कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिले संविधान उल्लघंन गरेको कांग्रेसको आरोप

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले राष्ट्रिय सभामा सरकारले गर्ने तीन सदस्य मनोनयनको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर विरोध जनाएको छ ।

राष्ट्रपतिले संविधान उल्लघंन गरेको कांग्रेसको आरोप

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई साताअघि गरेको निर्णय कार्यान्वयन नगरेर केपी ओली नेतृत्वको सरकारको निर्णयलाई तत्काल कार्यन्वयन गरेपछि कांग्रेसले राष्ट्रपतिको भूमिका माथि प्रश्न उठाएको हो । संविधानको संरक्षक गर्ने निकायबाटै संविधान उल्लंघन भएको ठहर गर्दै कांग्रेसले राष्ट्रपतिबाट राजनीतिक आस्थाका आधारमा काम भएको बताएको छ ।


राष्ट्रपति भण्डारीले केपी ओली नेतृत्वको सरकारले मंगलबार बिहान गरेको सिफारिसअनुसार राष्ट्रिय सभामा तीन सदस्य मनोनित गरेकी थिइन् । तर, देउवा सरकारले दुई साताअघि नै गरेको निर्णय भने उनले ‘होल्ड’मा राख्दै आएकी थिइन् ।


ओली सरकारले पूर्वगर्भनर युवराज खतिवडा, पूर्वसांसद रामनारायण विडारी र योजना आयोगका पूर्वसदस्य विमला पौड्याललाई राष्ट्रिय सभा सदस्य मनोनितको सिफारिस गरेको थियो ।


संविधानअनुसार सरकारले तीन जना मनोनित गर्न पाउने व्यवस्था छ । हरेक प्रदेशबाट ८/८ जना निर्वाचित भइसके पनि देउवा सरकारको निर्णयलाई अड्काउँदा तीन जना मनोनित हुन सकेको थिएन ।


‘एउटै सरकारले गर्ने निर्णयलाई भिन्न–भिन्न चश्माले हेर्न हुन्न’ कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संविधानको धारा ८६ को २ (क) अनुसारको राष्ट्रिय सभाको निर्वाचन मान्ने तर त्यही धाराको २ (ख) अनुसारको सिफारिस किन नमान्ने ? राष्ट्रपतिबाट संविधानको गम्भीर त्रुटि भएको छ । यसको विरोधमा हामी सशक्त आवाज उठाउँछौं ।’


राष्ट्रपतिको असंवैधानिक कदमबिरुद्ध संसद र सडकमा सशक्त आवाज उठाउने उनले बताए । प्रवक्ता शर्माले राष्ट्रपति राजनीतिक आस्थाका आधारमा चलेको आरोप समेत लगाए ।


प्रकाशित : फाल्गुन ८, २०७४ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?