देउवाले भने– ‘दलको नेता मै बन्छु’

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफैं उम्मेदवार बन्ने घोषणा गरेका छन् । निर्वाचनमा पार्टी पराजयपछि नेतृत्व छाड्न चौतर्फी दबाब परिरहेका बेला देउवाले बुधबार महामन्त्री शशांक कोइरालाले आयोजना गरेको चियापानमा दलको नेतामा आफैंले प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । 

देउवाले भने– ‘दलको नेता मै बन्छु’

चियापानमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइरालासहितका नेताहरूले भने पार्टी कमजोर भएको अवस्थामा एकताको सन्देश दिन पनि सभापति देउवाले दलको नेतामा ‘लोभ’ गर्न नहुने सुझाव दिएका थिए ।


संसदीय दलका लागि महामन्त्री कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसमेत दाबेदार छन् । महामन्त्री कोइरालाले सर्वसम्मत भए आफू हुने तर चुनावी प्रतिस्पर्धामा भने अघि नबढ्ने बताए । ‘पार्टी कमजोर अवस्थामा छ । यस्तो अवस्थामा चुनावमा जान उपयुक्त हुन्न, पार्टीलाई यो दुर्दशाबाट बचाउन एकताको खाँचो छ,’ संवाददाताहरूसँग कोइरालाले भने, ‘शेरबहादुरजीले पनि दलको नेता छाडेर सर्वसम्मत बनाउने प्रयास गर्नुपर्छ ।’


केही दिनअघि आफूलाई दलको नेताका लागि सर्वसम्मत वातावरण बनाउन देउवाकोमा पुग्दाको प्रसंगसमेत कोइरालाले सञ्चारकर्मीमाझ राखे । ‘सभापतिसँग संसदीय दलको नेता मलाई सर्वसम्मत बनाउनुहोस् भनें तर म नै उम्मेदवार हुँ, मलाई सघाउनुहोस् भन्न थाल्नुभयो,’ कोइरालाले भने, ‘त्यसपछि मेरो वाक्य नै फुटेन ।’


कोइरालाले अबको संसदीय दलको नेता प्रधानमन्त्री नबन्ने भएका कारण देउवालाई लोभ नगर्न आग्रह गरेका थिए । तर, देउवाले भने पार्टीभित्र अर्को शक्तिकेन्द्रको उदय हुन नदिने मनसायसाथ आफैं दलको नेतामा अग्रसर हुन थालेका हुन् । देउवानिकट एक नेताका अनुसार बीचमै वाम गठबन्धनबीच फुट आए पुन: प्रधानमन्त्री बन्न सकिने आसमा देउवा दलको नेता नछाड्ने पक्षमा छन् ।


कोइरालाले आफ्नै निवास टोखामा चियापान आयोजना गरेर देउवालाई उम्मेदवार नबन्न दबाब दिन खोजेका थिए । उनले फागु पूर्णिमाका अवसरमा शुभकामना दिन भन्दै चियापान आयोजना गरेका थिए । देउवा चियापानमा लामो समय बसेनन् । केहीबेर कोइरालाको निवास नियालेर फर्किएका थिए । चियापानमा करिब ७० जना नेता तथा सांसद पुगेका थिए ।


उनीहरूमध्ये अधिकांशले पार्टी पराजयको जिम्मेवारी लिँदै देउवाले दलको नेता छाड्नुपर्ने सुझाव दिएका थिए । वरिष्ठ नेता पौडेलले भने विगतको परम्परा र नैतिक आधारमा पनि पार्टी सभापति संसदीय दलको नेता बन्न नहुने धारणा राखेका थिए । उनले आइतबारको संसदीय दलको बैठकमा पाँच पृष्ठको लिखित दृष्टिकोण राख्दै देउवालाई असफल नेताका रूपमा चित्रण गरेका थिए । देउवा सिंगो पार्टीको सभापति हुन नसकेको र निर्वाचनमा पार्टी लज्जास्पद रूपमा हारेका बेला दलका नेता बन्न नहुने उनले सार्वजनिक रूपमै आग्रह गरेका छन् ।


‘पार्टी एक बनाएर लैजानुपर्छ, सभापति आफंै एउटा पक्षको उम्मेदवार बन्न सुहाउँदैन । उहाँले त सर्वसम्मत बनाउने प्रयास गर्नुपर्छ,’ पौडेलको भनाइ थियो, ‘अहिले सभापति दलको नेताका लागि होइन, पार्टीलाई माथि उठाउने एजेन्डाको तयारीमा लाग्नुपर्छ ।’


उनले पार्टीभित्र सर्वसम्मत गराउने प्रयास पनि भइरहेको बताए । पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवा सम्पूर्ण रूपमा असफल नेता भएको भन्दै संसदीय दलको नेता बन्ने नैतिक धरातल गुमाएको बताए ।


‘पार्टी र सरकारको दुवै मोर्चामा पार्टी सभापति असफल हुनुभएको छ,’ सिंहले भने, ‘अब उहाँले दलको नेता छाड्नुपर्छ । उठ्ने नैतिक धरातल छैन ।’ उनले आन्तरिक चुनावमा आफू कहिल्यै पराजित नभएको भन्दै देउवासँगै चुनावी प्रतिस्पर्धा भए पनि आफूले जितेरै छाड्ने दाबीसमेत गरे ।


प्रकाशित : फाल्गुन १६, २०७४ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?