१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सामुदायिक वनमा काठ तस्करी

अर्जुन राजवंशी

दमक — सामुदायिक वन हंसेदुम्सेबाट सखुवाका ठूला रूखहरू चोरी तस्करी गर्ने क्रम बढेको छ । साउन अन्तिम साताको भारी वर्षासँगैको हावाहुरीले ढालेका सखुवाका रूखहरू चोरी भएका हुन् ।

हावाहुरीले ढलेका रूखहरू ७ महिनासम्म जंगलभित्र बेवारिसे रहेकाले चोरी तस्करी बढेको उपभोक्ताको भनाइ छ । त्यतिबेला ढलेका रूखहरूमध्ये अहिले अधिकांशका ठुटा मात्रै देखिन्छन् । घाँसदाउरा गर्न जंगल छिर्नेहरू तथा रातको समयमा पेसेवर तस्करले रूख काटेर लाने गरेको नाम नबताउने सर्तमा एक स्थानीयले बताए । ‘जंगलभित्र जतासुकै रूख ढलेका छन् । छ महिनासम्म वन कार्यालयले नलगेकाले अहिले चोरी तस्करी बढेको हो,’ उनले भने ।


वन कार्यालयका अनुसार साउनको हावाहुरीले जंगलभित्र सालका मात्रै ५ सय २१ वटा रूख ढलेका थिए । तीमध्ये भुटानी शरणार्थी शिविरको छाप्रामाथि परेका, बिजुलीका तारमा परेका, सडकमा ढलेका गरी २ सय ४ वटा रूख कार्यालयले संकलन गरेको थियो । जंगलभित्र ढलेका रूखको लगत मात्रै संकलन गरिएको थियो । जंगलभित्रका ३ सय १७ वटा रूख कानुनी जटिलताका कारण संकलन गर्न नसकेको वन कार्यालयले जनाएको छ । ती रूख संकलन गर्नका लागि कानुनी प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।


जंगल क्षेत्रबाट रूख चोरी तस्करी भएको वन उपभोक्ता समूहका अध्यक्ष हिमालयप्रसाद दाहालले पनि स्वीकार गरे । उनले भने, ‘हामीले रूख ढलेलगत्तै जिल्ला वन कार्यालयमा पत्र पठाएका थियौं । तर, कानुनी जटिलताका कारण ढलेका रूख काटेर संकलन गर्न सकेनौं ।’ उनले ७ महिनासम्म जंगलभित्र ढलेका रूखको गस्ती गर्न सक्ने अवस्था नरहेकाले चोरी तस्करी हुन सक्ने आशंका जनाए । ‘जंगलभित्र ढलेका रूखहरू चोरी तस्करी भएका छैनन् भनेर भन्न सकिँदैन,’ उनले भने ।


दमक नगरपालिकाभित्रको उक्त वन जिल्लाकै १० ठूला वनभित्र पर्छ । रेन्जर राजेश घिमिरेले वनको रेखदेख गर्ने वन उपभोक्ता समिति जिम्मेवार नभएकाले समस्या भएको बताए । उनका अनुसार हिमालयप्रसाद दाहाल नेतृत्वको वन उपभोक्ता समितिको कार्यकाल गत असार मसान्तमै सकिएको थियो । समितिको कार्यकाल सकिए पनि नयाँ उपभोक्ता समिति गठनमा ढिलाइ तथा असारदेखि कात्तिकसम्म वन क्षेत्रमा प्रवेश निषेध रहेकाले जंगलभित्रका रूख काटेर संकलन गर्न नसकिएको उनले बताए । जिम्मेवार समितिको अभावमा जंगलभित्र चोरी तस्करी हुने गरेको सूचना आफूहरूले पनि पाएको उनले जानकारी दिए ।


वन कार्यालयमा तालाबन्दी

असन्तुष्ट उपभोक्ताको एउटा समूहले बेलडाँगीस्थित वन कार्यालयमा तालाबन्दी गरेको छ । ४ हजार ३ सय उपभोक्ता रहेको वनको नयाँ कार्यसमितिका लागि आहान गरिएको निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले तालाबन्दी गरेको जनाएका छन् । वनभित्र १ देखि ७ नम्बरसम्म ब्लक छन् । सबै ब्लकबाट १ सय ५९ जना परिषद सदस्यको नाम छनोट भएको छ । असन्तुष्ट समूहले परिषद छनोट नियमअनुसार नभई राजनीतिक भागबण्डाका आधारमा गरेको आरोप लगाएको छ । उनीहरूले कार्यालयमा लिम्बुवान भनी लेखिएको एउटा पर्चा छाडेर कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष दाहालले बताए । अध्यक्ष दाहालले भने वन नियमावलीअनुसार नयाँ कार्यसमिति चयनको प्रक्रिया अघि बढाएको दाबी गरे । फागुन १६ गते निर्वाचनको मिति सार्वजनिक गरिएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?