१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ओमनमा अलपत्रको उद्धार भएन 

कान्तिपुर संवाददाता

काठमाडौँ — वैदेशिक रोजगारका लागि ओमन पुगेर अलपत्र परेका २० नेपाली कामदारको अझै उद्धार हुन सकेको छैन । ती कामदारलाई अनेस्टी ओभरसिजले गत डिसेम्बर २६ गते ओमनस्थित मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा पठाएको थियो ।

म्यानपावरसँग सम्झौता गरेको काम र तलब नपाएका २० मध्ये ११ जनालाई कम्पनीले क्याम्पबाट निकालिदिएको छ । ‘हामी १ सय २० ओमनी रियाल पाउने सर्तमा स्कापफोल्डिङको काम गर्न आएका हौं । कम्पनीले सडक खन्ने काम लगायो,’ फुलासी, रामेछापका यमबहादुर चौहानले कान्तिपुरसँग भने, ‘सडक खन्ने काम नगरेपछि हामीलाई रातभर भुइँमा राखिदियो । फोरम्यानलाई भनेर क्याम्पबाट निकालिदियो ।’

कम्पनीबाट निष्कासित ११ कामदार सोहरबाट झन्डै ३ सय किमि टाढा राजधानी मस्कट आइपुगेका छन् । नेपाली दूतावासमा पुरुष कामदारका लागि सेल्टर नभएकाले ६ जनालाई गैरआवासीय नेपाली सामाजिक क्लब र ५ जनालाई बुद्ध भिजनले आश्रय दिइरहेका छन् । उनीहरू १ लाख २० हजार रुपैयाँसम्म तिरेर ओमान पुगेका हुन् । ९ जना कामदारलाई कम्पनीले अर्को ठाउँमा लगेर राखेको छ । ओमानस्थित नेपाली दूतावासले कम्पनी सञ्चालकसँग कुराकानी भए पनि समाधान ननिस्केको जनाएको छ । अहिले पीडितको मुद्दा ओमानको श्रम विभागमा पुगेको छ । दूतावासले पीडित कामदारको उद्धार गर्न नसकेको भन्दै म्यानपावरलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ ।

कामदार ल्याउँदा आफ्नो खर्च भएको भन्दै कम्पनी सञ्चालक फिर्ता पठाउन अनिच्छुक देखिएका छन् । म्यानपावरले आफ्नो खर्च सोधभर्ना गरे मात्रै कामदार पठाउने कम्पनीको अडान छ । पीडितले भने कम्पनीको कार्यालय नै नभएको बताए । ‘कम्पनीको कार्यालय नै छैन । एउटा टेबल मात्रै छ, त्यसमा कोही बस्दैन,’ कैलालीका शेरबहादुर खत्रीले भने । उनीहरूमध्ये अधिकांश खाडीबाट फर्केका कामदार थिए ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?