२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

कान्तिपुरविरुद्ध अवहेलना मुद्दामा बयान

काठमाडौँ — अदालतको अवहेलना सम्बन्धमा कान्तिपुर पब्लिकेसन्सविरुद्ध परेको मुद्दामा आइतबारदेखि बयान सुरु भएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा आज कान्तिपुरका निर्देशक स्वस्तिका सिरोहियाको मात्र बयान लिइएको छ।

कान्तिपुरविरुद्ध अवहेलना मुद्दामा बयान

कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीसँग बयान भने भोलि सोमबार हुने सर्वोच्च अदालतले जनाएको छ ।


आफ्नो अयोग्यतासम्बन्धी प्रश्नहरू उठेपछि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अवहेलना मुद्दामा म्याद पाएको ७२ घण्टाभित्र अदालतमा स्वयं उपस्थित हुन कान्तिपुरलाई र आफूविरुद्धको समाचारमा रोक लगाउन प्रेस काउन्सिललाई आदेश गरेका थिए । त्यस अनुसार कान्तिपुर बयानका लागि शुक्रबार अदालत गएको थियो । तर समयअभाव भन्दै आइतबारलाई बोलाइएको थियो । आदेश जारी भएको ७ दिनपछि गत बुधबार कान्तिपुरविरुद्ध म्याद तामेल भएको थियो ।


प्रधानन्यायाधीशमा न्यायिक विचलन देखिएको भन्दै नागरिक अभियन्ता डा. गोविन्द केसीले २४ पुसमा उनको राजीनामाको माग राखी आमरण अनशन थालेपछि केसीविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाइ गर्दै अदालतले नै प्रधानन्यायाधीशको नागरिकता र प्रमाणपत्र इजलासमा झिकाउन आदेश दिएको थियो । त्यसपछि पराजुलीको नागरिकताका सम्बन्धमा सोधखोज गर्दा उनका ५ थरी जन्ममिति फेला परेका समाचारहरू कान्तिपुरलगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका थिए । कान्तिपुरमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै परेको मुद्दामा पराजुलीले गम्भीर किसिमको फौजदारी अभियोगमा झैं अदालतमा हाजिर हुने ७२ घण्टे पुर्जी जारी गरेका थिए। पराजुलीले आफ्नो मुद्दा आफैंले हेरेर प्रेसमाथि सेन्सरसिप लगाउन प्रेस काउन्सिललाई नै उक्साएको भन्दै राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै आदेशको भर्त्सना हुँदै आएको छ ।


अभिव्यक्ति तथा वाक स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाउँदै आइतबार सर्वोच्चमा नागरिक समाजका अगुवा, विभिन्न पेसाकर्मी, अधिवक्ता, मानव अधिकारवादी, सञ्चारकर्मी तथा विदेशी पर्यवेक्षकहरूसमेत पुगेका थिए । तर, पत्रकारलाईसमेत सर्वोच्च परिसर प्रवेश गर्न कडाइ गरिएको थियो ।


उनीहरूले प्रधानन्यायाधीशको योग्यतासम्बन्धी प्रश्नलाई अदालतकै आदेशबाट वैध बनाइसकेको अवस्थामा त्यसमाथि समाचार प्रकाशन तथा प्रसारण गर्नु प्रेसको दायित्व भएको र त्यो निर्वाह गर्दा अवहेलनाको अपव्याख्या गरेर उल्टै सेन्सरसिप लगाउन खोज्नु न्यायिक स्वेच्छाचारिता भन्दै भर्त्सना गरे ।

कान्तिपुर टोली बयान दिन सर्वोच्चमा

कान्तिपुरविरुद्ध अवहेलना मुद्दा



प्रकाशित : फाल्गुन २०, २०७४ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?