२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

न्यायालयमा बेइमानी गर्नेलाई महाअभियोग लगाएर ठिक गर्ने समय आयो : दाहाल

कान्तिपुर संवाददाता

नवलपरासी — पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयमा बेइमानी गर्नेलाई महाअभियोग लगाउने समय आएको बताएका छन् ।

न्यायालयमा बेइमानी गर्नेलाई महाअभियोग लगाएर ठिक गर्ने समय आयो : दाहाल

नवलपरासीको बर्दघाटमा बिहीबार आयोजित 'शहीद तथा वेपत्ता परिवार सम्मान' कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'न्यायालयमा बेइमानी गर्ने, गरिबलाई न्याय नदिने जाली फटाहाहरुसँग पैसा लिएर उनीहरुको पक्षमा न्याय दिनेहरुलाई महाअभियोग लगाएर ठिक गर्ने समय आयो अब । भ्रष्टाचार गर्ने कर्मचारीतन्त्रलाई जेल हाल्ने बेला आएको छ । त्यसो नगरे विकास सुशासन सम्भव छैन । भ्रष्टहरुलाई तह लगाउन नसके जनताले हामीलाई नै सजाय दिने कुरा हामीलाई थाहा छ ।'


अहिले नेपाली जनताले स्थायित्व र विकास खोजेको उनले बताए । 'तर यसका लागि सुशासन नभई हुँदैन । न्यायालदेखि कर्मचारी र सुरक्षा संयन्त्रको बेथिति अन्त्य नगरी सम्भव हुँदैन,' उनले भने, 'अहिले न्यायालदेखि, कर्मचारीतन्त्र र सुरक्षा सन्यन्त्रमा पनि बेथिती छ भन्ने सुनिन्छ । दुबै पार्टीको नेतृत्वमा तहमा हामीले भ्रष्ट र बेथिति गर्ने कसैलाई नछोडने अठोट गरेका छौं ।'


नेपाली जनताको सुख, समृद्धि, स्थायित्व र सुशासन चाहने सबैले पार्टी एकता चाहेको र ढिलो चाँडो सबै कम्युनिष्टहरु एउटै ठाउँ आउनुको विकल्प नभएको दाहालको तर्क थियो । 'धेरै घेराबन्दी, चाल र षडयन्त्रलाई असफल पारेर पार्टी एकताको समझदारी बनेको हो,' उनले भने, 'अहिले पनि एकथरिलाई यो सह्य नभएकोले कम्युनिष्टको बहुमत आएको देख्दा गाह्रो भएको छ ।'


वाम सरकारका अगाडि देशको विकास, सुशासन र समृद्दिबाहेक अरु कुनै एजेण्डा नभएको बताउँदै उनले नेपाल अब विश्वमा नै विकास र सुशासनमा पनि सगरमाथा जस्तो उदाहरणीय बन्नुपर्ने बताए ।

प्रकाशित : फाल्गुन १८, २०७४ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?