कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

साँघुरा पुलले दिनहुँ जाम

मुख्य सडकका १ सय पुलमा बढी समस्या
विमल खतिवडा

काठमाडौँ — राजमार्गका मुख्य सडकका साँघुरा पुलले दुर्घटनाको जोखिम बढेको छ । पुलकै कारण दैनिक सडक जाम हुने गरेको छ । सडक फराकिलो बनाइए पनि पुल पुरानै अवस्थामा राखिँदा समस्या निम्तिएको हो । 

अहिले सबभन्दा बढी समस्या स्तरोन्नतिका क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन खण्डमा देखिएको छ । यो सडकमा १८ वटा पुल छन् । तिनमा पनि बढी समस्या मुग्लिनबाट डेढ किलोमिटरमा रहेको तीन नम्बर पुलमा देखिएको छ । यो पुलको रेलिङ भाँचिएका कारण समस्या भएको हो ।


यो खण्डमा दैनिक करिब ८ हजार सवारीसाधन गुड्छन् । पुराना र साँघुरा पुलका कारण दिनहुँ जाम हुन्छ । यात्रुलाई सास्ती छ । ‘पुलले गर्दा मुग्लिन खण्डमा बढी जाम हुने गरेको पाइएको छ,’ सडक विभाग पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले भने, ‘१८ पुलमध्ये ४ वटाको ठेक्का लागिसकेको छ । नयाँ बनेपछि राहत मिल्नेछ ।’ पुलको अवस्थाले दुर्घटनाको जोखिमसमेत बढाएको उनले बताए ।


साँघुरो पुलका कारण सवारीसाधनले रेलिङ भाँच्ने गरेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए । ‘रेलिङ भाँचिँदा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यसले बढी जाम गराउँछ ।’ उनका अनुसार तीन नम्बर पुलको रेलिङ ४ पटक गरेर ८० मिटर भाँचिइसकेको छ । अस्थायी रूपमा जीर्ण रेलिङ बनाउँदै पुल सञ्चालन गरिएको छ । रेलिङ भाँचिएका कारण सवारीसाधन खोलामा खस्ने समस्यासमेत बढेको छ । सडक फराकिलो भएकाले तीव्र गतिमा आउने सवारीसाधन पुलमा आएर रोकिन्छन् । लामबद्ध भई पुल वारपार गर्दा जाम हुने गर्छ ।


‘सडक ११ मिटरको छ, पुललाई जबर्जस्ती ६ मिटर बनाएर सञ्चालन गर्नुपर्ने बाध्यता छ,’ खनालका अनुसार ०३६ सालमा निर्माण भएका पुल अझै सञ्चालनमा छन् । जबर्जस्ती मर्मत गर्दै पुल सञ्चालन गर्नुपर्ने बाध्यता छ । मुग्लिन खण्डमा मात्र होइन, देशभरका करिब १ सय पुलमा यो समस्या दैनिकजसो देखा पर्ने गरेको छ । पुलकै कारण यात्रुले समस्या झेल्ने गरेका छन् । उपमहानिर्देशक थापाले सडक फराकिला भए पनि पुल साँघुरा भएका कारण देशैभर थुप्रै सडकमा समस्या भएको बताए ।


बाराको पथलैया–ढल्केबर सडक ९ मिटरको छ, पुल भने ५ मिटरको । यो खण्डमा पर्ने ५५ वटा पुलमा उस्तै समस्या छ । भैरहवा–लुम्बिनी सडक ४ लेनको बनिरहेको छ । तर पुल भने एक लेनका छन् । ‘यो खण्डमा पुलकै कारण व्यस्त समयमा दैनिक जाम हुने गरेको छ,’ थापाले भने, ‘त्यही भएर पुल थप्ने र पुराना पुलको ठाउँमा नयाँ बनाउने प्रक्रिया सुरु भएको छ ।’ अहिले जहां समस्या छ, त्यहाँ सडकसँगै पुल निर्माण गर्ने गरी डिजाइनको काम थालिएको उनले जानकारी दिए । मुख्य सहर जोड्ने पुलमा बढी समस्या हुने गरेको छ । जहाँ सवारी चाप बढी हुन्छ । उपमहानिर्देशक थापाले नौबिसे–पोखरा खण्डको १ सय ७४ किलोमिटर खण्डमा सडकसंगै पुल बनाउने भनेर डिजाइनको काम भइरहेको बताए । अहिले साँघुरो पुलले गर्दा सवारीसाधन ठोक्किने र पुलमै जाम हुने गरेको छ ।


थापाका अनुसार बुटवल–नारायणगढ खण्डको सडक र पुल बनाउने गरी दोस्रोपटक टेन्डर आहवान गर्ने तयारी भइरहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको सडक चार लेनको हुने छ । ‘उक्त खण्डमा पर्ने नवलपरासीको दाउन्नेमा भने चार लेनको मात्र सडक बन्नेछ,’ उनले भने,‘ १५ किलोमिटर क्षेत्रमा पहिरोको जोखिम भएकाले तीन लेनको मात्र बन्ने छ ।’ उनले मुग्लिनले सतर्क हुन सिकाएकाले फेरि दोस्रो गल्ती गर्न नहुने बताए ।


अधिकांश पुल ४० वर्ष पुराना छन् । विभागका अनुसार मुख्य तथा सहायक मार्गमा २ सय ७५ नयाँ पुल थपिँदै छन् । स्थानीय सडकमा भने ९ सय २६ पुल निर्माण हुनेक्रममा छन् । अहिले राजमार्गमा करिब १ हजार ७ सय ९० र स्थानीय सडकमा ४ सय १० पुल छन् ।

प्रकाशित : फाल्गुन २३, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?