कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘सकारात्मक समाचार छाप्न पाइयोस्’

कान्तिपुरको रजत वार्षिकोत्सव
कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राजनीतिक संक्रमण सकिएकाले सकारात्मक समाचार छाप्न पाउने गरी देश विकासपथमा अघि बढ्ने अपेक्षा राखेका छन् । 

‘सकारात्मक समाचार छाप्न पाइयोस्’

‘तीनवटै तहका निर्वाचन भइसकेका छन् । केन्द्र र प्रदेशमा सरकारहरू बनेका छन् । अब संक्रमणकाल भनेर ढिलासुस्ती गर्ने छुट कसैलाई छैन । नयाँ सरकारले विकास र समृद्धिको यात्रालाई तीव्रतासाथ अगाडि बढाउनुपर्छ,’ कान्तिपुर पब्लिकेसन्सको २५ औं वार्षिकोत्सवका अवसरमा थापाथलीस्थित मुख्यालयमा सोमबार आयोजित विशेष समारोहमा सिरोहियाले भने, ‘हामीले पनि राजनीतिक खिचातानीको होइन, विकास निर्माणका समाचार लेख्न पाइयोस् । गुट–उपगुट होइन, राष्ट्र अगाडि बढेको सकारात्मक समाचार छाप्न पाइयोस् । राजनीतिज्ञहरूलाई यसैतर्फ उत्प्रेरित गराउनेमा हाम्रो जोड हुनुपर्छ ।’

समारोहमा सहभागी पब्लिकेसन्सका निर्देशक स्वस्तिका सिरोहिया, प्रमुख कार्यकारी अधिकृत सम्भव सिरोहिया, विभिन्न प्रकाशनका प्रधान सम्पादक, सम्पादक, नायब महाप्रबन्धकलगायत सहकर्मी।

निजी क्षेत्रको ब्रोडसिट मिडियाले पहिलो पटक रजत वार्षिकोत्सव मनाउन पाउनु नेपाली सन्दर्भमा नयाँ रेकर्ड रहेको उनले उल्लेख गरे । यो २५ वर्षमा कान्तिपुरमाथि विभिन्न देखिने/नदेखिने प्रहार भए पनि एकजुट भई सामना गरेको र कहिल्यै विचलित नभएको उनको भनाइ थियो । ‘२०४६ सालपछिको खुलापनले हामीलाई ब्रोडसिट पत्रिका सुरु गर्ने वातावरण बनाइदिएको थियो । तर हामी आफ्ना खुट्टामा उभिन लाग्दा माओवादी आन्दोलन सुरु भयो । देश हिंसा र प्रतिहिंसामा जेलियो । त्यस्तो अवस्थामा पनि हाम्रा साथीहरूले ज्यानको पर्वाह नगरी देशका कुना–काप्चाबाट फिल्ड रिपोर्टिङ गरिरहनुभयो,’ उनले भने, ‘यता हामीलाई राजद्रोह लगाउने प्रयाससमेत भयो । संकटकाल र सेना परिचालन भएपछि त काम गर्न अरू अप्ठ्यारो भयो । राजाको शासन सुरु भएपछि हाम्रो अफिस नै सेनाको घेराउमा पर्‍यो । तर सेनाको सेन्सरसिपमा बस्दासमेत हामीले बुद्धिमतापूर्ण ढंगले पत्रिका निकाल्यौं । सांकेतिक रूपले सम्पादकीय र समाचारहरू लेख्यौं ।’

२०४९ फागुन ७ गते थोरै जनशक्ति र सानो कार्यालयबाट सुरु भएको कान्तिपुरको छातामुनि अहिले झन्डै दुई हजार सहकर्मी छन् । सुरुमा कान्तिपुर र दी काठमान्डु पोस्ट दैनिक रहेकामा हालसम्म आइपुग्दा रेडियो, टेलिभिजन, साप्ताहिक, नेपाल, नारी, डिजिटल विङलगायत थपिएका छन् । ‘मलाई लाग्छ, यहाँसम्म आइपुग्दा अब कान्तिपुर कुनै निजी कम्पनी मात्र रहेन । यो राष्ट्रिय संस्थासरह बनिसकेको छ । जनताको साझा सम्पत्ति भएको छ । हामीलाई यो गहिरो जिम्मेवारीबोध छ,’ उनले भने । अध्यक्ष सिरोहियाले यस पटकदेखि चार क्षेत्रमा उल्लेखनीय योगदान दिनेलाई ‘कान्तिपुर आइकन’ प्रदान गर्ने र निर्णायक मण्डलले विजेता चयन गरिरहेको जानकारी दिए । आउँदो वैशाखमा अन्तर्राष्ट्रिय सहभागितासहितको ‘कान्तिपुर कन्क्लेभ’ आयोजना गर्ने र सामाजिक उत्तरदायित्वका अन्य कार्य निरन्तर गरिरहने बताए ।

