएका पराजुलीको यो पाँचौं जन्ममिति हो ।
कृष्ण ज्ञवाली

काठमाडौँ — जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ । चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरणअनुसार उनको जन्ममिति २००९ साल चैत १५ गते देखिन्छ ।

प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति

प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरकफरक जन्ममिति भेटिएपछि उत्पन्न विवाद अझै निरुपण हुन सकेको छैन ।


सर्वोच्च अदालत उच्च स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको ट्रान्सफर सर्टिफिकेटमा प्रधानन्यायाधीश पराजुलीको त्यतिबेलाको उमेर १८ वर्ष २ महिना १० दिन उल्लेख छ । प्रमाणपत्रमा भनिएको छ, ‘भर्ना हुने रजिस्ट्ररअनुसार उनको जन्ममिति यही हो ।’ उक्त प्रमाणपत्र २०२८ साल जेठ २५ गते जारी गरिएको त्यसमै उल्लेख छ । न्यायपरिषदबाट सर्वोच्च अदालतमा भएको पत्राचारमा समेत यो प्रमाणपत्रको फोटोकपी पठाइएको छ ।

प्रमाणपत्र जारी भएको मितिबाट त्यसैमा उल्लेख गरिएको उमेर घटाउँदा पराजुलीको जन्ममिति २००९ साल चैत १५ गते हुन आउँछ । प्रमाणपत्रमा उनको चरित्र राम्रो रहेको उल्लेख गर्दै सामान्य कारणले उनले विद्यालय छाडेको उल्लेख छ । प्रमाणपत्रमा उनले १० कक्षा पढिरहेको र एसएलसी उत्तीर्ण नगरेको समेत उल्लेख छ । ४४९ नम्बरको प्रमाणपत्रमा उल्लेख गरिएको उनको बाबुको नामसमेत नागरिकता प्रमाणपत्र र अन्य कागजातसँग मिल्छ ।


प्रधानन्यायाधीश पराजुलीको जन्ममिति उल्लेख भएको यो सबैभन्दा पुरानो प्रमाणपत्र हो । यही प्रमाणपत्रका आधारमा उनी आफैंले दावी गरेको ‘नेपाल राष्ट्रिय विद्यापीठ’ वीरगन्जमा भर्ना भएको हुनुपर्छ, किनभने स्थानान्तरण प्रमाणपत्रबिना अर्को विद्यालयमा भर्ना हुन पाइँदैन । त्यस क्रममा समेत उनको जन्ममिति २००९ साल चैत १५ गते उल्लेख हुनुपर्थ्यो ।


नेपाल राष्ट्रिय विद्यापीठमा अध्ययन गरेको आधारमा प्रधानन्यायाधीश पराजुलीले २०२९ सालमा प्रवेशिका पास गरेको शैक्षिक प्रमाणपत्रहरुबाट देखिन्छ । सोही विद्यापीठबाट जारी भएको प्रवेशिकाको लब्धांकपत्रका आधारमा शिक्षा मन्त्रालयले बनाइदिएको ‘जो जससँग सम्बन्धित छ’ भन्ने पत्रमा भने पराजुलीको जन्ममिति २०११ साल वैशाख १३ गते उल्लेख छ । यो प्रमाणपत्रमा ‘गोपाल पराजुलीले नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका पास गरेको प्रमाणित गरिन्छ’ भन्ने व्यहोरा छ । शाखा अधिकृत सिद्धि सिंहले सिम्बोल नम्बर ११७ का नाममा जारी गरेको पत्रमा भनिएको छ, ‘रजिष्ट्ररअनुसार उनको जन्ममिति २०११ साल बैशाख १३ गते हो ।’


