कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

लुम्बिनी मुलुककै ‘प्रदूषित’

करिडोरका उद्योग र सिमेन्ट उत्पादनको कच्चा पदार्थ प्रमुख कारक
घनश्याम गौतम

बुटवल — विश्वमै शान्ति क्षेत्रका रूपमा परिचित लुम्बिनी प्रदूषित बन्दै गएको छ । आसपास २ दर्जन ठूला उद्योगले फाल्ने धूवाँले संघीय राजधानी काठमाडौंभन्दा प्रदूषित सहरको सूचीमा परेको हो । वातावरण विभागको वातावरणीय प्रदूषण मापन सर्वेक्षण आधारमा यस वर्ष लुम्बिनी सबैभन्दा बढी प्रदूषित सहर देखिएको छ ।

लुम्बिनी मुलुककै ‘प्रदूषित’

नियमित भइरहेको वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीका अनुसार काठमाडौंभन्दा लुम्बिनीको प्रदूषण डेढ गुणा बढी छ । तीन वर्षअघिको प्रथम बौद्ध सम्मेलनले आसपासमा बढेको प्रदूषणले लुम्बिनीका सम्पदा खतरामा परेको निष्कर्ष निकालेको थियो । सरकारले भने नियन्त्रणका लागि कुनै प्रयास गरेको छैन ।


भैरहवा–लुम्बिनी करिडोरमा अहिले जगदम्बा, रिलायन्स, अर्घाखाँचीसहितका दजर्नभन्दा बढी सिमेन्ट उद्योग सञ्चालित छन् । सिमेन्टसँगै त्यस क्षेत्रमा २५ भन्दा बढी प्रदूषण बढाउने ठूला उद्योग रहेको अध्ययनले देखाएको छ । त्यसको असर मानव स्वास्थ्य, पर्यावरण र लुम्बिनीमा रहेका पुरातात्त्विक सम्पदामा समेत देखिँदै गएको छ । वातावरण विभागका सिनियर डिभिजन केमिस्ट एवं सूचना अधिकारी शंकरप्रसाद पौडेलले अक्टोबरदेखि फेबु्रअरी वायु प्रदूषणको पिक सिजन भएकाले त्यतिबेला बढी प्रदूषण देखिएको बताए ।


‘मुख्य सिजनमा लुम्बिनी देशकै बढी प्रदूषित देखिन्छ,’ उनले भने, ‘त्यसको मुख्य कारण त्यहाँका सिमेन्ट उद्योग र भारतीय सीमाबाट बहने वायु नै हो ।’ विभागले मुलुकभरको वायु प्रदूषणाको अवस्था परीक्षण र अनुगनमका लागि १२ स्टेसन स्थापना गरेको थियो । काठमाडौंको पुल्चोक, रत्नपार्क, कीर्तिपुर, धुलिखेल, शंखपार्क, भैंसेपाटी र भक्तपुरमा स्टेसन छन् । काठमाडौं बाहिर चितवनको सौराहा, पोखरामा तीन र लुम्बिनीमा स्टेसन छन् । ‘ती सबैको तुलनामा लुम्बिनीकाले बढी प्रदूषण हुने गरेको देखाउँदै आएको छ,’ उनले भने, ‘दैनिक हेर्दा बिहान ११ देखि अपराह्न ४ बजेसम्म र वार्षिक कात्तिकदेखि फागुनसम्म प्रदूषण बढी देखिन्छ ।’


लुम्बिनी करिडोरमा सिमेन्ट, पेपर र इँटा उद्योगले बढी प्रदूषण गराउँदै आएका छन् । अधिकांशले सरकारले बनाएको वातावरण प्रदूषण नियन्त्रण निर्देशिकाको मापदण्ड पूरा नगरेको स्थानीयको गुनासो छ । उद्योगबाट लुम्बिनी क्षेत्रको वायुमण्डलमा जम्मा भएको कार्बनिक र सलफरिक एसिडले प्रत्येक वर्ष लुम्बिनीका सम्पदा खिइँदै गएका छन् । नियन्त्रणका लागि समयमै प्रयास नगरिए लुम्बिनी क्षेत्रकै सम्पदा लोप हुने विज्ञको चिन्ता छ । लुम्बिनी विश्व विद्यालयका प्राध्यापक इन्द्र काफ्लेले लुम्बिनी क्षेत्रका ठूला उद्योगले कच्चा पदार्थ अव्यवस्थित ढंगले ल्याउँदा प्रदूषण बढेको बताए ।


