२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

४ महिनादेखि औषधि अभाव

भीमबहादुर सिंह

जाजरकोट — स्थानीय तहले खरिद नगर्दा जिल्ला अस्पतालमा ४ महिनादेखि औषधि अभाव छ । सर्वसाधारणले नि:शुल्क पाउनुपर्ने सिटामोलजस्ता आधारभूत औषधि पनि पाउन सकिएको छैन ।

४ महिनादेखि औषधि अभाव

ज्वरो, पखाला, रुघाखोकी, ग्यास्ट्रिक, लुतो, पेट दुख्नेजस्ता सामान्य बिरामीका लागि चाहिने औषधिसमेत नभएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णजंग शाहले बताए । उपचारका लागि आएका बिरामीलाई औषधि नदिएरै फर्काउनुपरेको उनको भनाइ छ । प्रसूति सेवाका लागि गज, कटन, ग्लोब र आरएलसमेत छैन ।


स्थानीय तहले बजेट नआएको भन्दै औषधि खरिद नगरेपछि समस्या आएको हो । ७० प्रकारका आधारभूत औषधि नि:शुल्क पाउनुपर्ने अस्पतालमा ४ महिनादेखि सिटामोल पनि दिन नसकिएको डा. शाह बताउँछन् । सरकारले नि:शुल्क वितरण गर्ने कुनै पनि औषधि अस्पतालमा उपलब्ध छैन । स्वास्थ्य मन्त्रालय, विभाग र स्थानीय सरकार भेरी नगरपालिकामा औषधि खरिदको माग गरिए पनि बेवास्ता गरिएको उनको गुनासो छ । ‘औषधि अभाव भएको महिनौं बित्दा पनि सम्बन्धित निकाय बेखबरझै भएको छ,’ डा. शाहले भने, ‘दुर्गम गाउँबाट आएका बिरामीहरूलाई चेकजाँचपछि निजी मेडिकलमा औषधि किन्न पठाउनुपर्ने बाध्यता छ ।’


स्थानीय तहको व्यवस्थाअघि जिल्ला स्वास्थ्य कार्यालयबाट अस्पताललाई औषधि उपलब्ध गराइँदै आएको थियो । अस्पताल र स्वास्थ्य अलग कार्यालय भएपछि औषधि उपलब्ध हुन छाडेको हो । अस्पतालमा सिटामोलसमेत नपाएको स्थानीय पम्फा हमालले बताइन् । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा पनि औषधि छैन । अस्पतालमा औषधिमा मात्र होइन, विशेषज्ञ चिकित्सक तथा उपकरण पनि अभाव हुँदा बिरामी उपचारबाट वन्चित भएको हमाल बताउँछिन् ।


५० शय्याको अस्पताल २ मेडिकल अधिकृतका भरमा चलिरहेको छ । विशेषज्ञ चिकित्सक र आधारभूत पूर्वाधार अभावमा सामान्य रोगका बिरामी पनि जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको डा. शाह बताउँछन् । यहाँका जनताप्रति स्वास्थ्य मन्त्रालय गम्भीर नभएको नागरिक समाजका अध्यक्ष केशवजंग शाहले बताए । ‘बिरामीलाई सिटामोल र ब्रोफिनसमेत निजी मेडिकलबाट किन्न लगाउने कस्तो अस्पताल हो ?’ उनले भने । उपचारका लागि गएका सयौं बिरामी निजी मेडिकलमा औषधि किन्न बाध्य भएको उनी बताउँछन् । भेरी नगरपालिकाले बजेट नछुट्याउँदा अस्पतालले औषधि अभावको समस्या झेल्नुपरेको हो ।

प्रकाशित : फाल्गुन २२, २०७४ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?