कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सेनाको हेलिकप्टर अफ्रिकी आकाशमा

चन्द्रशेखर अधिकारी

काठमाडौँ — नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ । नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको ६ महिना बढी भइसकेको छ ।

सेनाको हेलिकप्टर अफ्रिकी आकाशमा

लगातारका टेन्डरपछि ४ हेलिकप्टर बिक्री प्रक्रिया अघि बढेको छ । सेनाको हवाई निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र पार्टपुर्जाको कुल न्यूनतम मूल्य ६५ करोड ७६ लाख ५८ हजार निर्धारण गरी बोलकबोलमा बिक्री घोषणा गरेको थियो । एक सैनिक पुमा हेलिकप्टर बिक्री भएको छ । विशिष्ट व्यक्तिका लागि उपयोग गरिएका दुई सुपरपुमा र सेनाले प्रयोग गरेको अर्को एउटा हेलिकप्टर पनि बिक्रीमा राखिएको थियो ।


एजेन्टमार्फत बिक्री गरिएको उक्त पुमा हेलिकप्टर छिट्टै अफ्रिकी मुलुक पुग्नेछ । अफ्रिकी महादेशमा रहेका आफ्ना सेनाका अधिकृतहरूमार्फत सेनाले बिक्रीको लबिइङ गरिरहेको छ । उक्त पुमा सामान्य मर्मतपछि उडान भरेरै लैजाने वा प्लेनमा लगेर उतै मर्मत गर्ने भन्ने निश्चित भएको छैन । उक्त हेलिकप्टर मर्मतपछि राम्रै उडान भर्न सक्ने निष्कर्ष खरिद गर्ने एजेन्टको छ । सेनाले मर्मतमा धेरै खर्च लाग्ने भन्दै यस्ता हेलिकप्टर र त्यसमा उपयोग हुने पार्टपुर्जा बिक्री गर्न लागेको हो । धेरै पटक मर्मत गर्नुभन्दा नयाँ खरिद प्रक्रिया मुलुकको हितमा रहेको निष्कर्षमा सेनाको छ ।


लिलामीमा राखेका ९ हवाई साधनमध्ये एउटा हेलिकप्टर अफ्रिकी महादेशको आकाशमा उड्ने निश्चित भएको छ, अन्य तीनवटाको पनि बिक्री पक्का भई बैना प्राप्त भएको सेनाले जनाएको छ ।


हेलिकप्टर किन्ने मुलुकको नाम नखुलाइए पनि यो अफ्रिकी महादेशमा आर्थिक उन्नति हासिल गर्दै गरेको मुलुकमा उड्ने निश्चित भइसकेको सेनाको उच्च स्रोतले जनायो । यो हेलिकप्टरको बिक्रीमा सेनाभित्रैबाट प्रश्न पनि उठेको छ । मर्मत गरेर उडान भर्न सक्ने हेलिकप्टर ‘कवाडी’ को भाउमा बिक्री गर्न लागिएको भन्दै सेनाका केही अधिकारीले जिज्ञासा राख्ने गरे पनि चेनअफ कमान्ड मानेर थप नबोलेको स्रोतले बतायो । ‘धेरै छलफल र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर मूल्य निर्धारण गरेका छौं,’ हवाई निर्देशनालय निकट एक अधिकारीले आफ्नो बचाउ गरे ।


बिक्रीमा राखिएका अरू दुई हेलिकप्टर र एक एभ्रोका लागि १० प्रतिशत रकम जम्मा भइसकेको सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले कान्तिपुरलाई बताए । ‘एभ्रो जुन मुलुकमा लैजान लागिएको हो, त्यो मुलुकको स्विकृतिलगायतका प्रक्रियाका कारण अघि बढ्न सकेको छैन । दुई सुपर पुमाबारे भने छलफल भइरहेको छ,’ उनले भने । सेनाले आफूसँग रहेका तीन थान पुमा/सुपर पुमा हेलिकप्टर, एक चिता हेलिकप्टर, एभ्रो हवाईजहाज, दुई एलौट हेलिकप्टर र दुई एमआई १७ हेलिकप्टर र त्यसका पार्टपुर्जा लिलामको तयारी थालेको थियो ।


तीनपटक लगातार टेन्डर आहवान गरे पनि सबै बिक्री हुन सकेको छैन । बेलायतले नेपाललाई उपहार दिएको एमआई हेलिकप्टरको भने उत्पादन कम्पनीको लाइसेन्स नभएकाले बिक्रीमा समस्या आएको छ । एमआई १७ को अन्य सामग्री बिक्री नभए पनि ‘बडी’ बिक्री हुन सक्ने सैन्य अधिकारीहरूले बताए ।


‘ह्यांगर’ खाली गराउन भए पनि यी हेलिकप्टर निकै कम मूल्यमा बेच्नुपर्ने बहस सेनामा चलेको थियो । सेनाले टेन्डरमा राखेकामा विभिन्न समयमा खरिद गरिएका बाहेक भारत सरकारसँग सैन्य सहयोगअन्तर्गत सहुलियतमा लिएका पनि छन् । नेपाली सेना आफैंले टेन्डर आहवान गरेर लिएका हवाई साधन पनि लिलामी गर्न लागेको हो । सेनाले अहिले आठै पृतनामा उनीहरूकै कमान्डअन्तर्गत उद्धारका लागि एक/एक हेलिकप्टर, केन्द्रमा पनि केही हेलिकप्टर र स्काई ट्रक राख्न जोड गरेको छ । त्यसअन्तर्गत तीन हेलिकप्टर सेनाले खरिद गर्ने तयारी अघि बढाएको छ । त्यस्तै, चार स्काई ट्रक अमेरिकी सरकारले सहयोगस्वरूप उपलब्ध गराउँदै छ । सेनाको हवाई निर्देशनालयले दुई थान सुपर पुमा र त्यसका पार्टपुर्जालाई ३१ करोड ६६ लाख न्यूनतम बोलकबोल मूल्य तय गरेको छ । दुई एमआई १७ को मूल्य २० लाख रुपैयाँ न्यूनतम मूल्य राखेर लिलाम बिक्रीको सूचना प्रकाशित गरेको थियो । पुरानो एलौटका मूल्य ५० लाख र १ करोड राखिएको छ ।


सरकारले एउटा हेलिकप्टर र दुई थान जहाज खरिदका लागि बजेट निकासा गरेसँगै सेनाले आफूसँग भएका हवाई साधन लिलाम बिक्रीको प्रक्रिया अघि बढाएको हो । रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार सेनाले तय गरेको न्यूनतम लिलाम मूल्य वैज्ञानिक नभएको गुनासो आइरहेकामा निकै कम न्यूनतम मूल्य राख्दा पनि हालसम्म सबै हवाई साधन बिक्री हुन सकेको छैन । सेनाको हवाई सामग्रीको मूल्य अलि धेरै राखिएको भए पनि थोत्रा हेलिकप्टरको मूल्य भने निकै न्यून राखिएको छ । तर पनि खरिदकर्ताहरू यसमा आकर्षित हुन नसकेको सेनाले जनाएको छ ।


प्रकाशित : फाल्गुन ९, २०७४ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?