कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कोसी राजमार्ग: मापदण्डविपरीत नाला निर्माण

देवनारायण साह

मोरङ — ६ लेन सडकको दुवै छेउमा निर्माण कम्पनीले मापदण्डविपरीत नाला निर्माण गरिरहेको छ । निर्माणमा कमसल इँटा प्रयोग गरेको भेटिएको छ । सम्झौतामा नालाको भित्री पर्खाल प्लास्टर गरेपछि मात्रै ढलान गर्नुपर्ने उल्लेख छ । यहाँ प्लास्टर नै नगरी धमाधम ढलान भइरहेको छ । विराटनगरको बरगाछीस्थित रिनउल्ट शोरुम र पीपल चोकस्थित रमाइलो चौतारी होटल अगाडिको नालामा प्लास्टर नै नगरी ढलान भइरहेको हो ।

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडकमा यस्तो लापरबाही गरिए पनि सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ । उक्त सडक खण्ड निर्माणको ठेक्का कञ्चनजंघा र कान्छाराम कन्स्ट्रक्सनले लिएका छन् । उक्त परियोजनाअन्तर्गत पहिलो चरणमा रानीदेखि इटहरीसम्म २९ किलोमिटर, ६ सय मिटर सडक, नाला र फुटपाथ निर्माणका लागि ११ वटा प्याकेजमा ५ अर्ब ४ करोड ६१ हजारमा ठेक्का लागेर काम भइरहेको हो । यस वर्ष थप ४ किलोमिटर ठेक्का लागेको छ । विराटनगरको बरगाछी चोकदेखि आयल निगमसम्म ३ किलोमिटरसम्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त सडकखण्डमा दुवैतर्फ निर्माण गरिएको नालाभित्रको पर्खाल पलास्टर नै नगरी माथिबाट निर्माण कम्पनीहरूले ढलान गरिरहेका छन् ।


विराटनगरस्थित रोडशेष चोकभन्दा दक्षिण ६ लेन सडकअन्तर्गत दुवैपट्टि निर्माण भइरहेको नालामा मापदण्डविपरीत गुणस्तरहीन इँटा प्रयोग भइरहेको छ । उक्त खण्ड निर्माणको ठेक्का कान्छाराम कन्स्ट्रक्सन काठमाडौंले पाएको छ । ६ लेन सडक परियोजनाका प्रमुख विनोद मौवारले नालाभित्र प्लास्टर गर्ने डिजाइन र स्टिमेट रहेको बताए । ‘निर्माण कम्पनीले नालाको पर्खाल प्लास्टर गरेपछि मात्रै माथिबाट ढलान गर्नुपर्ने हो,’ उनले भने, ‘त्यस्तो नभए ढलानपछि पनि अनिवार्य प्लास्टर गर्नैपर्छ ।’


उनले निर्माण सामग्री गुणस्तरहीन भएको गुनासो आइरहेकाले अनुगमन र कारबाही प्रक्रिया अगाडि बढाएको बताए । रानी–धरान ६ लेन सडक निर्माणका लागि १० अर्ब ९८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सडकको केन्द्रबाट १५ मिटर दायाँ र १५ मिटर बायाँ गरी ३० मिटरमा ६ लेन सडक निर्माण भइरहेको छ । सडकको दुवै छेउमा नाला निर्माण भइरहेको हो ।


यस्तै अति व्यस्त उक्त सडकमा सवारीसाधनले उडाएको धूलोले विराटनगरवासी मर्कामा परेका छन् । विराटनगरदेखि इटहरीसम्म दुवैपट्टि ढल निर्माणले पनि सडक धुलाम्य बनेको छ । सरकारले चालू आर्थिक वर्षमा उपलब्ध गराएको ६० करोड बजेटमध्ये ४५ करोड खर्च भइसकेको आयोजना प्रमुख मौवारले बताए ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?