१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पर्यटक तान्दै डल्ला होमस्टे

कमल पन्थी

डल्ला (बर्दिया) — शिव सामुदायिक वनले डल्लामा सञ्चालन गरेको होमस्टे पर्यटकीय केन्द्र बनेको छ । अहिले सञ्चालकलाई पाहुना स्वागतमा भ्याइनभ्याइ छ । छ वर्षदेखि सञ्चालित होमस्टेले स्थानीय थारू समुदायको जीवनशैलीमा परिवर्तन ल्याएको छ ।

पर्यटक तान्दै डल्ला होमस्टे

थारू समुदायले आफ्नो परम्पराअनुसार पाहुनाको स्वागत गर्छन् । उनीहरूको सत्कारको स्वदेशी तथा विदेशीले प्रचार गर्दै आएका छन् । त्यसले यहाँ आउने पर्यटकको संख्या बढ्दै गएको उक्त सामुदायिक वनका सदस्य परशु थारूले बताए ।


गतवर्ष बेलायतका राजकुमार ह्यारी अर्थात हेनरी चाल्र्स अल्वर्ट डेभिडले डल्ला होमस्टेको अवलोकन गरेका थिए । १५ मिनेट अवलोकन कार्यक्रम तय भए पनि करिब आधा घण्टा समुदायका अगुवासँग बेलायती राजकुमारले बिताएका थिए । त्यसबेला राजकुमारले सय मिटर पैदल अवलोकन गरेका थिए ।


होमस्टे सञ्चालनपछि स्थानीयले रोजगारीका लागि अन्यत्र जानुपरेको छैन । मध्यवर्ती क्षेत्रअन्तर्गत १ सय ३ हेक्टरमा फैलिएको वनको उपभोक्ता समूहले एक घर एक रोजगार भन्दै आयमूलक र सीपमूलक तालिम दिएको थियो । १ सय ५ घरधुरी भएको गाउँमा होमस्टे सञ्चालन, महिला र पुरुष हेयर कटिङ, ढकिया बुनाई, पर्यापर्यटन, माछापालन, कुखुरापालन, ब्युटिपार्लर, सिकर्मी र डकर्मी लगायतका तालिम प्राप्त व्यक्तिले सम्बन्धित पेसा अँगालिसकेका छन् । मध्यवर्ती क्षेत्रअन्तर्गत दुर्गम गाउँ अवलोकन र अध्ययन गर्न आन्तरिक र विदेशी पर्यटक आउने गरेका छन् । पर्यटकीय केन्द्र बन्दै गएका कारण आफ्ना छोराछोरीलाई अंग्रेजी माध्यमबाट पढाउनुपर्ने भन्दै निजी स्रोतमा निजी विद्यालय खोलिएको छ ।


सामुदायिक वन अध्यक्ष मंगल थारूले गाउँका शतप्रतिशत बालबालिका विद्यालय जाने गरेको बताए । शान्त प्रकृतिको डल्ला गाउँमा जुवातास र मदिरा सेवन गरेर होहल्ला गर्न पाइँदैन । आन्तरिक र बाह्य पर्यटक आउने भएका कारण उनीहरू निकै उत्साहित छन् । अध्यक्ष थारू भन्छन्, ‘गाउँलाई शिक्षा, आर्थिक, सांस्कृतिक, सामाजिकलगायतका पक्षमा सुधार गर्ने नै सामुदायिक वनका सदस्य हुन् ।’


डल्लाका कच्ची सडकमा कागजका एउटा टुक्रा वा फोहोर पाइँदैन । कसैले भूलवश फाले पनि तत्कालै उठाएर फोहोर संकलन गर्ने डस्पिनमा राख्ने गरेका छन् । सामुदायिक वन र वन्यजन्तु संरक्षणमा लागेका समुदायका मानिस चोरी/सिकार नियन्त्रणका लागि आफैं २४ सै घण्टा पहरा दिन्छन् । उनीहरूले चोरी/सिकार नियन्त्रणका लागि सुरक्षा दस्ता तयार पारेका छन् । द्वन्द्वकालमा यहाँ चोरी/सिकारीले दुईवटा गैंडा र एउटा बाघ मारेको बर्दिया निकुञ्जले जनाएको छ । अरूको सहयोग लिन नपरोस् भन्दै उपभोक्ताको पहलमा शिवहरि ऋण सहकारी संस्था खोलेका छन् । सस्तोमा सजिलै ऋण पाउने भएकाले पनि गाउँ छाडेर सदरमुकामस्थित वित्तीय संस्था पुग्न पर्दैन स्थानीय शालिकराम थारू भन्छन् । जंगली जनावरले खाद्य बाली खाइदिनाले हैरानी खेप्दै आएका यहाँका किसानले २० बिघा खेतमा मेल्था खेती गर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?