कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अवैध हुन्डी मौलाउँदै

मुख्य नाइकेसहित १० जना झन्डै डेढ करोड रूपैयाँसहित पक्राउ
विनोद भण्डारी

विराटनगर — पछिल्ला दिनमा यहाँ अवैध हुन्डी कारोबार बढेको छ । त्यस्तो कारोबारमा संलग्न गिरोहका मुख्य नाइकेसहित १० जनालाई प्रहरीले झन्डै डेढ करोड रुपैयाँसहित पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । उक्त गिरोहबाट बरामद रकमको स्रोत खुल्न सकेको छैन ।

अवैध हुन्डी मौलाउँदै

स्रोत खुलाउन नपर्ने र भनेको बेलामा एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै रकम पठाउन सक्ने भएकाले पछिल्ला दिनमा अवैध हुन्डी कारोबार बढेको प्रहरी अनुसन्धानबाट देखिएको छ । प्रहरीले यहाँका केही ठूला व्यापारिक घरानाका व्यक्ति पनि हुन्डी कारोबारमा संलग्न भएको आशंका गरेको छ ।


मोरङ प्रहरीले गिरोहका नाइके अनुपचन्द सेठियासहित ६ जनालाई ८६ लाख र अर्का कारोबारी सन्तोषकुमार रौनियारसहित ४ जनालाई ५६ लाख नगदसहित पक्राउ गरेको छ । गिरोहका मुख्य नाइके सेठिया मोरङ कारागारमा छन् । विराटनगर महानगर ११ केशलिया मार्गमा रहेको कनैया गुप्ताको घरमा हुन्डी कारोबार गरिरहेको अवस्थामा रौनियारको समूहलाई प्रहरीले पक्राउ गरेको थियो । सोराभाग घर भएका रौनियार हाल विराटनगर ६ मा बस्ने गरेका छन् । उनीसँगै विराटनगर ७ का सुदर्शन साह, ११ का नीरञ्जनकुमार साह र १७ का साकिब आलम पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट नगद, भारतीय एयरटेल कम्पनीको सिमकार्ड १ थान र विभिन्न कागजातसमेत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले बताए । उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।


दुवै समूह अवैध हुन्डीको कारोबारी भएको पुष्टि भएको छ । एसपी बीसीका अनुसार उनीहरूबाट बरामद रकमको स्रोत खुलेको छैन । एसपी बीसीले भारतका विभिन्न ठाउँमा हुन्डीमार्फत पैसा पठाउन यो गिरोह सक्रिय रहेको बताए । ‘भारतमा पैसा पठाउनुपरे यो गिरोहले यहाँ संकलन गर्ने र सम्बन्धित ठाउँमा पुर्‍याउने काम गरेको देखिन्छ,’ उनले भने । विराटनगर महानगरपालिका क्षेत्रभित्र अझै पनि ठूलै संख्यामा अवैध रूपमा हुन्डीको कारोबार हुने गरेको प्रहरीको आशंका छ । ठूला व्यापारिक घरानाका व्यक्ति पनि यो वित्तीय अपराधमा संलग्न हुँदै आएका छन् । यसअघि प्रहरीले हुन्डी कारोबार गर्ने विराटनगरको अर्को ठूलो गिरोहलाई पनि पक्राउ गरेको थियो ।


विराटनगरका व्यापारी अनुपचन्द सेठिया, ललित सेठिया, विमलकुमार चिरानिया, श्रवणकुमार साहसहित ६ जनाको उक्त समूहबाट प्रहरीले ८६ लाख ५९ हजार नगद बरामद गरेको थियो । हुन्डीमार्फत पैसा पठाउँदा पैसाको स्रोत खोल्नुपर्दैन । यसरी पैसा पठाउँदा सम्बन्धित व्यक्तिले छिटो पाउने र बैंकमार्फत पठाउँदाभन्दा कम शुल्क लाग्ने भएकाले अवैध रूपमा हुन्डीको प्रयोग बढदै गएको प्रहरीको बुझाइ छ ।

विभिन्न व्यवसायको आवरणमा गिरोहले अन्तर्राष्ट्रिय रूपमा पैसाको ओसारपसार गर्ने तथा आपराधिक क्रियाकलापका लागि हुन्डीको प्रयोग गर्ने गरेका छन् । १० लाखभन्दा बढीको कारोबार बैंकमार्फत गर्दा स्रोत देखाउनुपर्ने भएकाले अवैध बाटो हुन्डी रोज्ने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । पक्राउपछि हुन्डी कारोबारीले प्रहरीसमक्ष दिएको बयानमा उनीहरूले १० लाख रुपैयाँ भारत पढाउँदा ७ हजार ५ सय रुपैयाँ मात्र शुल्क लिने गरेको बताएका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?