इन्जिन ‘फेल’ हुँदा सीताको विमान आकस्मिक अवतरण

सुरज कुँवर

काठमाडौँ — लुक्लाका लागि उडेको सीता एयरको डोर्नियर विमानको एउटा इन्जिन ‘फेल’ हुँदा मंगलबार काठमाडौंमा आकस्मिक अवतरण गर्नुपर्‍यो । १२ जना यात्रु राखेर बिहान पौने ११ बजे काठमाडौंबाट लुक्लाका लागि उडेको उक्त विमानमा उडेको २० मिनेटमा दाँया इन्जिनमा समस्या देखिएको थियो । 

इन्जिन ‘फेल’ हुँदा सीताको विमान आकस्मिक अवतरण

सीताका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यका अनुसार, क्याप्टेन रोविन गौचनले कमाण्ड गरेको विमान फाप्लु नजिकको आकाशमा पुग्दा दायाँ इन्जिनमा समस्या देखा परेको थियो ।


‘दायाँ इन्जिनको प्रेसर, इन्जिनको आरपीएम (रिभोलुसन्स पर मिनेट) हुनुपर्ने बेन्चमार्क भन्दा ड्रप भएको नेभिगेटरबाट देखिएपछि, पाइलटले दायाँ इन्जिन सट डाउन गरेर एउटै इन्जिनको भरमा काठमाडौं फर्किए,’ वरिष्ठ महाप्रबन्धक आचार्यले कान्तिपुरसँग भने । यस्तो अवस्थामा पाइलटले आफूले उडाइरहेको विमान संकटकालीन अवस्थामा रहेको जनाउँदै अवतरण गर्न लागेको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरलाई इमरजेन्सी घोषणा गरी प्राथमिकता दिलाउन अनुरोध गर्नुपर्छ ।

यस विमानका कमाण्डर क्याप्टेन गौचनले पनि इमरजेन्सी घोषणा गरेपछि त्रिभुवन विमानस्थलले प्राथमिकता दिएको थियो ।


‘बिहान मौसमका कारण जहाजहरु होल्डमै थिए,’ त्रिुभवन विमानस्थलको फलाइट अपरेशन डिर्पाटमेन्टका एक अधिकारीले भने, ‘सीताको डोर्नियरले इमरजेन्सी घोषणा गरेकाले यस्लाई प्राथमिकता दियौं । पाइलटले एउटा इन्जिनमा कुशलापूर्वक अवतरण गराए । अप्रिय घटना भएन ।’ मंगलबार इन्जिनमा समस्या देखिएको विमानमा अमेरिकी कम्पनी हनिवेलको इन्जिन थियो । उक्त इन्जिनलाई मर्मतका लागि डेनमार्क पठाउने कम्पनीले जनाएको छ । डोर्नियर विमानमात्रै रहेको यस एयरलाइन्सले लुक्ला, फाप्लु, हुम्ला, डोल्पा, कोल्टीलगायत दुर्गम रुटमा उडान गर्छ । यससँग चारवटा डोर्नियर विमान छन् ।

प्रकाशित : फाल्गुन ८, २०७४ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?