नेपाल–भारत सचिवस्तरीय बैठक दिल्लीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौं बैठक बिहीबार भारतको राजधानी नयाँदिल्लीमा बसेको छ । 

नेपाल–भारत सचिवस्तरीय बैठक दिल्लीमा

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको सहअध्यक्षता रहेको भारतका सीमा व्यवस्थापन सचिवसहितको उक्त बैठकमा वीरगन्ज र विराटनगरमा निर्माणाधीन एकीकृत जाँच चौकीको वस्तुस्थिति तथा निर्माण प्रगतिबारे परामर्शदाताले जानकारी गराएको भारतीय दूतावासले जनाएको छ । भैरहवा र नेपालगन्जमा पनि एकीकृत जाँच चौकी निर्माणको तयारीबारे परामर्शदाताले बैठकमा अवगत गराएको तथा निर्माण र सञ्चालनसम्बन्धी सम्पूर्ण समस्या यथाशीघ्र समाधान गरी अघि बढ्न दुवै पक्षले प्रतिबद्धता जनाएका छन् ।


वीरगन्ज–रक्सौल र विराटनगर–जोगवनीलाई पहिलो चरणमा निर्माण गर्ने सहमतिअनुरूप निर्माणको काम अघि बढाइएको छ । नेपाल र भारतबीच वस्तु तथा सेवाको प्रवाहका साथै दुवै मुलुकका नागरिकको सहज आवागमनका निम्ति सीमा क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न एकीकृत भन्सार जाँच चौकी र अध्यागमन सञ्चालनका निम्ति दुवै देशले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित : फाल्गुन १०, २०७४ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?