१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लालपुर्जा पाएर पनि ‘सुकुम्बासी’

व्यवसाय दर्ता गर्न, सञ्चालन गर्न, कृषिजन्य व्यावसायिक काम गर्न र सरकारी अनुदान सुविधा लिन वञ्चित
दुर्गालाल केसी

दाङ — लमही नगरपालिका–१ नर्तीका ७० वर्षीय इन्द्रप्रसाद चौधरीले २०४४ मा ७ कट्ठा ६ धुर जग्गा पाए । तर, अहिलेसम्म पुर्जाले मान्यता नपाउँदा उनको अवस्थामा परिवर्तन आउन सकेको छैन । 

लालपुर्जा पाएर पनि ‘सुकुम्बासी’

जिल्लास्थित वनक्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगले धनी पुर्जा वितरण गरेको थियो । जग्गाबापत किसानले तीन किस्तामा सरकारलाई निश्चित रकम बुझाउनुपर्ने सर्त थियो । पहिलो किस्ता बुझाएर किसानलाई धनी पुर्जाको फोटोकपी दिइयो । सक्कली पुर्जा आयोगले नै राख्यो । दोस्रो र तेस्रो किस्ता नबुझाउँदै आयोग विघटन भएपछि बाँकी काम हुन पाएन । त्यसपछि कुनै पनि आयोगले यसबारे काम गर्न चाहेन । पूरै किस्ता बुझ्ने निकाय नहुँदा जग्गाको स्थायी धनी हुनबाट चौधरी वञ्चित भए । ‘हाम्रो नाममा पुर्जा बन्यो । जग्गाको राजस्व तिर्‍यौं तर अहिलेसम्म आधिकारिक जग्गाधनी हुन सकेका छैनौं,’ उनले भने, ‘त्यसपछि बनेका सबै सुकुम्बासी समस्या समाधान आयोगमा पुग्यौं । तर सक्कली पुर्जा पाएनौं ।’


जग्गाले आधिकारिकता नपाएपछि अहिले राजस्व तिर्न पनि नमिलेको नर्तीकै ५६ वर्षीय विष्णुप्रसाद चौधरीले बताए । उनले १ बिघा ३ कट्ठा जग्गाको पुर्जा प्राप्त गरेका छन् । ‘मसँग पुर्जा त छ तर स्थायित्व भएन । यो पुर्जाले केही काम गर्न सकिएको छैन,’ उनले भने, ‘सुरुमा जग्गाको राजस्व पनि तिरेका थियौं । अहिले त राजस्व पनि तिर्न पाइएको छैन । जग्गा आधिकारिक रूपमा हाम्रो होइन भन्ने भएपछि राजस्व तिर्न मिलेको छैन ।’


धेरैपटक भूमिसुधार र मालपोत कार्यालय धाए पनि केही काम हुन नसकेको उनले बताए । ‘अब सुकुम्बासी तथा भूमि व्यवस्थापन आयोगबाट मात्रै काम हुन्छ भनेका छन्,’ चौधरीले भने, ‘आयोगले कहिले काम गर्छ केही थाहा छैन ।’


सरकारले नक्कली पुर्जा दिएर झुक्याएको नर्तीकी ४८ वर्षीया हरमिया चौधरीले बताइन् । ‘सरकारले आफंैले दिएको पुर्जा किन आफैं लागू गर्दैन ? हाम्रो नाममा जग्गाधनी पुर्जा बनिसकेपछि त त्यसलाई लागू गर्नुपर्‍यो नि,’ उनले भनिन्, ‘सरकारले हामीलाई झुक्याउन खोजेको हो ? बनेको पुर्जाअनुसार काम गर्नुपर्‍यो । हामीलाई जुन उद्देश्यले दिएको हो, त्यहीअनुसार काम गर्न दिनुपर्‍यो ।’ हातमा पुर्जा भएर पनि जग्गाको मालिक हुन नपाउँदा साह्रै दुखित भएको ३४ वर्षीया गौरिता चौधरीले बताइन् । ‘हाम्रो हातमा पुर्जा छ तर जग्गाधनी हुन पाएका छैनौं । यो कस्तो विडम्बना हो । सरकारले कस्तो खेलवाड गर्न सकेको हो ?,’ उनले भनिन्, ‘सुकुम्बासीको जीवनमा यसरी खेलाची गर्न पाइन्छ ? हामी पुस्तौंदेखि जग्गा जोतेर पनि जग्गाको मालिक हुन पाएनौं । यो कुरा बुझेर नै सरकारले पुर्जा दियो तर त्यसलाई पूर्ण गराउन सकेन । यो अपूर्ण पुर्जाको के काम भयो ?’


