१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पृथ्वी राजमार्गमा दुर्घटना बढेको बढ्यै

धादिङ खण्डमा ६ महिनामा ७५ को मृत्यु, १ सय ९ गम्भीर र १ सय २५ जना सामान्य घाइते 
हरिहरसिंह राठौर

धादिङ — धादिङस्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटनामा ६ महिनामा ७५ जनाको मृत्यु भएको छ । तीमध्ये अधिकांश दुर्घटना राति १ देखि बिहान ५ बजेको बीचमा भएको पाइएको छ । 

पृथ्वी राजमार्गमा दुर्घटना बढेको बढ्यै

गजुरीस्थित जिल्ला ट्राफिक कार्यालयका अनुसार गत साउनदेखि पुस मसान्तसम्म ७४ वटा सवारी दुर्घटना भए । तिनमा ७५ जनाले ज्यान गुमाएका छन् । १ सय ९ जना गम्भीर घाइते र १ सय २५ जना सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिकका प्रहरी निरीक्षक कृष्णराज सापकोटाका अनुसार अधिकांश दुर्घटना बिहानी निद्रा, चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन र छाडा चौपायाका कारण भएका छन् । ‘यसबाहेक तनाव, उत्तेजना, सडकको दुरवस्था र पुराना सवारीसाधनको प्रयोगले पनि दुर्घटना बढेको देखिन्छ,’ उनले भने ।

पृथ्वी राजमार्गको धादिङ खण्ड भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन गुड्छन् । साँघुरो र जीर्ण सडक, एक–अर्कालाई उछिन्ने होडबाजी र तीव्र गतिले पनि दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । फागुन पहिलो साता पृथ्वी राजमार्गको सलाङघाटमा जिप दुर्घटना हुँदा सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको ज्यान गएको थियो । गत वर्ष असोजमा पनि मुग्लिन नजिकै त्रिशूली नदीमा जिप खस्दा पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरेको ज्यान गएको थियो ।

पृथ्वी राजमार्गको मुग्लिनदेखि महेशदोभानसम्मको क्षेत्रमा त्रिशूली नदी पर्छ । सडकको डिलमुनि रहेको नदीमा सवारी खस्दा त्यहाँबाट जीवित फर्कन मुस्किल पर्छ । दुर्घटना भइसकेपछि सरकारी अधिकारी दुर्घटनास्थल पुगे पनि समस्याको दीर्घकालीन समाधान नखोजिँदा एउटा घटना बिर्सन नपाउँदै अर्को घटना दोहोरिने गरेको छ । गत कात्तिक ११ गते घाटबेंसीमा ३४ जनाको ज्यान जाने गरी रात्रिबस दुर्घटना भयो । गृहमन्त्रालयले छानबिन समिति गठन गर्‍यो । तर न छानबिन समितिले बुझाएको प्रतिवेदन अध्ययन गरिन्छ, न त दुर्घटनाको कारण नै खोजिन्छ । छानबिन समितिको प्रतिवेदन पनि खोज्दा भेटिन मुस्किल हुन्छ । लामो यात्रा र घुम्ती धेरै भएको साँघुरो राजमार्ग भएकाले पनि दुर्घटना बढेका हुन् । लामो दूरीमा दुईजना चालक राख्नुपर्नेमा एउटै चालकले गाडी हाँक्ने र सडक विभागको टालटुले कामले पनि दुर्घटना बढेको यात्रुको गुनासो छ ।

२०२४ मा देशभरि २ हजार सवारी भएका बेला सोही आधारमा टेकेर निर्माण गरिएको सडकमा हजारौं सवारीसाधन थपिँदा पनि सडकको गुणस्तर उस्तै छ । १० टन क्षमताका लागि बनाइएको राजमार्गमा ४० टनभन्दा बढी भारका मालवाहक गाडी गुडाउने गरिन्छ । दुर्घटनाबाट जोगाउन सडक किनारमा राख्नुपर्ने सुरक्षाका उपाय अवलम्बन नगरिएको यात्रुको भनाइ छ । नेपाल अटोमोबाइल्स स्पोर्ट एसोसिएसन (नासा) का अध्यक्ष गोविन्द भट्टराई राजमार्गको धादिङ खण्डमा दुर्घटना बढी हुने गरेको र यात्रा सुरक्षित बनाउन सडकको स्तरोन्नति गर्नुपर्ने र दुर्घटना हुँदा तत्काल उद्धार गर्न संयन्त्र तयार हुनुपर्ने बताउँछन् । प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी दुर्घटना कम गर्न र सुरक्षित यात्राका लागि व्यापक सुधार आवश्यक रहेको बताउँछन् । ‘सबैको इच्छाशक्ति हुने हो भने दुर्घटनामा कमी आउन सक्छ,’ उनले भने, ‘सबैले सक्रियता देखाए यात्रुको छिटो उद्धार गर्न सकिन्छ ।’

राजमार्ग क्षेत्रमा सुविधायुक्त अस्पतालको पनि कमी छ । प्राथमिक स्वास्थ्य केन्द्रमा थोरै औषधि हुुने र औषधि तथा अन्य स्वास्थ्य सामग्री जोगाएर नराख्दा राजमार्ग क्षेत्रका अस्पताल तथा स्वास्थ्यचौकीहरूले प्रभावकारी उपचार गर्न नसकेको गजुरी गाउँपालिका प्रमुख राजेन्द्रविक्रम बस्नेतले बताए ।

प्रकाशित : फाल्गुन २४, २०७४ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?