कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी मारिए गुण्डा नाईके मनोज पुन र सहयोगी सोम आले

घनश्याम गौतम

बुटवल — तीन दिनअघि नै गुण्डा नाईके मनोज पुन भारतको गोवामा पक्राउ परेको खबर रुपन्देहीमा सनसनी थियो । प्रहरीले आधिकारिक जानकारी दिएन । धेरैतिर चासो बढ्यो । तर आधिकारिक जानकारी कतैबाट आएन । 

यसरी मारिए गुण्डा नाईके मनोज पुन र सहयोगी सोम आले

चन्दा असुलीका लागि नियमित फोन गर्ने पुनको झण्डै एक सातादेखि रुपन्देहीमा फोन आएको थिएन । तर बुधबार बिहानै मनोज पुन प्रहरी मुठभेडमा मारिएको खबर भाइरल बन्यो । ‘पछिल्लो पटक शिवरात्रीको दिन फोन गरेर ४० लाख मागेको थियो,’ मारिएको खबरसँगै मनोज पुनलाई हेर्न अञ्चल अस्पताल पुगेका बुटवलको अमरपथका एक व्यवसायीले भने, ‘अब बल्ल नचिनेको फोन आउँदा झस्किन नपर्ने भयो ।’ उनी ढुक्क देखिए । उनलाई झण्डै ३ महिनादेखि फोन आइरहेको थियो । बिचमा २ महिना अमेरिका गएर बसे । फर्केको जानकारी पाएपछि शिवरात्रीको दिन फोन गरेर ५० बाट ४० लाखमा झरेको उनले बताए ।


रुपन्देहीमा भएका दुई ठूला हत्याको जिम्मेवारी र काठमाडौंका निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्ना देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान प्रहरीले खोजी जारी गरेको थियो । रुपन्देहीको देवदह नगरपालिका-५ का २९ वर्षीय मनोज पुन रुपन्देहीमै रहेको र अर्को विभत्स हत्याको योजना गराउँदै गरेको जानकारी पाएपछि देवदह र त्यस आसपासमा प्रहरी परिचालन गरिएको थियो ।


खोज्दै जाने क्रममा बुधबार बिहानै जम्काभेट भएको प्रहरी उपरीक्षक श्याम ज्ञवाली बताउँछन् । ‘हाम्रो टोली खोज्दै गइरहेको थियो, उनीहरु दुवै जना एउटै बाइकमा आउँदै रहेछन्,’ उनले भने, ‘प्रहरीलाई फाइरिङ गरेपछि जवाफी कारवाहीमा उनीहरु दुवै घाइते भएका हुन् ।’ उपचारका लागि अञ्चल अस्पताल बुटवल ल्याउँदै गर्दा दुवैको मृत्यु भएको उनले बताए ।


पुनलाई छातीको तल, माथि र पेटमा मात्र ८ गोली लागेको छ । हात, खुट्टा, पछाडि गरी १२ गोली लागेको छ । अधिकांश गोली नजिकैबाट प्रहार भएका छन् । त्यस्तै उनीसँगै मारिएका आलेलाई छातीमा मात्र ५ गोली लागेको छ । ढाड, कोख र खुट्टामा गरी १० गोली प्रहार भएको छ । दुवै जना देवदह नगरपालिका-४ भवानीपुरमा मारिएका हुन् । ‘उनी मनोज पुनका नजिकका सहयोगी र सार्प सुटर हुन्,’ एसपी ज्ञवालीले भने । प्रहरीका अनुसार साढे ३ बजेको समयमा गोली चलेको थियो । अञ्चल अस्पतालले साढे ५ बजे मात्र मृत्यु घोषणा गरेको थियो ।


पुनले आर्थिक लेनदेन र राजनीतिक प्रतिशोधकै कारण २०७३ पुषमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको देवदहमै हत्या गरिएको थियो । त्यसपछि पुन अपराधमा चर्चामा आए । त्यसको ठिक १ वर्षपछि २०७४ पुषमै देवदहमै आफ्नै साथी बसन्त पौडेल ‘बलु’ माथि गोली प्रहार गरी हत्या गरियो । दुवै हत्यामा उनले फोनबाटै जिम्मेवारी लिए । तिवारी र पौडेल युथ फोर्समा हुँदा पुनका नजिकका साथी हुन् । मनोजले भारतमै बसेर रुपन्देहीका आफ्नो राजनीतिक यात्रामा अवरोध गर्ने र चन्दा नदिने व्यवसायी र साथीलाई फोनबाटै धम्की दिने र हुण्डी मार्फत रकम असुली गर्दै आएका थिए ।


को हुन मनोज पुन ?

रुपन्देहीको देवदह नगरपालिका ५ निवासी मनोज पुनको वास्तविक नाम मनोज बुढा मगर हो । पूर्व-पश्चिम राजमार्गको देवदह चोकबाट ४ सय मिटरको दुरीमा उनको एक तले घर छ । सामान्य आर्थिक अवस्था भएका पुनले स्थानीय केरवानी माविमा एसएलसीसम्म मात्र पढेका हुन् । पढाईमा राम्रै रहेका उनी एसएलसी लगत्तै माओवादीको वाइसिएलमा लागे ।


वाइसिएलमा ढुंगा, गिटी बालुवाको ठेक्कापट्टामा राम्रो आम्दानी नदेखेपछि अरु ठुला ठेक्कापट्टा र गुण्डागर्दीको उद्देश्य सहित एमालेको युथ फोर्समा प्रवेश गरेर क्षेत्रीय कोषाध्यक्ष बने ।


आपराधिक र गुण्डागर्दी व्यवहार बढी भएपछि उनी युथफोर्सबाट कारवाहीमा परे । त्यसले स्थानीय युवासँग द्वन्द्व बढ्यो । द्वन्द्वमा उनी कमजोर बने । युवा समूहमा उनको बाहुल्यता हुन नसकेपछि स्थानीय भित्रै उनी विद्रोही र आपराधिक मानसिकतामा लागे । ठेक्कापट्टामा लागेको झण्डै ११ वर्षमा उनले आफ्नो राम्रै हैसियत बनाए । तर घर परिवारमा त्यो देखाएका छैनन् ।


उनका बाबु भारतीय पूर्व सैनिक हुन् । एक दाजु, दुई दिदी बहिनी, श्रीमती र ४ वर्षीय छोरी छन् । श्रीमतीले स्थानीय मनि ट्रान्सफर पसलमा काम गर्दै आएकी थिइन् । तर त्यो पनि केही महिना अघि छोडेकी हुन् । घर र माईती नजिकै भएपनि श्रीमती छोरी र ससुरासँगै घरमै छन् । स्थानीय पदम ढुंगानाले उनले आफ्नै साथीभाईलाई बढी धम्की र दु:ख दिने गरेको बताए । ‘बाहिरको थाहा भएन,’ उनले भने, ‘देवदहमा हामी बढी मनोजको टार्गेटमै थियौं ।’


अर्का छिमेकी दिपक ज्ञवालीका अनुसार लामो समयदेखि चन्दा असुली र हत्यामा संलग्न देखिए पनि उनको देवदहमा देखिने गरी आर्थिक परिवर्तन छैन ।

प्रकाशित : फाल्गुन ९, २०७४ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?