यी दुईथरी जन्ममिति विवादको कारण भने खुल्न सकेको छैन । यसबारे प्रधानन्यायाधीश पराजुली र उनको निजी सचिवालयले समेत कुनै स्पष्टीकरण दिएको छैन । ‘उच्च नैतिक चरित्र’ को हुनुपर्ने प्रधानन्यायाधीशका प्रमाणपत्र, जन्ममितिजस्ता व्यक्तिगत विवरण विवादमा आउनु शोभनीय हुँदैन भनी तत्कालीन प्रधानन्यायाधीश एवं न्यायपरिषदकी अध्यक्ष सुशीला कार्कीले नै टिप्पणी लेखेकी छन् । २०७३ साल असोज १२ गतेको न्यायपरिषदको बैठकको प्रसंग केलाउँदै कार्कीले न्यायपरिषदको सचिवलाई अभिलेख व्यवस्थित गर्न आदेश दिएकी थिइन् ।


‘एउटै मानिसको जन्ममिति फरक(फरक सन्दर्भमा फरकफरक कायम हुन सक्दैन । माननीय न्यायाधीश गोपाल पराजुलीले पेश गर्नुभएको विभिन्न प्रमाणपत्रमा फरकफरक तीनवटा जन्ममिति उल्लेख हुन पुगेको देखियो,’ आदेशमा भनिएको छ, ‘कुनै पनि न्यायाधीशको उमेरसम्बन्धी विषय विवादमा आउनु वा शंकाको विषय बन्नु हुँदैन । न्यायपालिकाप्रतिको जनआस्था र विश्वास कायम राख्न तथा न्यायिक स्वच्छताका लागि लागि पनि यस प्रकारका विषयहरुको निरुपण तर्कपूर्ण रुपमा समयमा नै गरिनु आवश्यक देखिन्छ ।’


कार्कीले परिषदका तत्कालीन सचिवलाई अभिलेख मगाउन आदेश दिँदै नागरिकता लिएको मितिका आधारमा पराजुलीको जन्ममिति २००९ साल साउन २१ गते कायम गरिदिएकी थिइन् जुन पछि उल्टियो ।

स्रोतका अनुसार हालसम्म पनि प्रधानन्यायाधीश पराजुलीको प्रवेशिका उत्तीर्ण चारीत्रिक प्रमाणपत्र न्यायपरिषदमा भेटिएको छैन । न्यायपरिषदले सर्वोच्चमा पठाएको प्रमाणपत्रहरुको सूचीमा प्रवेशिका परीक्षा उत्तीर्ण हुँदाको चारीत्रिक प्रमाणपत्र छैन ।

शिक्षा मन्त्रालयले ‘जो जससँग सम्बन्धित छ’ शीर्षकमा पत्र लेखेर पराजुलीले एसएलसी परीक्षा उत्तीर्ण गरेको बेहोरा प्रमाणित गरिदिएको पत्रमा उनको जन्ममिति २०११ साल वैशाख १३ उल्लेख छ । उनले आईएल र बीएल उत्तीर्ण गरेका शैक्षिक प्रमाणपत्रहरुमा भने यो मिति उल्लेख छैन । पछिल्लो जन्ममितिअनुसार भर्ना भएको भए प्रधानन्यायाधीश पराजुली थप करिब एक वर्ष पदमा रहन पाउँथे । तर, क्याम्पस भर्ना हुँदा उनले कुन आधारमा आफ्नो जन्ममिति २०१० साल वैशाख १६ कायम गरे, खुल्न सकेको छैन ।


प्रमाणपत्रैपिच्छे फरक विवरण

प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र त्यससग सम्बन्धित पत्राचारका कागजातमा ३ थरी जन्ममिति भेटिएका छन् । उनको स्थानान्तरण, प्रवेशिका र त्यसपछिको क्याम्पस तहको शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरकफरक उल्लेख गरिएको छ । नागरिकता प्रमाणपत्रमा दुई थरी स्पष्टै भेटिएको छ भने त्यसैका आधारमा बनेको सञ्चयकोषको परिचयपत्र हेर्दा जन्ममिति नै ३ पटक संशोधन गरिएको देखिन्छ । न्यायपरिषदकै अभिलेखमा समेत उनको ३ वटा जन्ममिति भेट्न सकिन्छ ।


