कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चिनौं चार नयाँ मन्त्री

शेखर अधिकारी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रक्षा मन्त्रीमा एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्रीमा एमालेकै डा. युवराज खतिवडा, गृहमन्त्रीमा माओवादी केन्द्रका रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा माओवादीकै मातृका यादवलाई शपथ खुवाइन् ।

चिनौं चार नयाँ मन्त्री

प्रधानमन्त्री ओलीले एमाले र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री थप गरे । फागुन ३ गते प्रधानमन्त्रीसँगै लालबाबु पण्डित र थममाया थापाले शपथ लिएका थिए । विस्तारित मन्त्रिपरिषद् ७ सदस्यीय भएको छ ।


एमालेमा अर्थ र माओवादी केन्द्रमा गृह मन्त्रालयको तानातान बढी भएपछि चार जनामात्रै मन्त्री थपिएका हुन् । नवनियुक्त मन्त्रीहरुमध्ये खतिवडामात्रै सरकारमा नयाँ अनुहार हुन् । माओवादी केन्द्रबाट मन्त्री भएका दुवै पार्टी विभाजनमा गएर फर्किएका हुन् ।


राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने तयारी भए पनि सर्वोच्चले खतिवडाको शपथ रोक्न आदेश दिइसकेको छ । तर, तत्काललाई मन्त्री बन्न कानुनले रोक्दैन । मन्त्री भएको ६ महिनाभित्र खतिवडा संघीय संसद (प्रतिनिधि वा राष्ट्रिय सभा)को सदस्य भइसक्नुपर्छ ।


ईश्वर पोखरेल

ईश्वर पोखरेललाई तेस्रोपटक मन्त्री बन्ने अवसर जुरेको छ । पोखरेल प्रधानमन्त्री ओलीपछिको पहिलो वरीयतामा रहनेछन् । यसअघि उनी आपूर्ति र परराष्ट्रमन्त्री भएका थिए । बाबुराम भट्टराई सरकारमा उपप्रधानसहित परराष्ट्रमन्त्री भएका पोखरेल सरकारमा मात्रै दुई सातामात्रै रहे । एमाले महासचिवसमेत रहेका पोखरेल दुइटै संविधानसभामा काठमाडौं– ५ बाट पराजित भएका थिए । गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा भने उनी कांग्रेसका प्रकाशशरण महतलाई हराउँदै काठमाडौं– ५ बाटै निर्वाचित भएका हुन् । ०५१ सालमा मनमोहन अधिकारी सरकारमा राजनीतिक सल्लाहकार रहेका पोखरेल दुई कार्यकाल एमाले महासचिव निर्वाचित भएका थिए ।


रामबहादुर थापा

बादल उपनामले चिनिने रामबहादुर थापा माओवादी केन्द्रका पुराना नेता हुन् । गुल्मीमा जन्मिएका थापा पछि चितवन सरेका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा चितवन– २ बाट निर्वाचित थापा तत्कालिन एमाओवादीका महासचिव थिए । पार्टी विभाजनमा मोहन वैद्यसँगै गएका थापा ०७२ चैतमा पुन: माओवादी फर्किएका हुन् । थापाको दोस्रो सत्तायात्रा हो । ०६५ सालमा तत्कालिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थापा ९ महिनामै सरकारबाट उत्रिएका थिए । उनी रक्षामन्त्री भएकै बेला तत्कालिन प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाएपछि प्रधानमन्त्री दाहालले राजीनामा गरेका थिए । गृहमन्त्रीमा पार्टीका नेताहरु वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्माकोसमेत दाबी रहँदा थापाले बाजी मारे । प्रतिनिधिसभामा चितवनबाट टिकटको चाहना राखे पनि सम्भव नभएपछि थापालाई राष्ट्रिय सभामा उम्मेदवार बनाइएको थियो ।


मातृका यादव

जनयुद्धदेखि नै माओवादी आन्दोलनमा सक्रिय मातृका यादव तेस्रोपटक मन्त्री भएका छन् । उनी यसअघि वन मन्त्री भएका थिए । वन मन्त्री छँदा एलडीओलाई शौचालयमा थुनेर उनी चर्चामा आएका थिए । सिरहाका यादव पहिलो संविधानसभामा समानुपातिक सांसद भएका थिए । नारायणकाजी श्रेष्ठसँग तत्कालिन नेकपा माओवादीको एकीकरण भएपछि असन्तुष्ट नेकपा माओवादीलाई पुनर्गठन गरेका यादव पार्टीको नाम फेर्दै ७ वर्षसम्म अलग्गै रहे । दुई वर्षअघि पुन: माओवादी केन्द्रमा फर्किएका यादव गएको प्रतिनिधिसभा निर्वाचनमा धनुषा– १ बाट निर्वाचित भएका थिए ।


युवराज खतिवडा

नयाँ सरकारमा सर्वाधिक चर्चित पात्र हुन् युवराज खतिवडा । विगतदेखि नै ओलीका अवैतनिक आर्थिक सल्लाहकार खतिवडालाई अर्थ मन्त्री बनाउन राष्ट्रिय सभामा मनोनयन गरिएको थियो । सर्वोच्चको आदेशले उनको शपथ रोकिए पनि अर्थमन्त्री बनाउने ओलीको योजना रोकिएन । पार्टीभित्रका शक्तिशाली नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे र विष्णु पौडेलको दाबीका बीच खतिवडा अर्थमन्त्री बने । प्रधानमन्त्रीको गृहजिल्ला निवासी खतिवडा यसअघि गर्भनर र दुई कार्यकाल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका छन् ।

प्रकाशित : फाल्गुन १४, २०७४ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?