कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

थन्किए निगमका जहाज

सुरज कुँवर

काठमाडौँ — चीनबाट ल्याइएका नेपाल वायुसेवा निगमका चारवटा वाई १२ई जहाज पाँच दिनदेखि थन्किएका छन् ।

थन्किए निगमका जहाज

पाइलटहरूबीचको चरम गुटबन्दी र निगमको व्यवस्थापकीय कमजोरीले दुर्गममा सुलभ हवाई सेवा पुर्‍याउन भनी ल्याइएका जहाज ग्राउन्डेड भएका हुन् । निगमका अनुसार यी जहाज अझै कम्तीमा १० दिन उड्ने छैनन् ।


निगमको अपरेसन विभाग (पाइलटहरू कार्यरत) ले बुधबार १० दिनका लागि बनाएको रोस्टर (उडान तालिका) मा क्याप्टेन अभावका कारण वाई १२ई अझै १० दिन ग्राउन्डेड हुने उल्लेख छ । निगम स्रोतले उपलब्ध गराएको उक्त रोस्टरमा वाई १२ई उडाउन निगममा भर्ती भएका पाँच पाइलटमध्ये २ जनाले बिरामी बिदा लिएको र २ जनाले राजीनामा दिएका कारण क्याप्टेन अभाव भएको उल्लेख छ । निगम व्यवस्थापनले लाइसेन्स अपडेट नगरेकाले एक पाइलट भने उडान भर्न अयोग्य छन् ।

जहाजको कमान्डर भनिने मुख्य पाइलट (क्याप्टेन) को अभावमा १६ जना यात्रु क्षमताका चारवटै वाई १२ई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् । निगमका एक इन्जिनियरका अनुसार पाँच जनामध्ये निपेन्द्र भट्टराई र सञ्जय बादे श्रेष्ठ बिरामी बिदामा छन् । चिनियाँ विमानका लागि प्रशिक्षक पाइलटका रूपमा आङनुरी शेर्पालाई मासिक साढे ५ लाख रुपैयाँ दिई करारमा नियुक्त गरिएको थियो । तर प्रशिक्षक पाइलट शेर्पा गुटबन्दीका कारण राजीनामा दिई अमेरिका लागेका छन् । अर्का पाइलट अनिशमान शाक्यले पनि राजीनामा दिएका छन् । तर, यी दुवैको राजीनामा निगम व्यवस्थापनले स्वीकृत गरिनसकेको स्रोतले बतायो ।

अर्का पाइलट उद्धव घिमिरेको लाइसेन्स अपडेट गरिएको छैन । आठ महिनासम्म लगातार वाई १२ई उडाएका क्याप्टेन घिमिरेको लाइन्सेन्स अपडेट गर्न प्रशिक्षक पाइलटले जाँच्नुपर्छ । यो निगमको जिम्मेवारी हो । निगमले लाइसेन्स अपडेट नगरिदिएका कारण उनी कामविहीन छन् । निगम सञ्चालक समितिका एक पदाधिकारीका अनुसार अपरेसन विभागमा कार्यरत पाइलटहरूको गुटबन्दीले वाई १२ई को उडान ठप्प भएको हो । विभागका प्रमुख सुवास रिजालले एयरबसको तालिममा आफ्नो

गुटसँग नजिक रहेकालाई मात्र पठाउने गरेकोमा निगमभित्र तीव्र असन्तुष्टि छ । निगमभित्र रिजाल समूह र थकाली समूह नामका दुइटा गुट छन् ।

रिजाल समूहको नेतृत्व अपरेसन विभागका निर्देशक रिजाल (एयरबसका पाइलट) हुन् भने थकाली समूहको नेतृत्वमा पूर्वअपरेसन विभाग प्रमुख रवीन्द्र शेरचन (बोइङका क्याप्टेन) देखिन्छन् । यी दुई समूहको गुटबन्दीका कारण निगमका जहाज नियमित छैनन् भने पाइटलहरू दुई खेमामा विभाजित छन् ।

गत साता एमाले निकट कर्मचारी युनियनसहित तीन दल निकट कर्मचारी नेताहरूले महाप्रबन्धक सुगतरत्न कंसाकार र अपरेसन विभागलाई जहाजको संख्या थपिएसँगै उडान संख्या वृद्धि गर्न र पाइलट थप्न दबाब दिएका थिए ।

सरकारले दुर्गमका बासिन्दालाई सुलभ दरमा हवाई सेवा उपलब्ध गराउन २०७० मंसिरमा चीन सरकारसँग ६ अर्ब ६७ करोड ऋण तथा अनुदान सम्झौता गरी दुइटा एमए ६० र चारवटा वाई १२ई खरिद सम्झौता गरेको थियो । तीमध्ये २०७१ कात्तिकमा एउटा र २०७३ फागुनमा अर्काे वाई १२ई जहाज ल्याइएको थियो । सम्झौताको ४ वर्षपछि बाँकी दुई जहाज फागुन १ मा ल्याइएका थिए, जसको भन्सार शुल्कसमेत फरफारक गरिएको छैन ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?