३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कांग्रेसले डाक्यो शनिबार संसदीय दल बैठक, कार्यसम्पादन समिति बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले शनिबार बिहान राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरूको संयुक्त बैठक बोलाएको छ । बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भने स्थगन गरिएको छ ।

कांग्रेसले डाक्यो शनिबार संसदीय दल बैठक, कार्यसम्पादन समिति बैठक स्थगित

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा दलको नेताको निर्वाचन प्रक्रिया अघि बढाउनेबारे छलफल हुने बताए । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन् ।


महामन्त्री कोइरालाले निर्वाचनबाट पार्टी हारेको अवस्थामा सभापति देउवा दलको नेताका लागि नैतिक रूपमा पनि अग्रसर हुन नहुने बताए । २०५१ मा पार्टी पराजय हुँदा गिरिजाप्रसाद कोइराला आफैं संसदीय दलको नेता नबनी दोस्रो तहका नेतालाई अघि बढाएको उदाहरण दिँदै शशांकले अहिले पनि सभापतिले त्यसै गर्नुपर्ने तर्क गरे । उनले सर्वसम्मत भए आफू हुने, नत्र पूर्वमहामन्त्री सिंहलाई सघाउने स्पष्ट पारे । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । त्यसमा देउवाको बहुमत छ ।


वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कार्यसम्पादन समितिको नभई संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए । तर, देउवाले सुरुमा बिहीबारका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए ।


अहिले केन्द्रीय समिति नडाकी संसदीय दलको मात्र बैठक बोलाएका छन् । निर्वाचन परिणामबारे केन्द्रीय समितिमा छलफल गर्ने गरी राष्ट्रिय सभाको निर्वाचन सकिएपछि बैठक बोलाउने देउवाले यसअघि बताएका थिए ।


प्रकाशित : फाल्गुन ९, २०७४ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?