हात्तीपाइलेको जोखिम बढ्यो 

कान्तिपुर संवाददाता

धनगढी — प्रदेश ७ का कैलाली र कञ्चनपुर हात्तीपाइले रोगको उच्च जोखिममा परेका छन् । स्वास्थ्यसम्बन्धी तथ्यांकअनुसार कैलालीमा हात्तीपाइले रोगको औसत संक्रमण दर ६ दशमलव ३ प्रतिशत छ ।

कञ्चनपुरमा २ दशमलव ७८ प्रतिशत छ । शुक्रबार धनगढीमा पत्रकारहरूसँगको अन्तक्रियामा स्वास्थ्यकर्मी हरिप्रसाद भट्टले १ प्रतिशतभन्दा माथि संक्रमण दर भएको जिल्ला उच्च जोखिममा रहने जानकारी दिए ।

उनका अनुसार पहाडी जिल्लामा १ प्रतिशतभन्दा मुनि संक्रमण दर छ । डडेल्धुरामा शून्य दशमलव ३३ प्रतिशत औसत संक्रमण दर छ । सन् २००१ मा अछाम, बाजुरा र बझाङमा औसत संक्रमण दर शून्य प्रतिशतभन्दा तलै थियो । डोटीमा ६ दशमलव ७, दार्चुला १ दशमलव २५, डडेल्धुरामा ६ दशमलव ५ औसत संक्रमण दर थियो ।

‘पहाडी जिल्ला जोखिमबाट मुक्त छन्,’ भट्टले भने, ‘तर पनि भविष्यमा यो रोगको संक्रमण फैलिन नदिन हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियान सञ्चालन गरेका छौं ।’ देशभरका २४ जिल्लामा सरकारले शनिबारदेखि सोमबारसम्म हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियान सुरु गरेको छ ।

हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियानले ३७ जिल्लामा यो रोग उन्मूलन भइसकेको छ । सन् २०२० सम्ममा यो रोगलाई नेपालबाटै उन्मूलन गरिसक्ने सरकारको स्वास्थ्य मन्त्रालयको रणनीति रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका टंकप्रसाद चापागाईंले बताए । यो रोग एक प्रकारको सरुवा रोग हो । यो लामखुट्टेबाट सर्ने गर्छ । संक्रमित व्यक्तिलाई लामखुट्टेले टोकेपछि सर्ने गर्छ । त्यसैले हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सञ्चालन गर्दा जिल्लाको ६५ प्रतिशतभन्दा बढी जनसंख्यालाई पुग्ने गरी गर्नुपर्ने चापागाईंले बताए ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?