कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मारिए गुन्डा नाइके

बुटवल/काठमाडौं — भारतमा बसेर अन्डरवल्र्डकै शैलीमा फिरौती असुली र व्यक्ति हत्याको शृंखलाबद्ध घटनामा संलग्न गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आलेको बुधबार बिहान प्रहरी ‘इन्काउन्टर’ मा मृत्यु भएको छ । रूपन्देहीको देवदह नगरपालिका–४ भवानीपुरमा भएको ‘इन्काउन्टर’ मा पुनको शरीरमा १२ र आलेको शरीरमा १० वटा गोली लागेको थियो । 

मारिए गुन्डा नाइके

केन्द्रीय अनुसन्धान ब्युरोको सूचनाका आधारमा प्रहरीले पुनको पिछा गरेको र पक्राउ गर्ने क्रममा गोली प्रहार गरी भाग्न खोजेपछि जवाफी फायर गर्नुपरेको रूपन्देहीका एसएसपी श्याम ज्ञवालीले बताए । ‘पुन रूपन्देहीमै रहेको र अर्को बीभत्स हत्या योजना बनाइरहेको जानकारी पाएपछि देवदह र त्यस आसपासमा खोजी गर्दै आएका थियौं,’ उनले भने । प्रहरीका अनुसार पुनले बोकेको मोबाइलको लोकेसन ट्रेसका आधारमा खोज्दै जाँदा बिहान करिब साढे तीन बजे जम्काभेट भएको थियो । पुन र आले लु१३प ३३७६ नम्बरको मोटरसाइकलमा थिए । ‘प्रहरीलाई फायरिङ गरेपछि जवाफी कारबाहीमा उनीहरू घाइते भए,’ ज्ञवालीले भने, ‘उपचारका लागि अञ्चल अस्पताल बुटबल ल्याउँदै गर्दा दुवैको मृत्यु भयो ।’


पुनलाई छातीको तल, माथि र पेटमा समेत गरी १२ गोली लागेको थियो । आलेलाई छातीमा सहित १० गोली लागेको थियो । घटनाका बेला प्रहरी चढेको भनिएको एउटा मोटरसाइकलको टायरमा गोली लागेको छ । प्रहरीले जवाफी कारबाहीका क्रममा मृत्यु भएको बताए पनि ‘इन्काउन्टर’ मा मारिएको स्रोतको दाबी छ । स्रोतका अनुसार घटनास्थलमा सुरुमा एक साताअघि मात्रै रामेछापबाट सरुवा भएर रूपन्देही पुगेका डीएसपी कुमुद ढुंगेल र अर्का एक डीएसपी मोटरसाइकलमा थिए । घटनामा मारिएका सोम आले केही साताअघि नै केन्द्रीय अनुसन्धान ब्युरोबाट पक्राउ परेका थिए । प्रहरी आलेमार्फत मनोज पुनको सम्पर्कमा पुगेको थियो । केही दिनअघि नै पुनलाई दक्षिण भारतबाट पक्राउ गरेर भैरहवा ल्याइएको स्रोतको दाबी छ ।


गत वर्ष पुस पहिलो साता एमालेको भ्रातृ संगठन युवासंघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या पुनकै योजनामा भएको थियो । भारतको गोवामा बसेका उनको निर्देशनमा नेपालमा रहेका आले र श्याम गुरुङले तिवारी हत्या योजना बनाएका थिए । हत्यालगत्तै पुनको अपराध कर्ममा निकट सहयोगीका रूपमा रहेका आले पनि भारत पसेका थिए । पुनकै योजनामा गत पुस २२ गते रूपन्देहीका वसन्त पौडेलको हत्या भएको थियो । त्यसको उनले जिम्मेवारी लिएका थिए । गत असोजमा काठमाडौंको शान्तिनगरमा भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा समेत पुनको संलग्नता रहेको प्रहरीको दाबी थियो ।


पुनसँगै मारिएका आलेको बारेमा भने प्रहरीले जानकारी दिएको छैन । प्रहरीका अनुसार स्थायी ठेगाना नखुलेका आलेका परिवार भैरहवामा बस्दै आएका छन् । उनी यसअघि खुन डाँका मुद्दामा पाल्पा कारागारमा ५ वर्ष बसेर कैद भुक्तान गरी निस्केका व्यक्ति हुन् ।


भारतको गोवामा पुनसँगै बस्ने अर्का गुन्डा नाइके समीरमान बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरोले मंसिर १७ गते काठमाडौंबाट सार्वजनिक गरेको थियो । बस्नेतलाई प्रहरीले चितवनबाट पक्राउ गरेको बताए पनि उनलाई भारतमै पक्राउ गरी ल्याइएको थियो ।


