२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सिरियल किलर हुसेन, यसरी गरे ८ जनाको हत्या

जनकराज सापकोटा

काठमाडौँ — एउटा व्यक्तिले कति जनाको हत्या गर्न सक्ला? एक जना, दुईजना, तीनजना वा त्यो भन्दा धेरै । सामान्यतः एक जनाको हत्या गर्ने वित्तिकै अपराधीलाई प्रहरीले पक्राउ गर्छ । उ विरुद्ध मुद्धा दर्ता गर्छ र अदालतले निश्चित कैद सजाय सुनाएपछि जेल पठाउँछ । 

सिरियल किलर हुसेन, यसरी गरे ८ जनाको हत्या

तर सप्तरीका सकिन हुसेनले पटकपटक गरेर ८ जनाको हत्या गरेका छन् । उनी हत्यापछि पक्राउ परे । फेरि पुनरावेदन अदालतले आदेश दिएपछि थुनामुक्त भए । थुनामुक्तपछि झन् हुसेन अपराध उद्धत भए ।

२०६४ देखि २०७० को बिचमा मात्रै सकिलले सुनसरी र सप्तरीमा आठ जनाको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । हत्याका अन्य कैयन घटनामा समेत सकिलको संग्लनता रहेको प्रहरीको दाबी छ । तत्कालीन गाविस टिकुलिया-७ सप्तरी घर भएका सकिल चार वर्षअघि कतार पुगेका थिए ।


अन्ततः अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)मार्फत रेड कर्नर नोटिस जारी भएका सिरियल किलर सकिल कतारमा पक्राउ परे ।


नेपाल प्रहरीले २०७२ असार ४ मा पत्राचार गरेपछि इन्टरपोलले असार ६ मा सकिलको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो । सकिलले २०७० मंसिर ४ मा सप्तरी जन्डौलकी दुलारीदेवी शाहको र २०६९ असोजमा सप्तरीकै सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको पनि हत्या गरेका थिए । २०७० चैत २ गते सप्तरीकै त्रिकोलकी निर्मलादेवी शाहको हत्यामा पनि सकिलको संग्लनता रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।


ठगी र व्यक्ति हत्यामा संग्लन सकिल समूह नै बनाएर अपराधकर्ममा उद्धत थिए । उनका निकट सहयोगीहरु धमाधम पक्राउ पर्न थालेपछि उनी कतार हिँडेका थिए । जेलमा रहेका आफन्त वा परिवारजनका सदस्य छुटाउने भन्दै मोटो रकम असुल्ने र परिवारकै सदस्यको हत्या गरी बेपत्ता हुने सकिलको अपराध शैली थियो ।


२०६४ बैशाख २६ गते सकिल सप्तरी मल्हनियाका आरुल मियाँको हत्या अभियोगमा २०६८ मंसिरमा पक्राउ परेर राजविराज कारागारमा थुनामा परेका थिए । २६ माघ २०६८ मा पुनरावेदन अदालत राजविराजको आदेशले सकिल थुनामुक्त भएका थिए । त्यसपछि उनी उस्तै प्रकृतिको रकम असुली र व्यक्ती हत्याको बाटोमा हिँडिरहे । बारम्बार जेल पर्दै राजनीतिक पहुँचको भरमा छुट्दै फेरि अपराधकर्मका संग्लन हुँदै हिँडेको सकिलको इतिहास छ ।


२०७० चैत २ गते सप्तरीको तत्कालीन त्रिकौल गाविसकी निर्मलादेवी शाहको हत्यामा पनि सकिलको संग्लनता रहेको हुनसक्ने प्रहरीको अनुमान छ । त्यस्तै २०७० कै पुसमा र सुनसरी इनरुवा-७ का एकै परिवारका सदस्य इद्रिस नट मियाँ, जैतुन खातुन र सेरुन खातुनको हत्या पनि सकिलले नै गरेको प्रहरीको निष्कर्ष थियो ।


उच्च प्रहरी स्रोतका अनुसार कतारी प्रहरीले सकिलको पक्राउबारे प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई जानकारी गराइसकेको छ । थुनामा रहेको सकिललाई नेपाल ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?