कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन बिक्री हुँदैनन् पाठ्यपुस्तक ?

गणेश राई

काठमाडौँ — सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक नि:शुल्क उपलब्ध गराउँदै आएको छ । शिक्षा विभागले उपलब्ध गराएको विद्यार्थी भर्ना तथ्यांकका आधारमा हरेक वर्ष जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छाप्दै आएको छ ।

किन बिक्री हुँदैनन् पाठ्यपुस्तक ?

हरेक वर्ष करोडौं रुपैयाँको पाठ्यपुस्तक छपाइ हुन्छ । त्यसरी छापिएका पाठ्यपुस्तकलाई विद्यालयले बालबालिकाको संख्याका आधारमा किनेर विद्यार्थीका हातमा पुर्‍याउने प्रावधान छ । तर, ती पाठ्यपुस्तक बिक्री हुन नसक्दा जनक शिक्षाको क्षेत्रीय गोदाममा थन्किने गरेका छन् ।


जनक शिक्षाले गत वर्ष कक्षा ६ देखि १० सम्मका पाठ्युपस्तक २ करोड थान छापेको थियो । उसको धनगढी, नेपालगन्ज, पोखरा, भरतपुर, जनकपुर र विराटनगरमा क्षेत्रीय कार्यालय तथा गोदाम छन् । तिनै कार्यालयबाट पाठ्यपुस्तकका एजेन्टले सम्बन्धित जिल्लामा ढुवानी गर्छन् । जनक शिक्षाका प्रशासकीय तथा प्रेस प्रमुख कृष्ण कटुवाल गत वर्ष मात्र ३२ लाख थान पाठ्यपुस्तक बिक्री नभएको बताउँछन् जसको लागत १५ करोड रुपैयाँ पर्न आउँछ । पाठ्यपुस्तक ढुवानी गर्ने एजेन्ट र विद्यालयका शिक्षकले ‘जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तकको सेट एकैसाथ उपलब्ध नगराउँदा बिक्रीवितरण हुन नसकेको’ भन्दै आएका छन् । नयाँ पुस्तकको सेट प्राप्त नहुँदा विद्यालयहरूले पुरानै पाठ्यपुस्तक पढाउने गरेको दाबी गर्दै आएका छन् ।


जनक शिक्षाले दुर्गम जिल्लामा पाठ्यपुस्तक ढुवानी गर्न एजेन्टलाई पुस्तक मूल्यको झन्डै ३८ प्रतिशत कमिसन दिने गरेको छ । जबकि सुगम ठाउँमा त्यही कमिसन अति न्यून मात्र दिइन्छ । ‘कतिपय एजेन्टले दुर्गमको पुस्तक ढुवानी गर्ने जिम्मा लिएर तराईतिरै बेचेर नाफा कमाउँछन्,’ नेपालगन्जका एक पुस्तक व्यवसायीले भने, ‘माथि पहाडतिर बाध्यताले पुर्‍याउनैपर्ने भएकाले शिक्षक र एजेन्टबीच साँठगाँठ गरेर कमिसन बाँड्ने गर्छन् । त्यसैले सेट नपाएको निहुँ झिक्छन् ।’ एजेन्ट र शिक्षकले बिल भर्पाइ मिलाउने गरेको उनको कथन छ । त्यसनिम्ति कतिपय विद्यालयले भर्ना हुने विद्यार्थी संख्या बढी देखाउनेसमेत गरेका छन् ।


जनक शिक्षाले एकैचोटि एउटै विषयको पाठ्यपुस्तक ठूलो मात्रामा छाप्ने र त्यसलाई एकसाथ सबैतिर ढुवानी गर्ने गरेको प्रेस प्रमुख कटुवाल उल्लेख गर्छन् । ‘एकसाथ सबैतिर पाठ्यपुस्तकको सेट नपुग्नु स्वाभाविक हो,’ कतिपय अवस्थामा पुस्तक छपाइमा एकनास नहुने र ढुवानीमा कमजोरी हुने गरेको स्विकार्दै उनी भन्छन्, ‘तर नयाँ पाइएन भनेर पुरानै पुस्तक पढायौं भन्नुचाहिँ बहाना हो । जसरी हुन्छ, सेटमै नयाँ पाठ्यपुस्तक विद्यार्थीका हातमा पुर्‍याउने काम विद्यालयका प्रधानाध्यापक र शिक्षकको हो ।’


यसरी नि:शुल्क उपलब्ध गराइने पाठ्यपुस्तकको मूल्य कक्षा ५ सम्म पूरै विषय (सेट) को एकमुष्ट १ हजार ४ सय ६३ पर्छ । त्यसैगरी कक्षा ६ देखि १० को पाठ्यपुस्तकका निम्ति २ हजार ३ सय ७९ रुपैयाँ दिइन्छ । उक्त रकम विद्यालयको खातामा रुजु हुने र त्यही रकमबाट पुस्तक खरिद गरी प्रत्येक विद्यार्थीलाई उपलब्ध गराइन्छ । विद्यालयले यो वर्षदेखि नगरपालिका/गाउँपालिकाबाट प्राप्त बजेटबाट पुस्तक खरिद गरेर विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने हुन्छ । यसतर्फ स्थानीय तहका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र अभिभावक चनाखो हुनुपर्ने उनको कथन छ ।


८० प्रतिशत छापिसक्यौं : जनक शिक्षा

जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०७५ का लागि कक्षा ६ देखि १० का पाठ्यपुस्तक ८० प्रतिशत छापिसकेको दाबी गरेको छ । शिक्षा विभाग शैक्षिक व्यवस्थापन महाशाखाका निर्देशक केशवप्रसाद दाहालले यसपटक १ करोड ९२ लाख थान पुस्तक छाप्न जनक शिक्षालाई निर्देश गरेको जनाए । जनकले भने गत वर्ष छापिएका पाठ्यपुस्तकसमेत बाँकी रहेकाले १ करोड ८३ लाख थान छाप्ने जनाएको छ । ‘बिक्री नहुने भएकाले यति मात्र छाप्नेछौं,’ प्रेस प्रमुख कृष्ण कटुवालले अहिले दैनिक एक लाख थान पुस्तक छापिरहेको जनाउँदै भने, ‘असी प्रतिशत छपाइ पूरा भएको छ । चैत मसान्तभित्र सबै छापिसक्छौं ।’ अब करिब ३२ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी छ । विभागका निर्देशक दाहालले चैत मसान्तभित्र सबै पाठ्यपुस्तक छापिने र वैशाख १५ गतेभित्र सेटमै पुर्‍याइने उनले जनाए । फागुनबाट शैक्षिक सत्र सुरु भएका जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, मनाङ, मुस्ताङमा पाठ्यपुस्तक जिल्ला सदरमुकाम पुगिसकेको समेत उनले जनाए ।


कक्षा ५ का सबै पुस्तक रंगीन

यो वर्षबाट कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक सबै रंगीन हुनेछन् । उक्त तहको पाठ्यपुस्तक १ करोड ६५ लाख थान छापिनेछ । ‘यो पटकबाट कक्षा ५ सम्मका विद्यार्थीले सबै पुस्तक रंगीन पाउनेछन्,’ विभागका निर्देशक दाहालले भने, ‘यस पटक सबै कक्षाको पाठ्यपुस्तक सेटमै पुर्‍याउन भनेका छौं ।’ निजी क्षेत्रले फागुन तेस्रो सातासम्ममा ७० लाख थान छापिएको रिपोर्ट पाएको उनले बताए ।

प्रकाशित : फाल्गुन २२, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?