इन्टरनेट कलमार्फत नेपालका व्यापारी, ठेकेदार र बैंकरलाई फोन गर्ने र रकम असुल्ने गर्दै आएका पुन र समीरमानलाई पक्राउ गर्न ब्युरोले दुई पटक फरक–फरक टोली भारतसमेत पठाएको थियो ।

तर दुवै प्रयास असफल भएपछि तेस्रो पटकको प्रयासमा समीरमान पक्राउ परेका थिए । प्रहरीका अनुसार दुर्गा तिवारीको हत्याका बेलासम्म पुन र बस्नेत एउटै ग्याङमा बसेर अवैध असुली र हत्याका घटना गराइरहेका थिए । दुवै जना त्यसपछि छुट्टाछुट्टै रूपमा अपराध कर्ममा संलग्न थिए ।


पुनको त्रास भारतका विभिन्न स्थानमा बसेर अन्डरवल्र्ड शैलीका अपराध बढाइरहेका पुन शृंखलाबद्ध हत्याका घटनामा संलग्न देखिएपछि प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो । भारतका विभिन्न सहरबाट इन्टरनेट कलमार्फत फोन गर्दै पुनले काठमाडौंका व्यापारी, व्यवसायी र बैंकरहरूसँग रकम असुलिरहेका थिए । उनले हुन्डीमार्फत रकम पठाउन आदेश दिन्थे । नदिए तिवारी र गौचनको जस्तै हाल हुने धम्की दिन्थे । पुनले इन्टरनेट कलमार्फत धम्क्याएर पैसा मागिरहेको भन्दै पछिल्लो तीन महिनायता मात्रै झन्डै डेढ दर्जन व्यक्ति केन्द्रीय अनुसन्धान ब्युरोको सम्पर्कमा पुगेका थिए । ब्युरोका एक उच्च अधिकारीले भने, ‘पुनको आतंक साम्राज्य यसरी फैलिएको थियो, पैसा नदिई सुरक्षित हुन सकिन्न भन्ने धेरै व्यापारीलाई पर्न थालिसकेको थियो ।’ प्रहरी स्रोतका अनुसार काठमाडौंमा गौचनको हत्यापछि पुन समूहले केही बैंकका प्रमुख कार्यकारी निर्देशक (सीईओ) लाई समेत धम्काएर रकम असुलेका थिए । राजनीति र फिरौती असुलीको धन्दा चलाइरहेका पुन आपराधिक दुनियाँमा चर्चामा आएको धेरै भएको छैन । एक वर्षअघि युवा संघ रूपन्देहीका अध्यक्ष तिवारीको हत्यापछि उनी अपराध दुनियाँमा चर्चित भए ।आफूलाई राजनीतिबाट किनारामा धकेलेको रिस साँध्न उनले तिवारीको हत्या गरेका थिए । प्रहरीका अनुसार आफूबारेको सूचना प्रहरीलाई दिएको भन्दै पुनले भाडाका सुटर लगाई वसन्त पौडेलको पनि हत्या गरेका थिए ।


रूपन्देहीको देवदह नगरपालिका–५ निवासी पुनको वास्तविक नाम मनोज बुढामगर हो । पूर्वपश्चिम राजमार्गको देवदह चोकबाट ४ सय मिटरको दूरीमा उनको एक तले घर छ । सामान्य आर्थिक अवस्थाका पुनले स्थानीय केरवानी माविमा एसएलसीसम्म मात्र पढेका थिए । पढाइमा राम्रै रहेका उनी एसएलसीलगत्तै माओवादीको वाईसीएलमा लागे । त्यतिबेलै उनले ढुंगा, गिटी, बालुवाको ठेक्कापट्टामा हात हालेका थिए । तर राम्रो आम्दानी नदेखेपछि एमालेको युथ फोर्समा प्रवेश गरेर क्षेत्रीय कोषाध्यक्ष बने । त्यसपछि उनी विस्तारै आपराधिक गतिविधिमा संलग्न हुन थाले । गुन्डागर्दीका एकपछि अर्को घटनामा उनको संलग्नता देखिन थालेपछि युथफोर्सबाट कारबाहीमा परेका थिए । लगत्तै उनको स्थानीय युवासँग देखिने गरी द्वन्द्व बढेकाले कमजोर हुन पुगे । राजनीतिमा कमजोर बनेपछि आपराधिक गतिविधिमा झनै सक्रिय भए ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?