कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहिले बनिसक्छ ‘लाइफलाइन’ ?

नारायणगढ–मुग्लिन सडक
३ वर्षमा ७७ प्रतिशत काम, चौथो पटक समय थप्ने तयारी
चितवनको पर्यटन व्यवसाय प्रभावित
विमल खतिवडा

काठमाडौँ — राजधानीको ‘लाइफलाइन’ मानिएको नारायणगढ–मुग्लिन सडक खण्ड निर्माण अवधि फेरि थपिने भएको छ । २४ महिनामा सक्नुपर्ने निर्माण कार्य ३ वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन । चौथो पटक निर्माण अवधि केही महिना बढाउन लागिएको हो ।

कहिले बनिसक्छ ‘लाइफलाइन’ ?

सन् २०१५ अप्रिलबाट सडक स्तरोन्नतिको काम सुरु भए पनि अहिलेसम्म ७७ प्रतिशत मात्र सकिएको छ । २० दशमलव ३ किमि कालोपत्रे गरिएको छ । समयमै सडक निर्माण नसकिँदा राजधानी आउजाउ गर्ने यात्रुले जामको सास्ती खेप्नुपर्ने बाध्यता छ । सडकमा पर्ने अप्ठ्यारो पहाड कटिङको काम अझै सकिएको छैन । सबभन्दा जटिल मुग्लिन खण्डमा पर्ने चेपाङ पहाड कटिङको काम डेढ वर्षदेखि जारी छ ।

‘सबभन्दा जटिल यही पहाड छ,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले भने, ‘ठेकेदारले बम ब्लास्टिङ गरेर पहाड भत्काउन माग गरेका छन्, भौगोलिक बनावट अप्ठ्यारो भएकाले समस्या भएको हो ।’ ब्लास्टिङ गर्न दिने/नदिनेबारे सडक विभागले निर्णय दिन बाँकी छ । उनका अनुसार ‘सोह्रकिलो’ भन्ने ठाउँमा ५० मिटर पहाड कटिङको काम बाँकी छ । दैनिक बिहान १० देखि अपराह्न ४ बजेसम्म आवतजावत बन्द गरेर काम गरिए पनि निर्माणले खासै गति लिन सकेको छैन ।

हजारौं यात्रु मात्र होइन, दैनिक उपभोग्य वस्तु यही सडकबाट राजधानी भित्रिने गर्छ । भारतसँग सीमा जोडिएका भैरहवा, वीरगन्जलगायत नाका हुँदै आयात हुने सामान यही सडक हुँदै राजधानी ल्याइन्छ । निर्माण ढिलाइले समयमै उपभोग्य वस्तु भित्र्याउनसमेत कठिनाइ हुँदै आएको छ । त्यति मात्र होइन, वर्षातको समयमा यो खण्ड अझ बढी जोखिमपूर्ण हुने गरेको छ । पहिरो खसेर कुन बेला गुडिरहेको सवारीसाधन पुरिने हो, पत्तो हुँदैन । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य बन्छन् ।

‘२४ महिनामा निर्माणको काम सकिनुपर्ने हो,’ खनालले भने, ‘निर्माणको बाधक भूकम्प, इन्धन अभाव र सवारी चाप भयो ।’ उनका अनुसार निर्माण अवधि थप गर्न दुई साताअघि चौथो पटक विभागमा पत्र पठाइसकिएको छ । यो खण्ड भएर दैनिक ८ हजारभन्दा बढी सवारीसाधन गुडछन् । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना संयोजक एवं सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठका अनुसार म्याद थप्ने प्रक्रिया नियमितजस्तै हो । ‘दैनिक ८ घण्टा काम गर्न समय दिनुपर्ने हो, तर सवारी चापले त्यो सम्भव भएन,’ उनले भने, ‘राम्रोसँग काम गर्न नपाउँदा ढिलाइ भएको हो, असार मसान्तसम्म काम पूरा हुनेछ ।’

उनका अनुसार चौथो पटक सन् २०१८ को मे ३० देखि जुन ७ सम्म समय थप्ने तयारी भएको छ । मुग्लिन खण्डमा भने चट्टाने पहाड बढी भएकाले थपिएको समयमा पनि निर्माण पूरा हुन समस्या देखिन्छ । ‘गाडी पनि चलाउने, सडक पनि बनाउने, त्यही भएर समस्या भएको हो,’ उनले थपे, ‘आवश्यक नपरी समय थपिँदैन ।’ सडक समयमै नबन्दा सबभन्दा ठूलो असर पर्यटन व्यवसायमा परेको छ । चितवनको पर्यटकीय गन्तव्यमा रमाउन जाने आन्तरिक तथा बाह्य पर्यटक घण्टौं जाममा पर्ने गरेका छन् । कहिलेकाहीँ अघिल्लो दिन हिँडेका पर्यटक भोलिपल्ट बिहान मात्रै गन्तव्यमा पुग्ने गरेका छन् । सडकको कारण देखाउँदै पर्यटकले चितवन छाडेर सहज गन्तव्य रोज्ने गरेका छन् ।