शैक्षिक, न्यायिक सेवा र त्यससँग जोडिएका जन्ममितिका अभिलेख एकापसमा सम्बन्धित छन् तर एउटासँग अर्कोको विवरण मेल खाँदैन । उनले सुरुमा लिएको शैक्षिक प्रमाणपत्रका आधारमा पहिलो नागरिकता बनेको देखिन्छ । ट्रान्सफर सर्टिफिकेटमा उनको जन्ममिति २००९ साल चैत १५ गते कायम हुन आउँछ भने त्यसपछि उनले २०३० सालमा लिएको नागरिकतामा उमेर २१ वर्ष उल्लेख छ ।

तर उनले २०२९ सालमा प्रवेशिका पास गरेपछि शिक्षा मन्त्रालयले जारी गरेको प्रमाणपत्रमा २०११ साल बैशाख १३ गते उल्लेख भएकाले त्यो विवरण अनुसार नागरिकता किन बनाएनन् भन्ने प्रश्न उठ्छ । किनकि, पछिल्लो उमेरअनुसार नागरिकता लिएको भए उनलाई पदमा रहन २ वर्ष फाइदा पुग्ने थियो ।


कर्मचारी सञ्चयकोषमा पराजुलीको जन्ममितिको अभिलेख २०१० साल वैशाख १३ उल्लेख छ । त्रुटिवश २०४९ साल लेखिए पनि २०५९ सालमा जारी सञ्चयकोष प्रमाणपत्रमा काठमाडौंबाट नागरिकता लिएको विवरणसमेत खुलेको छ । उक्त विवरण न्यायपरिषदका कतिपय बुलेटिनमा रहेको जन्ममितिसँग हुबहु मिल्छ ।


उच्च शिक्षा अध्ययनका क्रममा कायम भएको २०१० साल वैशाख १६ गतेको जन्ममिति न्यायसेवा प्रवेशका क्रममा कायम रहेको देखिदैन । प्रधानन्यायाधीश पराजुलीको सिटरोलमा सुरुमा २०१० साल वैशाख १३ उल्लेख थियो । पछि २००९ साउन २१ कायम भयो । आफू प्रधानन्यायाधिश भएपछिको न्यायपरिषदको पहिलो बैठकमा उनले जन्ममिति २०१० साल बैशाख १६ कायम गरे ।


नीच ढंगले भ्रम छरियो : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश गोपाल पराजुलीले अरुका बारे भ्रामक सूचना सम्प्रेषण हुन थालेको भन्दै ‘राज्यलाई घच्घच्याउने संस्थालाई आफ्नो विशेषता नगुमाउन’ आग्रह गरेका छन् । पछिल्लो समय आफूबारे प्रकाशित जन्ममिति विवादका समाचारबारे टिप्पणी गर्दै उनले व्यक्तिलाई लागेको विचार तथा अभिव्यक्ति राख्न पाउने स्वतन्त्रता भए पनि ती सत्यता र शिष्टतामा आधारित हुनुपर्ने सुझाएका छन् ।


आफ्नो कार्यकालमा सर्वोच्च अदालतमा निकै सुधारका काम भइरहेको उल्लेख गर्दै उनले न्यायालयमा भएका राम्रा र सुधारका कामको अनुहार हेर्नै नसक्ने व्यक्तिहरु नीच ढंगले प्रस्तुत भएर भ्रमको खेती गरिरहेको आरोपसमेत लगाए । उनले भने, ‘समाजमा आफूलाई अहं र ठूलो ठान्नेहरु नै असभ्यताको खेती गरिरहेका छन् ।’ बालसुधार गृह, सानोठिमीले आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले न्यायालय र सञ्चार माध्यमहरुले एकअर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने धारणा राखे ।

प्रकाशित : फाल्गुन ७, २०७४ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?