समारोहमा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले संघीयताको भावनाअनुरूप कान्तिपुरले सातवटै प्रदेशका राजधानीबाट छुट्टाछुट्टै संस्करण निकाल्न थालेको उल्लेख गर्दै सूचनाको पहुँच तल्लो वर्गसम्म पुर्‍याउन सक्दो पहल गरिने बताए । दी काठमान्डु पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले लोकतन्त्रप्रति प्रतिबद्धता र सम्पादकीय स्वतन्त्रताका कारण कान्तिपुरको सफल यात्रा सम्भव भएको उल्लेख गरे । साप्ताहिक र नारीका प्रधान सम्पादक सुवास ढकाल र नेपाल साप्ताहिकका प्रधान सम्पादक प्रशान्त अर्यालले पनि कान्तिपुरको अविच्छिन्न यात्रा लोकतन्त्रको पहरेदारी भएको धारणा राखे । नायब महाप्रबन्धकद्वय सुनील वशिष्ठ र महेश स्वाँरले व्यावसायिक वातावरण कान्तिपुरको सुन्दर पक्ष रहेको बताए ।

कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका प्रकाशन र रेडियो कान्तिपुरमा उत्कृष्ट कार्यसम्पादन गर्ने पत्रकार तथा कर्मचारीहरूलाई पुरस्कृतसमेत गरिएको थियो । कान्तिपुरबाट वरिष्ठ संवाददाता दुर्गा खनाल र झापा संवाददाता पर्वत पोर्तेल उत्कृष्ट पत्रकारिता पुरस्कारसहित सम्मानित भए । सर्वोत्कृष्ट कार्यसम्पादनको पुरस्कार पाउने अन्यमा दी काठमान्डु पोस्टका लेखनाथ पन्त, नेपाल साप्ताहिकका राजकुमार बानियाँ, साप्ताहिकका जनक तिमिल्सेना, वितरणका हरेराम रायमाझी र धीरेन्द्रकुमार शाह, डिजाइनिङका सञ्जिप बुढाथोकी, प्रेसका राकेश सिंह, ब्रान्डिङकी सिम्रन श्रेष्ठ, मार्केटिङका विनोद भट्ट र अर्थका नरेश पन्जियार छन् । रेडियो कान्तिपुरका कमला गुरुङ, उद्धवकुमार श्रेष्ठ, इस्मिता राना, नवराज भण्डारी, सुशान्त ढुंगेल र सविता थापा पुरस्कृत भए ।

त्यस्तै, प्रेस इन्स्टिच्युटबाट सञ्चालित २०७३/७४ को आधारभूत पत्रकारिता तालिमका उत्कृट विद्यार्थी विवेकराज शर्मा, २०७३/७४ को कक्षा १२ को पत्रकारिता विषयमा सर्वाधिक अंक प्राप्त गरी उत्तीर्ण हुने शीतल संग्रौला र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्नातक तहको मानविकी तथा सामाजिक शास्त्रतर्फको पत्रकारिता विषयमा सर्वाधिक अंक ल्याई उत्तीर्ण हुने अञ्जना शर्मालाई कान्तिपुर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । विज्ञापन एजेन्सीतर्फ म्याक्स मिडियाले पहिलो, थम्सन मिडियाले दोस्रो र मिडिया बास्केटले तेस्रो पुरस्कार पाए ।

सर्वोत्कृष्ट सेवा प्रदान गरेबापत पत्रिकाका डिलर एजेन्सीमध्ये झापा बिर्तामोडको जीविका इन्टरप्राइजेजका घनश्याम खनाल, ललितपुरको अनु बुक्सका रघुनाथ महर्जन र धादिङको त्रिपुरा फेन्सी एन्ड स्टेसनरीका नारायणकुमार श्रेष्ठले क्रमश: पहिलो, दोस्रो र तेस्रो पुरस्कार पाए । कार्यक्रममा २५ वर्षदेखि अविच्छिन्न रूपमा कान्तिपुरमा काम गरिरहेका २६ जना सम्मानित भए ।

कान्तिपुर मिडिया ग्रुपको विभिन्न विभाग तथा शाखामा रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई विशेष प्रोत्साहन पुरस्कार पनि प्रदान गरियो । प्रोत्साहन पुरस्कार पाउनेमा सम्पादकीय विभागमा आबद्ध फोटो पत्रकार अंगद ढकाल, कान्तिपुरका कालिकोट संवाददाता तुलाराम पाण्डे, बझाङ संवाददाता वसन्तप्रताप सिंह, लमजुङ संवाददाता आश गुरुङ र बारा संवाददाता लक्ष्मी साह छन् । यस्तै, अन्य विभिन्न विभागका अपूर्वा भट्टराई, सुनील बस्नेत, देवीबहादुर खड्का, मनोज कर्माचार्य, भीम पाण्डे, विश्वराज अधिकारी, खेम चौधरी, डिलबहादुर बडुवाल, ध्रुवकुमार विष्ट, आईसिंह तामाङ, रामप्रीत महतो, चिरञ्जीवी पुडासैनी, भुवन कँडेल, मुकुन्द खड्का, हरिप्रसाद भट्ट, टीका बराल, रवीन्द्र थापा, कृष्णप्रसाद भण्डारी, सुदर्शन घिमिरे, मनिराम महर्जन, लक्ष्मीप्रसाद सुवाल, टेकबहादुर श्रेष्ठ, यज्ञप्रसाद डोटेल, नुरप्रसाद तिवारी र सञ्जयध्वज जोशी छन् । वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद र हाजिरीजवाफ प्रतियोगिताका विजेतालाई पनि पदक र नगद पुरस्कार वितरण गरियो ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?