‘अधिकांश गाडीमा ल्याइने कच्चा पदार्थ (कोइलाको धूलो, जिप्सन पाउडर) नढाकी ल्याउने र मापदण्ड पूरा नगरी खसाल्ने गरिन्छ,’ उनले भने, ‘त्यसले उद्योगको ग्यास र कच्चा पदार्थले वायुमण्डलमा कार्वन डाइअक्साइड ग्यास फैलने गरेको छ ।’ कार्बोनिक, सल्फोरिक एसिड बढ्दै हावामा माथि जाने र पानीसँगै मिसिएर तल झर्दा सम्पदा नष्ट हुँदै गइरहेको र वातावरण पनि प्रदूषित बन्दै गएको उनले बताए । लुम्बिनी क्षेत्रकै पुरानो सम्पदा अशोक स्तम्भ विस्तारै मक्किँदै गएको छ । यसको मुख्य कारण उद्योगको ग्यासबाट उत्सर्जन भएको प्रदूषण हो । ‘त्यसले यहाँका धेरै सम्पदा नष्ट गर्दैछ,’ उनले भने, ‘यहाँ आउने लाखौं पर्यटकको स्वास्थ्यमा समेत यसले प्रतिकूल असर गरिरहेको छ ।’


लुम्बिनी करिडोरमा २५ भन्दा बढी ठूला उद्योग छन् । सबैले सरकारको वातावरण प्रदूषण नियन्त्रण निर्देशिकाको मापदण्डअन्तर्गत उद्योग सञ्चालन गरेको दाबी गर्छन् । सीमावर्ती भारतीय बजार र उद्योगको प्रदूषित हावाले प्रदूषण फैलिएको उद्योगीको भनाइ छ । सिमेन्ट उद्योगले प्रयोग कच्चा पदार्थबाट निस्कने मसिनो पाउडरको धुलोले तुँवालो नै सिर्जना भएको छ । यसले लुम्बिनीको पर्यटनमा नकारात्मक प्रभाव पारिरहेको उनले बताए । काठमाडौंभन्दा लुम्बिनीमा मानव स्वास्थ्यमा असर गर्ने धुलोका कण भेटिएका छन् । लुम्बिनी क्षेत्रमा उत्सर्जन भएका हानिकारक ग्यासको नियन्त्रण नगरे प्रदूषित सहरका रूपमा चिनिने खतरा छ । करिडोरका उद्योगी बिदुर ढुंगानाले आफूहरू लुम्बिनीको प्रदूषण कम गराउन सरकारले तोकेको मापदण्ड पूरा गरेको बताए ।


‘धेरै उद्योगले धूवाँ उत्सर्ग गर्दैनन्,’ उनले भने, ‘तर भारतीय सिमानामा रहेका उद्योगले खुला रूपमै धूवाँ उडाउने गर्दा समस्या परेको छ ।’ व्यवसायीले प्रदूषणको मापदण्ड मिचेर उद्योग स्थापना गर्दै जाँदा वायु र ध्वनि प्रदूषण बढ्दै गएको लुम्बिनी विश्वविद्यालयका प्राध्यापक गितु गिरीको भनाइ छ । ‘कागजमा नक्सा एकतिर छ,’ उनले भने, ‘उद्योगीले उद्योग अर्कैतिर खोलेका छन् ।’ सरकारले भने त्यसलाई आँखा चिम्लिने गरेको उनले बताए । औद्योगिक करिडोरभित्र पनि तत्काल उद्योग खोल्न रोक्नुपर्ने उनको भनाइ थियो । करिडोरमा अहिले ४५ उद्योग सञ्चालनमा छन् ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?