‘सिरियल किलर’ हुसेन कतारमा पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — नेपालमा शृंखलाबद्ध हत्या गरी फरार अभियुक्त कतारमा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरिएका ‘सिरियल किलर’ सकिल हुसेनलाई कतार प्रहरीले पक्राउ गरेको हो ।

 ‘सिरियल किलर’ हुसेन कतारमा पक्राउ

हुसेनले २०६४ देखि ०७० बीच मात्रै सुनसरी र सप्तरीमा ८ जनाको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । हत्याका अरू थुपै्र घटनामा समेत उनको संलग्नता रहेको प्रहरीको दाबी छ । टिकुलिया–७ सप्तरी घर भएका सकिल ४ वर्षअघि कतार पुगेका थिए ।


२०६४–७० बीच सुनसरी र सप्तरीमा मात्रै ८ जनाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो

नेपाल प्रहरीले ०७२ असार ४ मा पत्राचार गरेपछि इन्टरपोलले असार ६ मा सकिलको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो । सकिलले ०७० मंसिर ४ मा सप्तरी जन्डौलकी दुलारीदेवी साह र ०६९ असोजमा सप्तरीकै सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको पनि हत्या गरेका थिए । ०७० चैत २ मा सप्तरीकै त्रिकोलकी निर्मलादेवी साहको हत्यामा पनि सकिलको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।


हुसेनले ठगी र व्यक्ति हत्याजस्ता संगठित अपराध गर्दै आएका थिए । जेलमा रहेका आफन्त वा परिवारजनका सदस्य छुटाउने भन्दै मोटो रकम असुल्ने र परिवारकै सदस्यको हत्या गरी बेपत्ता हुने हुसेनको अपराध शैली थियो । निकट सहयोगी धमाधम पक्राउ परेपछि उनी कतार हिँडेका थिए ।


०६४ वैशाख २६ मा हुसेन सप्तरी मल्हनियाका आरुल मियाँको हत्या अभियोगमा ०६८ मंसिरमा पक्राउ परेका थिए । राजविराज कारागारमा राखिएका उनी २६ माघ ०६८ मा पुनरावेदन अदालत राजविराजको आदेशले थुनामुक्त भएका थिए । त्यसपछि उनी उस्तै प्रकृतिका रकम असुली र व्यक्तिहत्याको बाटोमा हिँडिरहे । बारम्बार जेल पर्दै राजनीतिक पहुँचको भरमा छुटदै फेरि अपराधकर्ममा संलग्न हुँदै हिँडेको हुसेनको इतिहास छ ।


०७० पुसमा सुनसरी, इनरुवा ७ का एकै परिवारका इद्रिस नट मियाँ, जैतुन खातुन र सेरुन खातुनको हत्या पनि हुसेनले नै गरेको प्रहरीको निष्कर्ष छ ।


उच्च प्रहरी स्रोतका अनुसार कतार प्रहरीले सकिलको पक्राउबारे प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई जानकारी गराइसकेको छ । उनलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?