कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारको प्रस्तावमा राजपा सकारात्मक 

फोरम सरकारमा गएपनि २ नम्बरको गठबन्धन टुट्दैन

काठमाडौँ — राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आउन गरेको औपचारिक आग्रहलाई सकारात्मक भनेको छ । सोमबार पार्टी कार्यालय बबरमहलमा बसेको उक्त पार्टीको अध्यक्षमण्डलको बैठकले प्रस्तावलाई सकारात्मक रुपमा लिँदै सबै पक्षसँग वार्ता र संवाद थाल्ने निर्णय गरेको हो । 

सरकारको प्रस्तावमा राजपा सकारात्मक 

‘सरकारको प्रस्तावमा छलफल भयो, त्यसलाई हामीले सकारात्मक लिएका छौं,’ बैठकपछि कान्तिपुर अनलाइनसँग कुरा गर्दै अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले भने, ‘हामीले सबै पक्षसँग छलफल र वार्ताहरु जारी राख्ने निर्णय गरेका छौं ।’ उनले आफूहरु सधैं वार्ताको पक्षमा रहेको बताउँदै वार्ताबाटै सकारात्मक परिणाम निस्कनेमा पनि आशावादी रहेको बताए ।


फोरमलाई मात्र सरकारमा ल्याउने वामगठबन्धनको प्रयासबाट असन्तुष्ट भएको भनिएको राजापा अध्यक्षमण्डलका संयोजक महन्त ठाकुरलाई प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा बोलाएर दुई घण्टा छलफल गरेका थिए । सो क्रममा ओलीले राजपालाई पनि सरकारमा सहभागी भएर देशको समृद्धिमा सहयोग पुर्‍याउन आग्रह गरेका थिए ।


ओलीकझ सो आग्रहपछि सरकारमा सहभागिताबारे छलफल गर्न सोमबार राजपाको पार्टी कार्यलयमा बबरमहलमा अध्यक्ष मण्डलको बैठक बसेको थियो । सो बैठकमा संविधान संशोधनको विषयमा समेत छलफल भएको भण्डारीले बताए । बैठकले एमाले—माओवादी गठवन्धन सकारात्मक सरकारमा गएर वा बाहिरबाटै पनि संविधान संशोधनमा सहयोग गर्न सकिने निष्कर्ष समेत निकालेको छ । ‘हाम्रो प्रमुख मुद्धा भनेको संविधान संशोधन हो,’ उनले भने, ‘यदि सरकार त्यो विषयमा सकारात्मक हुन्छ भने छलफल गर्न हामी सधैं तयार छौ ।’


भण्डारीले मधेसका मुद्धालाई समाधान गर्न संविधान संसोधन गरेमा सरकारमा नै नगइ पनि सहयोग गर्न सकिने बताए । ‘सरकारमा सामेल हुनै पर्छ भन्ने होइन, प्रमुख कुरा हाम्रीले उठाएका मुद्धा सम्बोधन हुन्छन् हुदैनन भन्ने हो,’ उनले थपे ।


अध्यक्षमण्डलको बैठकले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा समावेश भएपनि २ नम्बर प्रदेश सरकारमा त्यसले कुनै असर नगर्ने निष्कर्ष समेत निकालेको छ ।

चुनावअघि नै गठवन्धन भएर दुवै दलले पाएको जनादेशको बलमा प्रदेश सरकार गठन भएकाले त्यसले केन्द्रीय सत्ता समीकरणले केही फरक नपर्ने भण्डारीले बताए । ‘सत्तामा कुन पार्टी जान्छ जादैन भन्ने कुरा सामान्य हो,’ उनले भने, ‘हामीले चुनावअघि नै गठबन्धन बनाएर प्रदेश सरकार बनाउन भोट माग्यौं, जनताले दिए, अब जनताको म्याण्डेटबाट बनेको प्रदेश सरकार केन्द्रमा हुने फरक समीकरणले भत्किदैंन ।’


राजापाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले अहिले सरकारमा सहभागी हुनका लागि उसले भविष्यको रणनीतिका विषयमा पनि स्पष्ट हुनुपर्ने बताए । लालले केन्द्रीय सरकारमा हुने सत्ता समीकरणले प्रदेश २ को प्रदेश सरकारमा कुनै असर नपर्ने बताए । यसअघि फोरम ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी भए, राजपा प्रदेश सरकारबाट बाहिरिने र वाम गठबन्धन प्रदेश सरकारमा भित्रिने चर्चा चलेको थियो । वाम गठबन्धनले यसअघि नै प्रदेश २ मा फोरम—राजपा गठबन्धन सरकारलाई समर्थन दिइसकेको छ ।



प्रकाशित : फाल्गुन २१, २०७४ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?