१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

घुस बाँडफाँटमा कुटपिट प्रकरण: दुई कर्मचारी निलम्वनमा 

डीआर पन्त

धनगढी — घुस बाँडफाँटमा कुरा नमिल्दा कुटपिटमा उत्रेका दुई कर्मचारी निलम्वनमा परेका छन् । धनगढीस्थित मालपोत कार्यालयमा कार्यरत पूर्णानन्द भट्ट र ज्ञानेन्द्र ओझालाई आवश्यक छानविनका क्रममा निलम्वन गरिएको निमित्त कार्यालय प्रमुख मनोहर श्रेष्ठले भने । नापी कार्यालयले भने सामान्य स्पष्टीकरण सोधको छ ।

घुस बाँडफाँटमा कुटपिट प्रकरण: दुई कर्मचारी निलम्वनमा 

नापी कार्यालयका प्रमुख दयानन्द जोशीले भने स्पष्टीकरण सोध्ने काम वाहेक अरु गर्न नसकिने बताए । नापी कार्यालयका कर्मचारीले केही दिन यता सेवाग्राहीबाट लिएको रकमको हिसाब किताव गलत दिंदा मालपोत कार्यालयका कर्मचारीबीच भनाभन भएपछि मदिराको नशामा रहेका कर्मचारीबीच कुटाकुट भएको थियो ।


दुबै कार्यालयका कर्मचारीको मिलोमतोमा लामो समयदेखि हाल साविक नापीमा सेवाग्राहीबाट रकम असुल गर्ने रकम नदिए अनावश्यक झमेला गर्ने काम हुंदै आएको छ । हाल साविकका लागि रकम तिर्ने बिभिन्न कार्यालयका कर्मचारी, संचारकर्मी कानुन ब्यवसायी, धनगढीका ब्यवसायीलगायतले लामो समयदेखि संचारमाध्यममा गुनासो गर्दै आएका छन् ।


घुस लिएको रकम वाँडफाँटमा कर्मचारीबीच कुटाकुट भएको घटनालाई कार्यालय भित्र मदिरा सेवन गरेको सामान्य घटनाका रुपमा जनही १ हजार रकम जरिवाना पनि गरिएको छ । घुस प्रकरणमा भने छानविनका लागि जिल्ला प्रशासन कार्यालयले कानुन अधिकृतको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।


‘स्थानीय प्रशासन ऐन अनुसार कार्यालयमा मदिरा सेवन गरेको हुँदा १ हजार जरिवाना गरिएको छ’ कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले भने, ‘अन्य थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयका कानुन अधिकृत लोकमणि पाण्डेको नेतृत्वमा छानविन टोली गठन गरिएको छ ।’


घटनाका बिषयमा आवश्यक छानविन गरि एक हप्तामा प्रतिवेदन आउने गरि टोलीले छानविन गर्ने प्रजिअ रिजालले जानकारी दिए । ‘मालपोत र नापी कार्यालयका कार्यालय प्रमुखलाई आवश्यक स्पष्टीकरण सोधिएको छ’ प्रजिअ रिजालले भने, ‘मदिरा सेवन बाहेकका अन्य बिषयमा सम्वन्धित कार्यालयले बिभागीय कार्वाहीका लागि पहल गर्न सक्छ ।’


आइतवार जिल्ला प्रशासन कार्यालयले मालपोत र नापी कार्यालयका प्रमुखलाई वोलाएर यस बिषयमा जानकारी लिएको थियो । प्रशासनमा हाजिर भएका कार्यालय प्रमुखले कुटाकुट भएको घटनालाई मदिरा सेवन गरेको सामान्य घटना भएको बताएका थिए ।


जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार घाइते भएका कर्मचारी अत्यधिक मदिरा सेवन गरेका कारण आफैं लडेर घाइते भएको कार्यालय प्रमुखले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए । मालपोत कार्यालयका एक कर्मचारीले घटना भइरहंदा जिल्ला प्रहरी कार्यालयमा टेलिफोन गरि कर्मचारीबीच कुटाकुट भइरहेको र एकजना गम्भीर घाइते भएको जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालयले वडा प्रहरी कार्यालयको टोलीलाई खटाई कार्यालय समय भित्रै कुटाकुट गरिरहेका कर्मचारीलाई पक्राउ गरेको थियो ।

प्रकाशित : फाल्गुन २०, २०७४ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?