कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मारिएका गुन्डा नाइके पुनको दुई नागरिकता, दुई पासपोर्ट

जनकराज सापकोटा

काठमाडौँ — शृंखलाबद्ध व्यक्ति हत्या घटनाका मुख्य नाइके मनोज पुनको नागरिकता र पासपोर्ट दुई/दुईवटा रहेको भेटिएको छ । बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी भएको राहदानी फेला पारेको थियो ।

मारिएका गुन्डा नाइके पुनको दुई नागरिकता, दुई पासपोर्ट

नाम फरक भए पनि उक्त राहदानीमा मनोजकै तस्बिर देखिएपछि प्रहरीले उनले फरक नाममा नागरिकता निकालेर त्यसैका आधारमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाएको निष्कर्षमा पुगेको हो ।


नवलपरासीबाट जारी भएको ८५८६४ नम्बरको नागरिकताका आधारमा मनोजले पासपोर्ट निकालेको देखिन्छ । प्रहरीले फेला पारेको ०५२१७४८८ नम्बरको पासपोर्ट ५ अक्टोबर २०१५ मा जारी गरिएको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार मनोजले आफ्नो परिचय बदल्न दोहोरो नागरिकता र पासपोर्ट निकालेको हुन सक्छ ।


मनोजका साथबाट भेटिएको फरक नामको पासपोर्टपछि उनले कसरी फरक नाममा फरक जिल्लाबाट नागरिकता निकाल्न सफल भए भन्नेबारे अनुसन्धान सुरु गरिएको छ । स्रोतका अनुसार नक्कली अभिभावक खडा गरेर पुनले नवलपरासीबाट नागरिकता लिएको र त्यसैका आधारमा पासपोर्ट बनाएको देखिन्छ ।


पुनको साथमा भेटिएको पासपोर्टबाट उनले कुनै देशको यात्रा गरेको देखिँदैन । तर फरक नाममा निकालेको नागरिकता र पासपोर्टकै आधारमा उनले आफ्नो अपराध कर्मलाई लुकाइरहेको हुन सक्ने प्रहरीको अनुमान छ । पुनको साथबाट राना सराङकोटीका नाममा रहेको प्रभु बैंकको एटीएम कार्डसमेत फेला पारेको छ । उक्त एटीएम कार्ड उनको आफ्नै थियो कि अरू कसैका नाममा निकालिएको कार्ड उनले चलाएका थिए भन्ने चाहिँ खुलेको छैन । उक्त नामको खाताको विस्तृत कारोबार विवरण हेरेपछि खाताको वास्तविक व्यक्ति को हो भन्ने पत्तो लाग्नेछ ।


पुनले भारतमा रहँदा नक्कली परिचयका आधारमा आधार कार्डसमेत निकालेको सूचना प्रहरीले पाएको छ । रुपन्देहीका युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्यापछि भारत पसेका पुनले उतैबाट नेपालका व्यवसायीलाई धम्काउँदै रकम असुल्ने गरेका थिए । पछिल्ला दिनमा भने पुनले बैंकक र मलेसियाबाट समेत फोन गरेर व्यसायीलाई धम्काएको सूचना प्रहरीकहाँ पुगेको थियो । त्यसैआधारमा प्रहरीले उनले नक्कली परिचयका आधारमा अन्तर्राष्ट्रिय यात्रासमेत गरेको हुन सक्ने अडकल काटेको थियो ।


पुनको साथबाट ल्यापटप पनि बरामद भएको छ । तर त्यसभित्र के कस्ता विवरण छन् भन्नेबारे भने प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गरेपछि मात्र थाहा हुनेछ । उक्त ल्यापटप इन्टरनेट कल गर्न प्रयोग गरेको हुन सक्ने अनुमान छ ।


भारतीय मोटरसाइकलमा नेपाली नम्बर प्लेट

व्यक्ति हत्याका पछिल्ला ठूला घटनामा अपराधीले भारतीय नम्बरको मोटरसाइकलमा नक्कली नेपाली नम्बर प्लेट राखेर प्रहरीलाई झुक्याउने प्रवृत्ति दोहोरिएको छ । २३ असोजमा काठमाडांैको शान्तिनगरमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा पनि नेपाली नम्बर प्लेट राखिएको भारतीय मोटरसाइकलको प्रयोग भएको थियो ।


हत्याको घटनालगत्तै मोटरसाइकल चढेर भागेका सुटरले कालो रङको साइन मोटरसाइल सिनामंगलमा मिल्काएका थिए । प्रहरीले मोटरसाइकल धनी खोज्दै जाँदा रक्सौलबाट किनेर काठमाडौं ल्याइएको र बा३५प २४६१ नम्बरको नक्कली प्लेट राखिएको खुलेको थियो । भारतबाट शिवजी महतोले चोरेर ल्याएको उक्त मोटरसाइकल गौचन हत्याका अभियुक्त श्याम गुम्बेले १८ हजार रुपैयाँमा किनेको खुलेको थियो ।


बुधबारको घटनामा पनि पुन र उनका निकट सहयोगी सोम आले लु१३प ३३७६ नम्बरको मोटरसाइकलमा सवार भएका बेला प्रहरीसँग दोहोरो भिडन्त भएको हो । प्रहरीका अनुसार सीमावर्ती भारतको उत्तर प्रदेशको नम्बर प्लेटमाथि नेपाली नम्बर प्लेट हालेर उक्त मोटरसाइल प्रयोगमा ल्याइएको थियो । रूपन्देहीका एसएसपी श्याम ज्ञवालीले उक्त मोटरसाइकल भारतबाट चोरी गरेर नेपाल भित्र्याइएको हुन सक्ने बताए ।

प्रकाशित : फाल्गुन १०, २०७४ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?