कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कान्तिपुर टोली बयान दिन सर्वोच्चमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अदालतको अवहेलना मुद्दामा बयान दिन कान्तिपुर टोली आइतबार बिहान ११ बजे सर्वोच्च अदालतमा उपस्थित भएको छ ।

कान्तिपुर टोली बयान दिन सर्वोच्चमा

बयानका लागि कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा तथा संवाददाता कृष्ण ज्ञवाली सर्वोच्च अदालत उपस्थित भएका छन् । कान्तिपुरप्रति ऐक्यबद्धता जनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार, अधिकारकर्मी, राजनीतिक दलका नेतालगायतको उपस्थिति छ ।


यसअघि शुक्रबार सर्वोच्च अदालतको मुद्दा महाशाखाले समय अभाव भएको भन्दै आइतबार साढे १० बजेको समय तोकेर फिर्ता पठाएको थियो । शुक्रबार कान्तिपुरकर्मीहरु सर्वोच्च पुगे पनि हाजिर गराउने, बयान लिनेलगायतका कुनै पनि काम भएन ।


आफ्नो अयोग्यतासम्बन्धी उठेको प्रश्नलाई ढाकछोप गर्नका लागि प्रधानन्यायाधीश गोपाल पराजुलीले लगाएको अवहेलनाको मुद्दामा बयान दिन कान्तिपुर पब्लिकेसन्सको टोली शुक्रबार दुई बजे सर्वोच्चमा उपस्थित भएको थियो । सर्वोच्चका प्रवक्ता नारायण पन्थीले शुक्रबार आधा दिनमात्रै कार्यालय खुल्ने भएकाले आइतबारमात्रै बयान हुने जानकारी दिएका थिए ।


कान्तिपुरप्रति ऐक्यबद्धता जनाउन राजनीतिक दलका नेता, अधिकारकर्मी, पत्रकारितासँग सम्बन्धित राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधि, विभिन्न सञ्चारमाध्यमका सम्पादकलगायत पनि सर्वोच्च परिसर पुगेका थिए ।


फरक फरक जन्ममिति र नागरिकता भएका पराजुलीको शैक्षिक योग्यतामा समेत गम्भीर प्रश्न उठेपछि त्यसबारे आएको समाचारबाट क्रुद्ध हुँदै प्रेसमाथि नै सेन्सरसिप लगाउने खालको आदेशसहित उनले कान्तिपुरका प्रकाशक, सम्पादक र संवाददातालाई ७२ घण्टाभित्र आफैं उपस्थित भई बयान गर्न आदेश दिएका थिए ।


पराजुलीले प्रवेशिका उत्तीर्ण गरेको प्रमाणपत्र हालसम्म न्यायपरिषद तथा विश्वविद्यालयको अभिलेखमा फेला परेको छैन । त्यसको ठाउँमा उनले २६ सालमा एसएसलसी फेल भएको स्थानान्तरणको पत्र पेश गरेर पढेको र जागिर खाएको खुलेको छ ।


पराजुलीले प्रवेशिका सरहको उत्तीर्ण गरको भनिएको नेपाल विद्यापीठको २०२९ को प्रमाणपत्र उनले कतै पेश गरेका छैनन् जसको मान्यता नयाँ शिक्षा ऐन २०२८ ले दिएको छैन भन्दै डा. गोविन्द केसी र उनको समूहले पाजुलीविरुद्ध अर्को मुद्दा लगाउने तयारी पनि गरिरहेको छ । पराजुलीले एसएलसी पास गरेको सक्कल प्रमाणपत्र देखाउन नसके उनको नाम प्रधानन्यायाधीश र न्यायाधीशकै रुपमा नेपालको अभिलेखबाट हटाइने कानुनी प्रावधान भएको केसीका अधिवक्ताहरुको जिकिर छ ।

प्रकाशित : फाल्गुन २०, २०७४ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?