कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैरहवा र नेपालगन्ज भन्सार नाका व्यवस्थित गर्ने सहमति

कान्तिपुर संवाददाता

काठमाडौँ — भैरहवा र नेपालगन्जमा निर्माण हुने एकीकृत जाँच चौकी निर्माण र सञ्चालन मोडल टुंगो लागेको छ । लामो समयदेखि त्यहाँ निर्माण गर्ने भनिए पनि चौकी सञ्चालनको मोडल र निर्माण स्थलबारे टुंगो लाग्न सकेको थिएन ।

दिल्लीमा बिहीबार सम्पन्न नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौं बैठकले त्यसको समाधान गरेको जानकारी दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले दिए ।

विराटनगर र वीरगन्जमा निर्माणसम्बन्धी विषय पहिले टुंगिएर काम अघि बढेको भए पनि त्यसको सञ्चालनबारे सहमति हुन सकेको थिएन । राजनीतिक सहमति भए पनि प्राविधिक र मोडेलमा सहमति हुन सकेको थिएन ।


भन्सार नाका व्यवस्थित गर्न र सीमामा जनताको आवतजावत सहज बनाउन एकदिने बैठकले समस्यालाई आपसी छलफलबाट टुंगो लगाएको हो । सीमा नियमनमा जोड दिँदै आएको भारतले चौकी निर्माणमा विशेष चासो राखेको छ । निर्माणमा आउने विवाद मात्र होइन, सञ्चालनमा पनि कुनै बाधा नआउने गरी समस्या समाधान गर्न दुवै पक्ष सहमत भएको नेपालस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


द्विपक्षीय बैठकमा नेपालबाट सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगानालगायत सहभागी थिए । बैठकमा भारतका सीमा व्यवस्थापन सचिवसहितको टोली सहभागी रहेको भारतीय दूतावासले जनाएको छ । उक्त बैठकमा वीरगन्ज र विराटनगरमा निर्माणाधीन एकीकृत जाँच चौकीको वस्तुस्थिति तथा निर्माण प्रगतिबारे परामर्शदाताले जानकारी गराएको दूतावासले जनायो ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?