पुर्जाले पूर्णता नपाउँदा भोलि फेरि सुकुम्बासी भइन्छ कि भन्ने चिन्ता बढिरहेको ४५ वर्षीय देउमणि चौधरीले बताए । ‘पुर्जा पाएको ३० वर्षसम्म पनि जग्गाको मालिक हुन नपाएपछि अब फेरि सुकुम्बासी नै बनिन्छ कि भन्ने चिन्ता लाग्छ । कुनै दिन आएर बस्ती नै उठाइदिन्छ कि, अरू कसैले खाइदिन्छ कि भन्ने डर छ,’ उनले भने, ‘सुकुम्बासीबाट जग्गाधनी बनाउने सरकारको योजना नै सफल हुन सकेन । हामीले पुर्जा पाए पनि अझै सुकुम्बासीकै अनुभव गरिरहेका छौं ।’


पुर्जाले मान्यता नपाउँदा कुनै पनि काम गर्न नपाएको ३१ वर्षीय बिन्तिराम चौधरीले बताए । कुनै व्यवसाय दर्ता गर्न, सञ्चालन गर्न, कृषिजन्य व्यावसायिक काम गर्न र सरकारी अनुदान सुविधा लिनबाट वञ्चित भएको उनले बताए । ‘जग्गाधनी पुर्जा नभएपछि कुनै पनि व्यावसायिक काम गर्न पाइएको छैन । हामी सुकुम्बासीबाट माथि उठ्न सकेका छैनौं,’ उनले भने, ‘व्यवसाय गरेर जीवनस्तर राम्रो बनाऔंभन्दा पनि पाइएको छैन । बैंकबाट ऋण लिएर कतै लगानी गरौंभन्दा पनि मिल्दैन । साथमा भएको लालपुर्जाको केही काम भएन ।’


सुकुम्बासीका यस्ता समस्या लिएर पटकपटक सरकारी कार्यालय धाए पनि बेवास्ता हुँदै आएको जिल्ला भूमि अधिकार मञ्चले जनाएको छ । हाल जिल्लामा १२ हजार ८ सय सुकुम्बासी रहेको र अधिकांशको यस्तै खालका समस्या रहेको मञ्चका जिल्ला संयोजक रेमन्त चौधरीले बताए । ‘भूमिहीन, सुकुम्बासीका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको छैन,’ उनले भने, ‘भूमिहीन सधैंभरि उही अवस्थामा छन् । जीवनस्तर फेरिन सकेन । सरकारले आफैंले बाँडेको जग्गाधनी पुर्जालाई पनि मान्यता दिन सकेको छैन ।’


निमित्त भूमि सुधार अधिकारी मानबहादुर कुँवर जग्गाधनी पुर्जा बाँडेर पनि आधिकारिकता नपाएको विषयमा थप अध्ययन र छलफल गरिने बताउँछन् । ‘अहिलेसम्म हामीलाई यस्तो विषयमा कसरी काम गर्ने भन्ने केही निर्देशन छैन । के–के कारणले पुर्जाले आधिकारिकता पाउन सकेको छैन । यसबारे फेरि गहन अध्ययन गरेर समाधानको उपाय खोज्छौं,’ उनले भने, ‘यसबारे छिट्टै विभाग र मन्त्रालयमा जानकारी गराएर आवश्यक पहल हुनेछ । लामो समयदेखि थाँती रहेका सुकुम्बासीका समस्या टुंग्याउन हामी गम्भीर छौं ।’

प्रकाशित : फाल्गुन १८, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?