१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एकैथलोमा भारत, चीन र अमेरिकी सेनाको प्रशिक्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — शिवपुरीस्थित नेपाली सेनाको ‘आर्मी कमान्ड एन्ड स्टाफ कलेज’ मा भारत, चीन र अमेरिका सैनिकहरूले एकैसाथ प्रशिक्षण लिएका छन् । यस कार्यले विश्वमै बेग्लै पहिचान स्थापित गर्न कलेज सफल भएको नेपाली सेनाले जनाएको छ ।

स्वदेशी अधिकृतलाई मात्र नभएर विदेशीलाई समेत उच्च शिक्षा एवं प्रशिक्षण गराउने केन्द्रका रूपमा स्थापित यो कलेजमा २०११ देखि विदेशी सैनिकलाई प्रशिक्षण खुला गरिएको हो । त्यसपछि यस्तो प्रशिक्षणमा विदेशी सहभागिता बढेको हो ।


बुधबार सम्पन्न ५२ हप्ते स्टाफ कलेज कोर्समा भारत, चीन, बंगलादेश, मलेसिया, माल्दिभ्स, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाका १० सहित ५८ स्वदेशी (नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र अनुसन्धानका अधिकारी) दीक्षित भए । २४ औं आर्मी कमान्ड एन्ड स्टाफ कोर्सको ग्राजुएसन कार्यक्रममा ४४ सैनिकसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका चार जना नायब उपरीक्षक र विदेशीसहित ५८ ले उक्त कोर्स पूरा गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको उक्त तालिम सैनिक संगठनमा माथिल्लो (जर्नेल) तहमा पुग्न अनिवार्य मानिन्छ । यसमा अध्ययन र थेसिस सबै प्रक्रिया पूरा गर्नुपर्छ ।


उक्त सैनिक कलेजले नेपाली सेनाको सेनानी तथा अरू सुरक्षा संगठनको नायब उपरीक्षक स्तरलाई प्रशिक्षण प्रदान गर्दै आएको छ । सन् १९९२ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म ६३ जना विदेशीसहित ९ सय २२ जनाले उक्त अध्ययन पूरा गरिसकेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?