लुम्बिनी अस्पताललाई जग्गा अभाव, जीर्ण भवनमै तला थपिँदै

पौने दुई बिघाजति जग्गा सडक र सुकुम्बासीका नाममा अतिक्रमण भइसकेको छ
अमृता अनमोल

बुटवल — जमिन अभावले लुम्बिनी अञ्चल अस्पताललाई ३ सय बेडमा स्तरोन्नति गराउने गुरुयोजना अन्योलमा परेको छ । पर्याप्त पूर्वाधार निर्माण नहुँदा बिरामी साँघुरो र जोखिमयुक्त भवनमा उपचार सेवा लिन बाध्य छन् । 

लुम्बिनी अस्पताललाई जग्गा अभाव, जीर्ण भवनमै तला थपिँदै

यहाँ १३ जिल्लाका दैनिक एक हजार बिरामी आउने गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले गुमेको जग्गा खोज्न र नयाँ व्यवस्थापन गर्न नसक्दा पूर्वाधार निर्माणमा समस्या परेको बताए । पछिल्लो समय थोरै जग्गामा मल्टी बिल्डिङ निर्माणबारे छलफल चलिरहेको उनले जानकारी दिए ।

२ सय १० बेडको अस्पतालले कमजोर भवनमाथि थप पूर्वाधार निर्माण गरिरहेको छ । २ वर्षअघि ३१ बेडको प्रसूति कक्ष बनाउन तला थपिएको थियो तर अझै सञ्चालनमा आउन सकेको छैन । अहिले ओटी भवनमाथि थप दुई तला उठाइँदै छ । बजेट आए पनि अत्यावश्यक मानिएको सिटी–एमआरआई गरिने डाइग्नोस्टिक भवन निर्माण भएको छैन । सूचना अधिकृत लक्ष्मीराज रेग्मीले खाली जग्गा नहुँदा आवासगृह भत्काएर प्रसूति भवन निर्माण गर्न थालिएको बताए । ‘एउटा आवासगृह भत्किइसक्यो, अर्को पनि भत्काएर भवन बनाउने योजना अगाडि बढाएका छौं,’ उनले भने, ‘अब २४ घण्टा खटिने चिकित्सक र नर्सलाई कहाँ राख्ने भन्ने समस्या पर्छ ।’

अस्पतालले हाल सेवा सञ्चालन गरिरहेको भवनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था एनएचएसआरपीको अध्ययनले उच्च भूकम्पीय जोखिममा राखेको छ । १९६७ सालमा ६ बेडबाट सुरु भएको अस्पतालले २०१६ सालमा भवन निर्माण गरेको हो । अहिले यति जीर्ण भइसक्यो कि पानी पर्दा धेरै ठाउँबाट चुहिन्छ ।

अस्पतालको भौतिक अवस्था बिरामीको उपचार गर्न योग्य नै छैन । सूचना अधिकृत रेग्मीले जग्गा अभावले पूर्वाधार निर्माणका धेरै योजना अघि बढाउन नसकिएको बताए । ‘पुरानो जग्गा साबिक गराउन वा नयाँ थप्न नसक्दा समस्या भएको छ,’ उनले भने । २०५२ सालको धनीपुर्जामा अस्पतालको जग्गा ८ बिघा ४ कट्ठा साढे ९ धुर छ । तर, नापी कार्यालयको अभिलेखमा ६ बिघा ७ कट्ठा साढे १२ धुर मात्र छ । बुटवलको केन्द्रभागमा रहेको झन्डै पौने २ बिघा जग्गा अतिक्रमित भइसकेको छ । आसपासका बासिन्दाले मिचेर घर बनाउँदा र सडक सञ्जाल बढ्दै जाँदा अस्पतालको जग्गा घटेको हो । यसबीच जग्गा संरक्षणमा कसैले चासो देखाएन । अस्पताल पछाडिको धेरै क्षेत्र सुकुम्बासीका नाममा कब्जा गरेर घर ठड्याइसकिएको छ । सूचना अधिकृत रेग्मीले अस्पतालको जग्गाको सीमा नै कहाँसम्म हो भन्ने थाहा पाउन नसकिएको बताए । ‘मालपोत र नापी कार्यालयलाई पत्र लेखेर अस्पतालको पुरानो क्षेत्र

छुट्याइदिन र गुमेको जग्गा खोजी दिन पटकपटक आग्रह गरिसकेका छौं,’ उनले भने ।

जानकारहरूका अनुसार २०३६ सालमा अस्पतालका लागि बुटवलवासीले झन्डै १२ बिघा जग्गा छुट्याएका थिए । त्यसमध्येको केही जग्गा पूर्व–पश्चिम राजमार्ग र कालिकापथ सडक विस्तारमा परेको थियो । सुकुम्बासी समस्या समाधान आयोगले पनि अस्पतालको हालको भवनभन्दा उत्तर–पश्चिमको केही जग्गा सुकुम्बासीलाई बाँडेको थियो । जग्गा वितरणको केही समय तत्कालीन अस्पताल प्रशासनले विवरण गलत भएको भन्दै पुरानै जग्गामा आफ्नो स्वामित्व हुनुपर्ने दाबी गर्दै आएको थियो । त्यसपछि दलको पहुँचका आधारमा बनेका कुनै पनि व्यवस्थापन समिति र प्रशासनले जग्गा सोधखोजै गरेनन् । ‘व्यवस्थापन समितिबाटै तत्काल सोधखोज भएको भए गुमेको जग्गा लिन सजिलो हुन्थ्यो होला,’ रेग्मीले भने, ‘अब नयाँ खोज्नुको विकल्प छैन ।’

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?