कान्तिपुर टीभीको प्रधान सम्पादकमा अर्याल
काठमाडौँ — कान्तिपुर टेलिभिजन नेटवर्कको प्रधान सम्पादकमा प्रशान्त अर्याल नियुक्त भएका छन् ।
टेलिभिजन सञ्चालक समितिले उनलाई आइतबारदेखि लागू हुने गरी उक्त जिम्मेवारी सुम्पेको हो । अर्याल १० वर्षदेखि ‘नेपाल’ साप्ताहिकका प्रधान सम्पादक थिए ।
अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अर्यालले त्यसअघि कान्तिपुर, हिमाललगायत सञ्चारमाध्यममा काम गरेका थिए । उनले छापा पत्रकारितामा सिकेको सीप र अनुभवका आधारमा टेलिभिजन समाचारलाई लोकप्रिय बनाउने बताए । ‘कान्तिपुर टेलिभिजन एचडीमा गएर प्रविधिमा फडको मारेको छ,’ अर्यालले भने, ‘समाचारमा पनि फडको मार्ने मेरो लक्ष्य छ ।’
प्रकाशित : फाल्गुन १३, २०७४ २१:५२प्रतिक्रिया