कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छाउगोठ भत्काएर त्रिपालमा

मेनुका ढुंगाना

काठमाडौँ — अछाम– तीन वर्षअघि छाउगोठ मुक्त घोषणा गरिएका साबिकका ढकारी, ढुंगाचाल्ना, हिच्मा र बलाता गाविसका महिला अहिले त्रिपाल टाँगेर घर बाहिर बस्न थालेका छन्। कतिपय ठाउँमा सामूहिक छाउगोठसमेत बनाउन थालिएको छ। ‘पहिलेभन्दा झन् बढी दु:ख हुन थाल्यो,’ बलाताकी नन्दा साउदले दुखेसो पोखिन्, ‘परम्परागत मान्यतालाई तोड्न नसकिँदो रहेछ।’

छाउगोठ भत्काएर त्रिपालमा

उनले तीन वर्षअघि गाउँका महिलाले महिनावारी हुँदा घरभित्र नबस्ने सल्लाह गरेकाले आफूमात्रै घरमा बस्दा गाउँ–समाजबाट अलग हुनुपर्ने अवस्था आउने बताइन्। ढकारीकै सिर्जना योगीको माइतीघर नेपालगन्ज हो। उनले माइतमा कहिल्यै छाउ (महिनावारी) बारिनन्। विवाह गरेर ढकारी आएपछि बार्न बाध्य भइन्। ‘माइती घरमा हुँदा छाउपडी गोठमा बस्छन् भन्ने त सुनेकी थिएँ। तर देखेकी थिइनँ,’ उनले भनिन्, ‘खुट्टा तान्न नमिल्ने सानो ठाउँ, सोचेभन्दा नितान्त फरक र अप्ठ्यारो महसुस भएपछि धेरै दिन त छाउगोठमै रोएकी छु।’ घोडासैनकी उज्जली देवकोटाको संघर्षले धेरैको मन छुन्छ। उनी २०५८ देखि महिनावारी हुँदा घरमा बस्न थालिन्।

आफ्ना २ छोरी र २ बुहारीलाई पनि टाढाको गोठमा राखिनन्। घरकै एक सुरक्षित कोठामा राखिन्। छाउपडीविरुद्ध अभियान नै थालिन्। तर, उनका जेठा छोराको अल्पायुमै मृत्यु भएपछि गाउँले सबै मिलेर छाउ हुँदा घरमा बसेकाले छोराको ज्यान गएको आरोप लगाए। उज्जलीको परिवार समाजिक बहिष्कारमा पर्‍यो।

‘संयोगले मेरो आधारशिला ढल्यो, छोरो गुमाएँ। तर, गाउँलेले उल्टो आरोप लगाए, समाजबाट बहिष्कार गरे,’ उनले रुँदै भनिन्, ‘अल्पायुमा छोरा गुमाउँदाको पीडा छँदै थियो। अर्कोतिर गाउँलेले अलच्छिनी भन्न थाले।’ त्यसपछि गाउँमा कसैलाई ज्वरो आउँदा पनि आफूलाई नै गाली गर्ने र नानाथरी आरोप लगाउने गरेको उनले बताइन्।

महिला आफैं बाहिर बस्ने, सम्झाउन र बुझाउन जाँदा गाली गर्ने गरेको सामाजिक अभियन्ता हस्तना बुढाले बताइन्। ‘गाउँका मान्छेको भावना नबुझेर हचुवाको भरमा मुक्त घोषणा गरे, तर कार्यान्वयन हुन सकेन,’ उनले भनिन्, ‘नाम मात्रको घोषणा भयो, अहिले झन् सास्ती छ।’

ढकारी गाउँपालिका प्रमुख धनबहादुर खड्काले धामीझाँक्री, वृद्धवृद्धा र महिला सबैलाई एकै ठाउँमा राखेर सामूहिक अन्तरक्रियालगायतका कार्यक्रम गरिने बताए। ‘कसैलाई घर सानो भएकै कारण बाहिर गोठमा र त्रिपाल टाँगेर बस्नुपर्ने अवस्था आएको हो भने उनीहरूलाई सुरक्षित राख्नका लागि गाउँपालिकाले पहल गर्नेछ,’ उनले भने। छाउपडी कुप्रथालाई ‘फौजदारी अभियोग’ मानिएको छ। संसद्मा पास भइसकेको यो कानुनका बारेमा वडा तहसम्म जानकारी र सचेतना गराउन आफूहरूले गाउँगाउँमा जानकारीमूलक कार्यक्रम गर्ने अछामका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले बताए।

प्रकाशित : फाल्गुन ११, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?