‘सडकको अवस्थाले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन सकिएको छैन,’ क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले भने, ‘भूकम्पपछिको मुख्य बाधक यही सडक बनेको छ, निर्माण ढिलाइले पर्यटन व्यवसायमा नराम्रोसँग असर परेको छ ।’ उनका अनुसार पर्यटकहरू सहज रूपमा आउजाउ गर्न चाहन्छन् । यात्रामा सास्ती खेप्नुभन्दा सजिलो गन्तव्य पहिल्याएर अन्यत्रै जान्छन् । कतिपय विदेशी पर्यटकले सौराहालाई गन्तव्य बनाएर आए पनि सडकको अवस्थाले पोखरालाई गन्तव्य बनाएर फर्कने गरेका छन् ।

‘बाटो राम्रो भए पर्यटक ल्याउन प्रचारप्रसार गर्न हुन्थ्यो,’ उनले गुनासो गरे, ‘बाटोको अवस्था नै खराब छ, सडक सहज नबन्दासम्म पर्यटक आगमन बढाउन सकिने अवस्था छैन ।’ बाटोको अवस्थाले १५ देखि २० प्रतिशत पर्यटक घटेको उनले बताए । निर्माण थालिएको आँपटारीदेखि मुग्लिनसम्म ३३ दशमलव २ किमि छ । भूकम्प र नाकाबन्दीका कारण समयमै निर्माण पूरा गर्न नसकिएको गुनासो ठेकेदार कम्पनीको छ ।

निर्माण मिति तेस्रो पटक गत असार २३ मा सन् २०१८ फेब्रुअरीसम्मका लागि थप भएको थियो । तर थपिएको समयभित्र निर्माणको काम पूरा हुन सकेन । आँपटारीदेखि दासढुंगासम्म बीएलए एससीसी जेभी, दासढुंगादेखि सिमलतालसम्म उडहिल लामा जेभी र सिमलतालदेखि मुग्लिनसम्म सुप्रिम रौता जेभीले निर्माण जिम्मा लिएका छन् । आयोजनाका अनुसार बीएलए एससीसी जेभीका लागि ८५ दिन, उडहिल लामा जेभीका लागि ८९ दिन र सुप्रिम रौता जेभीका लागि ९९ दिन अवधि थपिनेछ ।

सबभन्दा बढी समय थप हुनेमा सुप्रिम रौता जेभी पर्छ । यसअघि तीन पटक गरेर ३ सय ८ दिन समय थप गरिएको आयोजनाले जनाएको छ । निर्माणपछि सडक २ लेनको हुनेछ । नारायणगढ–मुग्लिन सडक खण्ड २०३६ सालमा चीन सरकारको सहयोगमा गोरखा–नारायणगढ सडकको नाममा निर्माण गरिएको हो । अहिले विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक आयोजना सञ्चालित छ । यसको अनुमानित लागत २ अर्ब ९० करोड रुपैयाँ हो ।

‘मुलुकलाई समृद्ध बनाउने कुरा भइरहेको समयमा लाइफलाइनका रूपमा रहेको सडक समयमै निर्माण पूरा नहुँदा सबै क्षेत्रमा असर परेको छ,’ उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भनिन्, ‘मुख्य रूपमा पर्यटनमा ठूलो असर पुगेको छ, दैनिक उपभोग्य वस्तु ढुवानीमा पनि समस्या भइरहेको छ ।’ सडकका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेकाले चाँडो निर्माण सक्नुपर्ने उनको धारणा छ ।

सवा घण्टा लाग्ने यो खण्ड पार गर्न यात्रुलाई २ दिनसम्म लाग्ने गरेको छ । धूलो, जामका अलावा वर्षामा पहिरो खसेर सर्वसाधारणको ज्यान जान थालेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत साउनमा सडकको स्थलगत अवलोकन गरी युद्धस्तरमा काम गर्न आयोजना प्रमुख र ठेकेदारलाई निर्देशन दिए पनि पालना भएन ।

प्रकाशित : फाल्गुन २०, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?