१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रहरीलाई मोटरसाइकल घाँडो : सवारीधनी कुर्दै ट्राफिक

शिल्पा कर्ण

काठमाडौँ — रामशाहपथस्थित महानगरिय ट्राफिक प्रहरी महाशाखाको हाताभित्र पस्नेबित्तिकै दाहिने छेउमा मोटरसाइकल राखिएको देख्न सकिन्छ । आएका सेवाग्राहीका साथै प्रहरीका नयाँ, सफा मोटरसाइकलका बिचमा धुलोले छोपिएका पुराना मोटरसाइकल पनि छन् । त्यहाँ मात्र होइन, कार्यालयको भवन पछाडि पनि दुईतिर मोटरसाइकल राखिएको छ । 

प्रहरीलाई मोटरसाइकल घाँडो : सवारीधनी कुर्दै ट्राफिक

अगाडिको भागमा भन्दा पछाडिका मोटरसाइकल जिर्ण भइसकेका छन् । पछाडिको मोटरसाइकलका कतिपय पाटपुर्जा पुरानो भएर कामै नलाग्ने समेत भइसकेका छन् । कार्यालयको अझै भित्र छिर्दा मोटरसाइकल र २/४ वटा कार थुपारिएका छन् । विभिन्न दुर्घटनामा परेका वा वास्तविक सवारीधनी फेला नपरेपछि ट्राफिक प्रहरी ति सवारी साधन लिन प्रमाणसहित आउने सवारीधनी कुरेर बसेका छन् ।


महाशाखाका प्रवक्ता उमेश रंजीतकार ति सवारी साधनले आधाभन्दा बढि क्षेत्र ओगटेकाले कठिनाइ भएको बताउँछन् । दिनहुँ आउने सेवाग्राहीका सवारी साधन, ट्राफिक प्रहरीको आनै गाडि र मोटरसाइकल व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ । अहिले त्यहाँ ६ सय हाराहारिमा मोटरसाइकल तथा कार छन् ।


महाशाखाका प्रवक्ता रञ्जीतकारले भने, ‘हामीले विवरण खुलाएर साइट र फेसबुकमा राख्दिन्छौं । सवारीधनीले कहिले लिएर जान्छन् भनि कुर्नुबाहेक विकल्प छैन ।’ प्रहरीले सवारीधनी नआएसम्म सुरक्षितसाथ राखिरहनुपर्ने भएकाले यति धेरै सवारी थुप्रिएको उनले बताए ।


ललितपुर ट्राफिकमा पनि समस्या उस्तै छ । प्रहरी निरिक्षक सीताराम हाछेंथु भन्छन्, ‘लगभग डेढ सय मोटरसाइकल छन् यहाँ । सेवाग्राही र हाम्रो सवारी साधन राख्ने स्थान समेत छैन ।’ ब्लुबुक नभएको मोटरसाइकल प्रतिदिन झन्डै ८/९ वटा पक्राउ गरिरहने र त्यसताले धेरै समयपछि मात्र कागजातसहित सवारी लिन आउने गरेका छन् । त्यस अवधिमा प्रहरीले सुरक्षित रुपमा सवारी साधन राखिरहनुपर्ने हुन्छ ।


‘थुपारेर राखिरहने ठाउँ छैन, जथाभावी असुरक्षित ठाउँमा राख्न पनि सक्दैनौं, लिलामी प्रक्रियामा लैजाने अधिकार पनि छैन,’ हाछेंथुले थपे, ‘सवारी धनीले लिन नआएका गाडी प्रत्येक ६/६ महिनामा बग्गीखानामा पठाइदिने गरेका छौं ।’ उपत्यकाका अन्य वृतमा राख्ने ठाउँ नभएपछि ति पनि बिस्तारै महाशाखामै थुप्रिएका छन् ।


ट्राफिक वृत कालिमाटीमा पनि स्थिति फरक छैन । वृतका खाली स्थानमा मोटरसाइकल थन्क्याइएका छन् । पुराना मोटरसाइकल र स्कुटर दुवै लामो समयदेखि भुईंमै फालिएपछि तिनका बीचमा घाँसापत उम्रिसकेको छ । बौद्ध ट्राफिक प्रहरी कार्यलय बाहिर चेन लाएर मोटरसाइकल तथा स्कुटर राखिएको देख्न सकिन्छ । त्यहाँबाट पछिल्लो १ वर्षमा ५० जति सवारी साधन स्थान अभावमा बग्गीखाना पठाइएको तथ्यांक छ ।


कतिपय सवारी दुर्घटनाको मुद्दा अदालतमा चलिरहँदा ति सवारी पनि ट्राफिकमै रहन्छ । नयाँ बसपार्क ट्राफिक वृतमा सवारी चाप बढो छ । ‘कतिपय अवस्थामा मापसेको कागजपत्र हुन्न । अनि चिट काट्न नसकेपछि सवारी साधन राख्छौं,’ एक प्रहरीले भने, ‘किस्तामा सवारी साधन किन्नेसँग पनि कागजात हुन्न । यस्तोमा १५((० दिनदेखि ६ महिना पछिसम्म पनि गाडि लिने आइरहेका हुन्छन् ।’ २/३ वर्ष अघि ल्याइएका गाडि पनि यहाँ छन् ।


सवारीसाधन किनेर विदेशिने संख्या पनि उच्च छ । प्रवक्ता रञ्जितकारले भने, ‘ब्लुबुक भएको मान्छे विदेशमा हुन्छ, अनि उ नआएसम्म सवारी साधन अरुले लान पाउँदैन । जति पुरानो भयो सोधखोज गर्ने हुन्नन् ।’ कानुनमा त्यस्ता सवारी के गर्ने सो व्यवस्था नभइदिँदा जुनसुकै समयमा सवारी धनी कागजात लिएर आउँदा दिनुपर्ने अवस्था छ । प्रहरी महाशाखा रामशाहपथमा घामपानी, धुलोमै सवारी राख्नुबाहेक अन्य उपाय छैन ।


प्रकाशित : फाल्गुन १४, २०७४ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?