कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

७० प्रतिशत नगरवासी दूषित पानीमै निर्भर

मोहन बुढाऐर

धनगढी — ‘स्मार्ट सिटी’ योजनातर्फ अग्रसर भनिएको धनगढी उपमहानगरपालिकामा ३० प्रतिशत बासिन्दा मात्रै शुद्ध खानेपानीको पहुँचमा छन् । ७० प्रतिशत नगरवासी अहिले पनि ह्यान्डपम्प र अन्य स्रोतका दूषित पानी पिउन बाध्य छन् । 

७० प्रतिशत नगरवासी दूषित पानीमै निर्भर

उपमहानगरका १९ वटा वडामध्ये बजार क्षेत्रका ५ वटामा मात्र खानेपानी वितरण गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका अनुसार १ देखी ५ नम्बर वडामा तीनवटा ओभरहेड

ट्यांकीमार्फत पानी पुर्‍याइँदै आएको छ । ती वडामा धारासमेत जडान गरिएको छ ।


बजार क्षेत्रमा धनगढीस्थित राष्ट्र बैंक शाखा कार्यालय नजिकै ४ सय घनमिटर, खानेपानी संस्थानको कार्यालयस्थित १ सय ८० घनमिटर र शिवनगरस्थित हालै निर्माण सम्पन्न ४ सय ५० घनमिटर क्षमताको ट्यांकीमार्फत पानी वितरण हुने गरेको छ । धारा जडान भएका परिवारले समेत बिहान–बेलुका दुईपटक मात्रै दिइने खानेपानी पर्याप्त नभएको गुनासो गर्दै आएका छन् । ‘धारा जडान गर्नेले पनि न्यूनतम महसुल तिर्नेमात्रै हो,’ स्थानीय देवराज भट्टले भने, ‘सुक्खायाममा त दुई दिनमा एकपटक पनि पानी आउँदैन ।’ खानेपानी कर्मचारीको लापरबाहीका कारण धाराबाट आउने पानी पनि दूषित हुने गरेको उनको गुनासो छ ।


खानेपानी लाइन नपुगेको धनगढी–७ कैलाली गाउँका रामबहादुर ऐरले ह्यान्डपम्पको दूषित पानी खानुपरेको बताए । खानेपानी तथा सरसफाइ कार्यालयलगायत सरोकारवाला निकायमा धारा जडानका लागि अनुरोध गर्दा सुनुवाइ नभएको उनको गुनासो छ । ‘पानीकै कारण थुप्रै रोग देखापरेका छन्,’ ऐरले भने, ‘उपमहानगरका बासिन्दा भएर पनि शुद्ध खानेपानीबाट टाढा हुनुपर्ने विडम्बना छ ।’ करिब ८० प्रतिशत रोग दूषित पानीकै कारण हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । ‘शुद्ध पानी पिउने हो भने ८० प्रतिशत रोगै लाग्न पाउँदैन,’ सेती अञ्चल अस्पताल आकस्मिक सेवाका प्रमुख कृष्णबहादुर बोहराले भने ।

खानेपानी कार्यालयका इन्जिनियर दलबहादुर शाहले खानेपानी पहुँचमा तीनखाले वर्गीकरण रहेको बताए । ‘नेपालको हकमा आधारभूत, पाइप प्रणाली र ओभरहेड ट्यांकीमार्फत उपलब्ध हुन्छ,’ उनले भने । आधारभूत पहुँचअन्तर्गत ह्यान्डपम्प, प्राकृतिक धारा र कुवा पर्छन् । तीन वर्षभित्र नगरका सबै वडाका बासिन्दालाई शुद्ध खानेपानीको पहुँचभित्र ल्याउने लक्ष्य रहेको शाहले सुनाए । ‘पानी नपुगेका वडाहरूमा २ सय २५ देखि ४ सय ५० घनमिटर क्षमताका ट्यांकी निर्माणका योजना परेका छन्,’ उनले भने, ‘तीन वर्षभित्र सबै ट्यांकी बनाइसक्ने योजना छ ।’ कार्यालयका अनुसार ती योजनाका लागि बजेटसमेत विनियोजन भइसकेको छ ।


कैलालीमा ९८ प्रतिशत जनता अधारभूत खानेपानीको पहुँचभित्र छन् । त्यस्तै पाइप लाइन प्रणालीमा ६० र ओभरहेड ट्यांकीमा २७ प्रतिशतको पहुँच छ । कार्यालयका अनुसार मालाखेती, अत्तरिया, भजनी, मनुवा, नारायणपुर, सुख्खड, लम्की, टीकापुरका केही वडाका बासिन्दालाई पुग्ने गरी ओभरहेड ट्यांकी सञ्चालनमा छन् । सन् २०३० भित्र जिल्लाका सबै बासिन्दालाई शुद्ध खानेपानीको पहुँचभित्र ल्याइने इन्जिनियर शाहले बताए । जनसंख्या तथ्यांकले ९८ प्रतिशत मात्र देखाए पनि आधारभूत स्रोतमा जिल्लाका शतप्रतिशत बासिन्दाको पहुँच रहेको उनले दाबी गरे । ‘जिल्लाको फिल्ड बुकमा रहेको बसोबास क्षेत्रमा आधारभूत खानेपानीको पहुँच पुगेको छ,’ शाहले भने, ‘तथ्यमा २ प्रतिशत जनसंख्यामा नपुगेको देखिए पनि फिल्डमा त्यस्तो अभाव छैन ।’

प्रकाशित : फाल्गुन १०, २०७४ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?