४५ लाख नगदसहित भारतीय पक्राउ
मोरङ — प्रहरीले एक भारतीय नागरिकलाई ४५ लाख नगदसहित मंगलबार विराटनगर १५ बाट पक्राउ गरेको छ । भारतको अररिया जिल्लाको फारबिसगञ्ज-१ का ४५ वर्षीया नारायण साहलाई पक्राउ गरेको हो ।
भारतको जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको बिआर११एए ६२६५ नम्बरको कारलाई चेक गर्दा सिटमुनी लुकाएर राखेको अवस्थामा उक्त रकम बरामद भएको इलाका प्रहरी रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए । कारको चालक छेउको सिटमुनीबाट एक हजारको दरको ३४ सय ५ सय दरको २१ सय र १ सय दरको ५ सय नोट बरामद भएको उनले बताए । उनले बरामद भएको नगद, कार र साहलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले उक्त रकम भारतबाट के, कसरी आएको हो भन्नेबारे अनुसन्धानपछि खुल्ने बताए । भारतीय बजारमा नेपाली ग्राहकबाट जम्मा भएको उक्त रकम हुण्डी कारोबारीहरुले ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।
नेपाली ग्राहकले सीमावर्ती भारतीय बजारमा किनमेल गर्दा बुझाएको रकम भारतीय व्यापारीहरुले अबैध रुपमा नेपालतर्फ ल्याउने गरेको प्रहरी स्रोतले बताए । नेपालतर्फ ल्याएको रकम बराबरको यसअघि सुन वा हुण्डीमार्फत भारतमा नै भारतीय रुपैयाँ व्यापारीले लिँदै आएको प्रहरी स्रोतको भनाई छ । भारतबाट नेपाली रुपैयाँ यहाँ ल्याउने र यहाँबाट सुन वा हुण्डीमार्फत भारतमा नै पैसा भुक्तानी दिने व्यबस्थापन हुण्डी कारोबारीहरुले मिलाउँदै आएको उनी बताउँछन् ।
प्रहरी उपरीक्षक बिसीले मुद्रा बिनिमय ऐन वा, सम्पति शुद्धीकरण वा राजश्व अनुसन्धान अन्तर्गत कुन मुद्दा चल्ने हो त्यही अनुसार मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाउने बताए ।
प्रकाशित : फाल्गुन २२, २०७४ १४:५६