२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अब पटक–पटक सडक भत्काउन दिइँदैन: पण्डित

कान्तिपुर संवाददाता

काठमाडौँ — जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले अब पटक–पटक सडक भत्काउन नदिने बताएका छन् । 

पटक–पटक सडक भत्काउँदा काठमाडौंमा प्रदूषणको मात्रा बढेको भन्दै सबै संयन्त्रलाई एकीकृत गर्दै एक साथ काम गर्ने रणनीति बनाउन सुरु गरेको उनले बताए ।

अब पटक–पटक सडक भत्काउन दिइँदैन: पण्डित

‘कहिले सडक, कहिले विद्युत्, कहिले दूरसञ्चार र कहिले ढलले सडक भत्काइरहेका छन्,’ बुधबार कान्तिपुरसित कुरा गर्दै मन्त्री पण्डितले भने, ‘जहिले पनि भत्काउने र बनाउने चक्र अन्त्य गरिन्छ ।’


सडक भत्काएपछि महिनौं दिनसम्म त्यत्तिकै छाड्ने गरिएको उल्लेख गर्दै मन्त्री पण्डितले काम सकिएपछि तुरुन्तै कालोपत्रे गर्ने व्यवस्था मिलाइने बताए । ‘भत्किएको सडकमा तीन–तीन दिनमा पानी हालेको रेकर्ड छ, हप्ता दिनसम्म एकपटक पनि पानी हालिएको छैन,’ उनले भने, ‘त्यसरी सरकारी रकमको दुरुपयोग गर्नेहरुलाई कारबाहीमा गरेरै छाड्छु ।’


बुधबार नै रत्नपार्कस्थित स्टेशनमा गएर प्रदूषण मापन यन्त्र अवलोकन गरेका मन्त्री पण्डितले प्रदूषणको अवस्था भयावह रहेको बताए । ‘राष्ट्रिय मापदण्डभन्दा ८ गुना बढी प्रदूषण रहेको पाइयो,’ उनले भने, ‘विकास निर्माणका कामहरुले धूलो उडाएको छ, गाडीको धूँवा, चिम्नीको धूँवा र उपत्यकाको छेउमै कतिपय ठूला–ठूला सिमेन्ट उद्योगबाट निक्लेको धूँवाले प्रदूषण बढायो ।’


ऐन कानुलाई प्रभावकारी बनाउन सके प्रदूषणको मात्रा नियन्त्रण गर्न सकिने मन्त्री पण्डितको भनाइ छ । ‘हरियो स्टिकर नलगाएकालाई महानगर र उपमहानगरमा प्रवेश गर्न दिइने छैन,’ उनको योजना छ । हरियो स्टिकर लगाएका सवारी पनि जाँच गर्दा ४७ प्रतिशत फेल भएको उल्लेख गर्दै त्यस्तो कार्यमा संलग्नलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।


वातावरण मन्त्रालयमा अहिलेसम्म रिपोर्ट बनाउने, दातालाई पेस गर्ने र विदेश भ्रमण जानेबाहेक धेरै काम नभएको मन्त्री पण्डितको दाबी छ । एउटै कर्मचारी पटक पटक गरी वर्षमा २ सय १० दिनसम्म विदेशमा बस्ने गरेको उदाहरण दिंदै उनले कतिपय कर्मचारीको नियत नै सफा नभएको बताए ।


एकपटक प्रयोग गरेको प्लाष्टिक ५० वर्षसम्म नकुहिने उल्लेख गर्दै प्रहरी लगाएर झोला खोस्दैमा समस्या समाधान नहुने उल्लेख गर्दै अब उद्योगबाटै प्लाष्टिक उत्पादनलाई नियन्त्रण गरिने बताए ।


प्रकाशित : फाल्गुन १६, २०७४ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?