कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीकाे निर्देशनमा मापदण्डविपरीतका ठूला होटललाई जरिवाना

शेखर अधिकारी

काठमाडौँ — जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितको निर्देशनमा मापदण्डविपरीतका होटललाई जरिवाना गरिएको छ ।

वातावरण प्रभाव मूल्यांकन (ईआईए) नगरी सञ्चालन भएका ठूला होटल र उद्योगलाई कारबाही गरिएको हो । मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमका अनुसार पहिलो चरणमा ईआईए नगरेका उद्योग प्रतिष्ठानलाई कारबाही गरिएको बताए । ‘मन्त्रीज्यूले प्रदूषण नियन्त्रणका लागि मन्त्रालयबाट गर्ने कामलाई तुरुन्त अघि बढाउनू भन्ने निर्देशन दिनुभएको छ,’उनले भने ।


मन्त्रालयका स्रोतका अनुसार सोल्टी सिटी अपार्टमेन्ट रविभवनलाई एकलाख रुपैयाँ जरिवाना तोकिएको छ भने तत्कालै ईआईए प्रक्रिया अगाडि बढाउने निर्देशन दिइएको छ ।


ईआईए नगरी क्षमता विस्तार गरेको बत्तिसपुतलीस्थित द्वारिका होटललाई पनि एकलाख रुपैयाँ जरिवाना तोकिएको छ भने तत्कालै ईआईए प्रक्रिया अगाडि बढाउन भनिएको छ । भवन निर्माण गर्दा ईआईए नगरेको सिटी होटल रविभवन र काठमाडौं गेस्ट हाउस ठमेललाई पनि एकलाख रुपैयाँ जरिवाना र तत्कालै ईआईए प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ । दाङमा उद्योग स्थापना गर्ने गरी ईआईए गरेर आबुखैरेनीमा उद्योग खोलेको अरनिको आबुखैरेनी सिमेन्ट तनहुँलाई ५० हजार जरिवाना तोकिएको छ ।


मन्त्रालयका अनुसार मापदण्डविपरीत उद्योग सञ्चालन गर्ने कमला रोलिङ मिल टंकिसिनुवारी र काठमाडौं दुग्ध वितरण आयोजना काठमाडौंलाई ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।


वातावरण मन्त्रालयले मापदण्डविपरीत ईआईए नगरी सञ्चालित नेपाल नेसनल हस्पिटल कलंकी, मैत्री बाल अस्पताल, काठमाडौं मोडल अस्पताल पुतलीसडक र काठमाडौं अस्पताल त्रिपुरेश्वरलाई कारबाही अगाडि बढाउन स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ ।

प्रकाशित : फाल्गुन १३, २०७४ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?