३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

हुलाकी राजमार्ग सुस्त गतिमा

चालु आवमा सप्तरी, सुनसरी र झापामा काम अघि बढे पनि मोरङमा भने बजेट विनियोजन नै गरिएन 
देवनारायण साह

मोरङ — तराई–मधेसको ‘लाइफ लाइन’ हुलाकी राजमार्ग १२ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । २०६२/६३ को राजनीतिक परिवर्तनलगत्तै निर्माण थालिएको राजमार्गको काम निकै सुस्त छ । 

सप्तरीदेखि झापासम्म सडकको अधिकांश खण्डमा पैदल यात्रा गर्नसमेत कठिन छ । कतिपय स्थानमा कच्ची ट्रयाकको नामोनिसान देखिँदैन । निर्माणाधीन पुल पनि अलपत्र छ । राजविराजबाट भद्रपुरसम्म चारपांग्रे सवारी चल्ने अवस्था छैन ।


सरकारले चालु आवमा सप्तरी, सुनसरी र झापामा काम अघि बढाएको छ । सप्तरीमा पुल निर्माण, झापामा पुलसँगै उत्तर–दक्षिण जोड्ने सहायक सडक कालोपत्रे र सुनसरीमा कालोपत्रे गरिँदै छ । मोरङमा भने यस वर्ष बजेट विनियोजन नै गरिएन । झापा र मोरङको सीमा रतुवा नदीले गत वर्ष मोरङ खण्डमा निकै क्षति पुर्‍याएको थियो । मोरङको सुनवर्षी नगरपालिकामा रेखांकन गरिएको करिब दुई सय मिटर सडक मेटिइसकेको छ । झापा र मोरङमा ४८/४८, सुनसरीमा ३० र सप्तरीमा ३२ किमि सडक पर्छ । झापाको चारआली–केचना ४०, मोरङमा कानेपोखरी–रंगेली २५, सप्तरीमा कल्याणपुर–बर्साइन–सबरनपट्टी १८ र कुसहा–बेल्ही १८ किमि सहायक मार्ग निर्माणाधीन छ । त्यसमध्ये विराटनगरदेखि रंगेलीसम्म मात्र कालोपत्रे भएको छ । कल्याणपुर–सबरनपट्टीमा पनि काम अघि बढेको छ ।


इटहरीस्थित हुलाकी राजमार्ग आयोजनाका प्रमुख शैलेन्द्रमणि त्रिपाठीले चालु आवका लागि ३८ करोड रुपैयाँ निकासा भएको बताए । उक्त बजेटबाट सप्तरीमा दुई करोडमाथिका सानाठूला गरी १२ पुल निर्माणाधीन छन् । पहिलो चरणकै ३३ प्रतिशत काम अलपत्र रहेकाले बाँकी ६६ प्रतिशत कामबारे थप अन्योल छ । रौताहा कन्स्ट्रक्सन गाईघाटले पुल निर्माणको ठेक्का पाएको त्रिपाठीले जानकारी दिए । ‘कल्याणपुर–बर्साइन–सबरनपट्टीमा भने कामले गति लिएको छ,’ उनले भने, ‘सप्तरीमा ३६ किमि कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढेको छ ।’ झापामा मेची नदीसहित १२ वटा पुल निर्माण चरणमा छन् । झापामै चारआली–केचना सहायक मार्गमा कालोपत्रेको काम भइरहेको त्रिपाठीले बताए । सुनसरीको केसलिया–चिमडी–हरिनगरा–लौकहीसम्मको २४ किमि सडक १ अर्ब रुपैयाँ लागतमा शर्मा बिकोई कन्स्ट्रक्सन काठमाडौंले जिम्मा लिएको छ । त्रिपाठीले दुई वर्षसम्ममा सबै सहायक सडक कालोपत्रे गरिसक्ने लक्ष्य रहेको बताए । ‘मोरङको कानेपोखरी–रंगेली सहायक मार्ग पनि कालोपत्रेका लागि ठेक्का भइसकेको छ,’ उनले भने, ‘उक्त खण्डमा ६६ वटा कल्भर्ट बनाई २४ महिनाभित्र काम सक्ने योजना छ ।’


रतुवामाईमा पुल निर्माण भएको १० वर्ष बित्यो तर अझै सञ्चालनमा आएको छैन । तटबन्ध निर्माण नगरिँदा खोलाको बहाव पूर्वतर्फ मोडिएको छ । अहिले पुल एकातिर छ, खोलो अर्कैतिर बग्छ । पुलसँगै तटबन्ध निर्माणको सम्झौता नभएकाले बहाव परिवर्तन रोक्न नसकिएको आयोजनाका कैलाश साहले बताए । अहिले तटबन्धको डिजाइन स्टिमेट गरेर सडक विभागमा पठाइएको उनले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गबाट २० देखि ३० किमि दक्षिणतर्फ समानान्तर रूपमा रहेको सडक नै हुलाकी राजमार्ग हो । राणाकालमा चिठीपत्र ओसारपसार गर्ने मुख्य मार्ग यही थियो ।


पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकाम जोड्ने ३२ वटा सहायक मार्ग (८ सय १७ किमि) पनि हुलाकी सडकसँगै निर्माणाधीन छन् । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले ०४७ सालमा नेपाल भ्रमणका क्रममा उक्त राजमार्ग बनाइदिने बताएका थिए ।

त्यसबारे सैद्धान्तिक सहमति भने ०६१ सालमा भएको थियो । नेपाल र भारत सरकारले १४ सय ४० किमि सडक निर्माणको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । तर, भारतीय ठेकेदार काम अलपत्र छाडेपछि नेपाल सरकार आफैंले निर्माण सुरु गरेको छ । उक्त राजमार्गको लम्बाइ १७ सय ९२ दशमलव ४२ किलोमिटर छ । हालसम्म ६७ दशमलव ८४ किमि मात्र कालोपत्रे भएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७४ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?