कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाए आन्दोलन : शान्ति समाज

कान्तिपुर संवाददाता

काठमाडौँ — मानव अधिकार तथा शान्ति समाजले सर्वोच्च अदालतको नेतृत्व असंयमित हुन थालेकोमा दुख ब्यक्त गर्दै प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने, धावा बोल्ने, कुण्ठित गर्न खोज्ने कुनै पनि कार्यको विरुद्ध सदाझै अग्रपंक्तिमा उभिने जनाएको छ ।

समाजले सोमबार बिज्ञप्ति जारी गरि कान्तिपुर दैनिकमाथि सर्वोच्च अदालतमा चलिरहेको मानहानीको मुद्दालगायत केही घटनाक्रमहरुमा सर्वोच्चको नेतृत्व असंयमित हुन पुगेको र न्यायका सार्वभौम मान्यता विपरित प्रस्तुत हुन थालेको दुखद अनुभव गरेको जनाएको हो ।


'प्रेस स्वतन्त्रता लोकतन्त्रको एक प्रमुख स्तम्भ हो भने स्वस्थ आलोचना लोकतन्त्रको गहना हो' समाजका महासचिव उत्तम पुडासैनीले बिज्ञप्ति भनेका छन्, 'सञ्चार जगतको अभिभावकको रुपमा समेत रहेको सम्मानित न्यायालय प्रतिशोधको भावना लिएर प्रेस स्वतन्त्रताकै विरुद्ध खनिने छैन भन्ने शान्ति समाजको आशा एवं विश्वास रहेको छ ।'


समाजले विभिन्न समयमा न्यायिक स्वतन्त्रता, निष्पक्षता, दक्षता र पारदर्शीताका विषयमा ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै २०७४ असार २९ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीसँग भेटी शान्ति समाजको प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएकोसमेत उल्लेख गरेको छ ।


समाजले स्थापना कालदेखि नै प्रेस स्वतन्त्रताका पक्षमा कार्यगर्दै मर्यादित पत्रकारितामा जोड दिंदै आउनुका साथै विभिन्न कालखण्डमा प्रेसमाथि आक्रमण हुँदा त्यस्तो आक्रमण विरुद्ध अभियानरत रहि आन्दोलनहरुमा साथ पनि दिँदै आएको पनि स्मरण गराएको छ । साथै न्यायालयको मर्यादा र न्यायमुर्तिहरुको आत्मसम्मान रक्षार्थ शान्ति समाज स्वयं पनि संवेदनशिल रहेको उल्लेख गरेको छ ।


आइतवार प्रधानन्यायाधीश गोपाल पराजुलीले कान्तिपुरमा उनका बारेमा प्रकाशित समाचारहरुले अदालतको मानहानि भएको भन्दै परेको रीटमा सुनुवाई गर्दै तीन दिनभित्र उपिस्थित भएर बयान दिन र प्रेस काउन्सिललाई आफ्नो विरुद्धका सामाग्रीहरु पुन: प्रकाशन हुनबाट रोक्न आदेश दिएको थियो ।

कानुनविद्, सञ्चारविद् तथा राजनीतिक दलका नेताहरुले प्रधानन्यायाधीश पराजुलीले प्रेसमाथि सेन्सरसीप लगाउन खोजेको तथा आफु पक्ष भएको मुद्दामा आफैले सुनुवाई गरेकोमा विरोध गरेका छन् ।


प्रकाशित : फाल्गुन १४, २०७४ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?