२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

राष्ट्रिय सभामा तीन जनाको नाम सिफारिस

देउवा सरकारको सिफारिस फिर्ता

काठमाडौँ — सरकारले राष्ट्रिय सभामा तीन जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बिहान बसेको बैठकले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेको सिफारिस फिर्ता लिंदै नयाँ नाम सिफारिस गरेको हो ।

राष्ट्रिय सभामा तीन जनाको नाम सिफारिस

सरकारले युवराज खतिवडा, विमला पौडेल राई र रामनारायण बिडारीलाई सिफारिस गरेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जानकारी दिइन् ।


खतिवडा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं राष्ट्र बैंकका पूर्वगर्भनर हुन् भने भोजपुर निवासी पौडेल राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयमा छन् । उनी केपी ओली नेतृत्वको अघिल्लो सरकारमा राष्ट्रिय योजना आयोगमा सदस्य थिइन् । बिडारी वरिष्ठ अधिवक्ता एवं पूर्वसांसद हुन् । खतिवडा र पौडेल एमाले तथा बिडारी माओवादी कोटाबाट सिफारिस भएका हुन् ।


देउवा सरकारले दुई साताअघि कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो । तर, राष्ट्रपतिले तीनवटै सिफारिस ‘होल्ड’ गरेकी थिइन् ।


५९ सदस्यीय राष्ट्रिय सभामा ७ प्रदेशबाट ८–८ जना निर्वाचित भइसकेका छन् । तीन जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले निर्वाचितको सूची राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ । थप तीनको नियुक्तिसँगै राष्ट्रिय सभाले पूर्णता पाउनेछ ।


प्रकाशित : फाल्गुन ८, २०७४ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?