कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गण्डक नहरका पुल जीर्ण

भूषण यादव

काठमाडौँ — वीरगन्ज– गण्डक नहरमाथि निर्माण भएका पुल जीर्ण बनेका छन्। नहर निरीक्षणका लागि निर्माण भएका पुलमाथि मालवाहक ट्रक, बसलगायत सवारी चल्न थालेपछि जीर्ण बनेका हुन्।पर्सा, बारा र रौतहटको २९ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन नहरमा ३० वटा पुल निर्माण गरिएका थिए।

गण्डक नहरका पुल जीर्ण

एउटा पुल निर्माणमा झन्डै ५ करोड रुपैयाँ खर्च हुन्छ। बजेट अभावमा पुल मर्मत सम्भार गर्न सकिएको छैन। इन्जिनियरका अनुसार पिलर भासिएका छन्। पुलमा प्वाल परेका छन्। पुलमाथि राखिएका स्ल्याब फुटिसकेका छन्। पुल क्षतिग्रस्त भएको साइनबोर्ड झन्ड्याए पनि चालकले निर्धक्क सवारी चलाउने गरेका छन्। बसको छतमाथि यात्रु राखेर पुलमाथि ओहोरदोहोर गरिन्छ।

वीरगन्जस्थित नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयले गण्डक नहरको मर्मत सम्भार गरी पानी सञ्चालनको जिम्मेवारी पाएको छ। ‘कुन दिन पुल भत्केर ठूलै दुर्घटना हुन्छ,’ सिँचाइका इन्जिनियर सुरेश साहले भने, ‘पुल क्षतिग्रस्त भएको जानकारी गराउँदासमेत अटेर गरेका छन्। पुल भत्केपछि खेती संकटमा पर्छ।’

सिँचाइमा काम गरेका पुराना कर्मचारीका अनुसार दशकअघिसम्म नहरको बाटो प्रयोग गर्न अनुमति लिनुपथ्र्यो। नहर मर्मतका लागि सिँचाइको सवारी मात्र चलाउन पाइन्थ्यो। साहका अनुसार अहिले कसैले टेर्दैनन्, स्थानीय प्रशासनलाई समेत सवारी निषेधबारे जानकारी गराएको उनले बताए। वीरगन्ज महानगरपालिका २५ जगरनाथपुर क्षेत्रमा नहर ‘क्रस’ गरेर बग्ने सिरिसिया खोलामाथि निर्माण भएको पुलमा ठूला प्वाल परेका छन्। उक्त क्षेत्रमा आधा दर्जन ठूला उद्योग सञ्चालनमा छन्। ३ वटा सिमेन्ट उद्योगका क्लिंकर र दाना उद्योगका मकै, भटमासलगायतका कच्चा पदार्थ र तयारी वस्तु त्यही पुल भएर ओहोरदोहोर गराइन्छ। स्थानीय छठु साहका अनुसार १२ चक्के ट्रकले उद्योगका लागि कच्चा पदार्थ र तयारी वस्तु दिनहुँ बोकेर नहरको बाटो ओहोरदोहोर गर्छन्। ‘भ्यान, जिप, ट्याक्टर जस्ता हल्का सवारी चल्दा पनि पुल हल्लिन्छ,’ पुल नजिकै घुम्ती पसल थापेर खाजा व्यापार गरेका साहले भने, ‘पुल जीर्ण भइसक्यो।’

सिँचाइका कर्मचारीका अनुसार गण्डक नहरका अधिकांश पुल जीर्ण भएको जानकारी स्थानीय प्रशासनदेखि विभागका महानिर्देशकसमेतलाई जानकारी गराइसकिएको छ। ‘न त मर्मत सम्भारका लागि बजेट नै आउँछ,’ ती कर्मचारीले भने, ‘न त ह्याभी सवारी निषेध नै गर्न सकिएको छ, पुल भत्किएमा यस क्षेत्रको किसानको भविष्य झन संकटमा पर्छ।’ केही पुलमुनि साइफनसमेत निर्माण भएको छ। प्राविधिकका अनुसार एउटा साइफन निर्माणमा झन्डै २५ करोड रुपैयाँ खर्च हुन्छ। ‘खोलामुनि नहरको पानी पास गराउन साइफन निर्माण गरिन्छ,’ इन्जिनियर साहले भने, पुल टुटे त्यसले साइफनमा पनि क्षति पुर्‍याउँछ, नहर पनि संकटमा पर्छ।’ गण्डक नहरमा कुल ७ वटा साइफन निर्माण भएका छन्।

निर्माण भएका पुल सिँचाइका हलुका सवारीको भार थेग्ने क्षमताका छन्। सूचना अधिकारीसमेत रहेका इन्जिनियर साहले भने, ‘हुलुका सवारी मात्र गुड्ने भएकाले पुलका पिलर ५० सेमि गोलाइका छन्।’ पुलको चौडाइ पनि एकपटकमा एउटा सवारीमात्र पार्न गर्न सक्ने हिसाबले साँघुरो बनाइएको हो। सन् १९५९ मा नेपाल र भारतबीच गण्डक सम्झौता भएको थियो।

नवलपरासीस्थित नारायणी (गण्डक) नदीमा निर्माण गरिएको ब्यारेजबाट नेपालका लागि पर्साको जानकी टोल भएर गण्डक नहरमा पानी आउने गरेको छ। पर्सादेखि रौतहटसम्म सिँचाइ गर्ने योजनाअनुसार गण्डक नहर निर्माण भए पनि बाराको आधा भूभागसम्म मात्र पानी पुग्ने गरेको छ।

प्रकाशित : फाल्गुन ११, २०७४ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?