संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने

रासस

काठमाडौँ — संघीय संसद्अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई छुट्टाछुट्टै ज्येष्ठ सदस्यले शपथ गराउने भएका छन् ।

संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने

ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका ८० वर्षीय महेन्द्र राय यादव र राष्ट्रियसभाकी ६९ वर्षीया तारादेवी भट्टले शपथ गराउने संसद् सचिवालयका सहप्रवक्ता केशवराज अर्यालले जानकारी दिए ।


निर्वाचन आयोगले पठाएको सूची र सांसदको जन्ममितिसम्बन्धी कागजातलाई आधार मानेर यादव र भट्टले नै शपथ खुवाउने निर्णय भएको बताइएको छ । प्रतिनिधिसभाका कूल २७५ सदस्यमध्ये राजपाबाट निर्वाचित सर्लाही–२ का यादव र ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसकी भट्ट ज्येष्ठ देखिएका छन् । ज्येष्ठ सदस्य दुवैलाई राष्ट्रपतिले राष्ट्रपति कार्यालयमा शपथ खुवाएपछि मात्रै उनीहरुले अन्य सदस्यलाई शपथ खुवाउनेछन् ।


निर्वाचन नभएसम्म यादवले सभामुख र भट्टले राष्ट्रियसभा अध्यक्षका रुपमा जिम्मेवारी लिनेछन् । शपथ कार्यक्रम नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा हुने यही फागुन २० गते हुने तय भएको छ । प्रतिनिधिसभाका सदस्यलाई अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यलाई ५ बजे बजे शपथ गराइने समय तोकिएको छ । सरकारको सिफारिशमा राष्ट्रपतिले फागुन २१ गते अपराह्न ४ बजे संघीय संसद्को अधिवेशन आह्वान गरिसकेकी छन् ।


शपथका लागि तोकिएको समयभन्दा एक घण्टा अगाडि नै संसद् भवनमा उपस्थित हुन सांसदलाई सचिवालयले आग्रह गरेको छ । शपथमा आउँदा राष्ट्रिय वा आआफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा आउन सांसदलाई अनुरोध गरिएको संसद् सचिवालयका सहप्रवक्ता अर्यालले जानकारी दिए ।


निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्यको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र शपथमा लैजानुपर्ने व्यवस्था गरिएको छ । कुनै सांसदले मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपिसहित तीन दिन अगाडि नै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?