कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

महिलाले बनाए विभेदविरुद्धको योजना

अन्तर्राष्ट्रिय नारी दिवस
वसन्तप्रताप सिंह

बझाङ — थलारा गाउँपालिकालाई पाँच वर्षभित्र विभिन्न प्रकारका विभेदबाट मुक्त गर्न महिलाले योजना बनाएका छन् । गाउँपालिकाका निर्वाचित सबै महिला जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षिका, विभिन्न उपभोक्ता समिति तथा संघसंस्थाका महिला पदाधिकारी र योजना निर्माणमा दखल अगुवा महिला मिलेर योजना बनाएका हुन् । 

महिलाले बनाए विभेदविरुद्धको योजना

गाउँपालिकाभित्रका विभिन्न क्षेत्रका ४५ जना महिलाले ३ दिन लगाएर ५ वर्षका लागि योजना तयार गरेका हुन् । महिलामाथि घरभित्र हुने हिंसा र विभेद, कृषि क्षेत्रमा महिलाको सम्मानपूर्वक सहभागिता, नेतृत्वमा महिलाको क्षमता विकास तथा सामाजिक कुरीतिको अन्त्य गर्नका लागि गाउँपालिकाले कार्यान्वयन गर्ने गरी योजना बनाइएको कार्यपालिका सदस्य रेखा खड्काले बताइन् । यस्तै महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र सार्वजनिक सेवासुविधामा उनीहरूको पहुँच वृद्धि गर्नका लागि पनि विभिन्न योजना तय गरिएको खड्काको भनाइ छ । लामो समयदेखि लैंगिक विकासका लागि भनेर लक्षित वर्गको बजेट खर्च हुने गरेको भए पनि लक्षित वर्गले कुनै लाभ पाउन नसकेको र विभिन्न खाले विभेद यथावत् नै रहेकाले आफ्ना लागि आफैं योजना निर्माण गरेको महिला सदस्य हर्कुदेवी सायरले बताइन् ।


‘छाउपडी प्रथा कायमै छ । महिला हिंसामा कुनै कमी आएको छैन,’ सायरले भनिन् । महिला आफैंले योजना निर्माणमा सहभागी नभएका कारण ठूलो मात्रामा रकम खर्च भएको भए पनि विभेद घट्न नसकेकाले नयाँ ढंगले योजना तर्जुमा गरिएको उनले बताइन् । लक्षित वर्गको नाममा आएको रकम विद्यालय र बाटोघाटो निर्माणमा खर्च गर्दा महिलाको अवस्थामा सुधार नआएको उनको दाबी थियो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विकास विज्ञ राजु तिरुवालाई स्रोत व्यक्तिका रूपमा आमन्त्रण गरेर ५ वर्षभित्र सबै खालका विभेदको अन्त्य र महिलालाई आत्मनिर्भर हुने खालका कार्यक्रम लागू गर्नका लागि योजना निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष गंगुदेवी खडायतले बताइन् । उनले भनिन्, ‘अब महिलाको बजेट वितरण गर्ने क्रममा पहिलाको जस्तो विवाद हुने छैन ।


गाउँपालिका अध्यक्ष भूवनेश्वर उपाध्यायले महिलाको समूहले सामाजिक अवस्था विश्लेषण गर्दै निकै ठूलो मिहिनेतका साथ योजना तजुर्मा गरेको बताउँदै महिला विभेद अन्त्य र सशक्तीकरणका लागि योजनाको पूर्ण कार्यान्वयन गर्न गाउँपालिका तयार रहेको बताए ।


योजनामा छाउपडी प्रथा अन्त्य गर्नका लागि अभियान सञ्चालन गर्ने, विभेद र हिंसा मुक्त घर, टोल र गाउँ घोषणा गर्ने, प्रत्येक टोलमा हिंसा र विभेदविरुद्ध काम गर्ने अभियन्ता तयार गर्ने जस्ता कार्यक्रम राखिएको अध्यक्ष उपाध्यायले बताए । यस्तै महिला लक्षित सीप तथा क्षमता विकास, आयआर्जन कार्यक्रम सञ्चालन गर्ने, लोकसेवा तयारी कक्षा स्थानीय तहमा सञ्चालन गर्ने, उच्च शिक्षा अध्ययनको वातावरण मिलाउनेलगायतका थुप्रै कार्यक्रम तर्जुमा गरिएको उनले बताए ।


‘नारी–पुरुष प्रतिपक्षी होइनन्’

धादिङ– भूकम्पपीडितका लागि नमुना बस्तीका अभियन्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नारी र पुरुष एक–अर्काका लागि सहयोगी भएको बताएका छन् । सामाजिक एकताको मुख्य जग नै दम्पतीको एकता भएकाले नारीले पुरुषलाई प्रमुख प्रतिपक्षी नमान्न उनीहरूको आग्रह थियो ।


दम्पतीको आपसी दिगो एकताले परिवारमा शान्ति छाए समाज र देश पनि अवश्य नमुना बन्ने उनीहरूको भनाइ थियो । १०८ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर धादिङ महोत्सवमा आफ्नो कार्यक्रम प्रस्तुति गर्न बिहीबार यहाँ आएको हास्य कलाकारको यो जोडीले महोत्सवमा अधिकांश महिला देखेपछि आफ्नो हास्यव्यंग्य प्रस्तुतिलाई महिला र पुरुषका आर्थिक र राजनीतिक अधिकारतिर मोडेका थिए । धुर्मुस जोडीले पारिवारिक कलहले परिवार मात्रै होइन अन्तत: समाजलाई नै बिगार्ने बताए ।

प्रकाशित : फाल्गुन २५, २०७४ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?